के कारणले मर्दैछन् चितवन राष्ट्रिय निकुञ्जका गैँडा ?

सफल खबर संवाददाता

मंगलबार, २० असोज २०७७, १७ : ०६
के कारणले मर्दैछन् चितवन राष्ट्रिय निकुञ्जका गैँडा ?

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा अस्वाभाविक रुपमा गैँडा मर्ने क्रम बढिरहेको छ । चालु आर्थिक वर्षमा साउनयता ८१ दिनमा चितवन निकुञ्जका ७ वटा गैँडा मरिसकेका छन् । केही वर्ष यतादेखि नै गैँडा मर्ने क्रम अस्वाभाविक वृद्धि भएपछि संरक्षणविद र सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गरेका छन् । 

हालसम्म गैँडाको मृत्युको कारणको गतिलो अध्ययन हुन सकेको छैन । गैँडाको मृत्युलाई प्राकृतिक कारणमात्र भनिएको छ, तर गैँडाको अस्वाभाविक मृत्युले थप अध्ययन हुन जरुरी देखिन्छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामले प्राकृतिक कारणले गैँडाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार साउनयता मरेका गैँडा कुनैको बाढीले बगाएर त कुनैको उमेरका कारणले मृत्यु भएको छ । 

पछिल्लो पाँच वर्षको तथ्यांकलाई हेर्ने हो भने गैँडाको मृत्युदर तेब्बर वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७०/०७१ मा १३ वटा गैँडा मरेकोमा ०७५/०७६ मा आइपुग्दा ४९ पुगे । गत आर्थिक वर्षमा २६ गैँडा मरेका थिए । यसरी गैँडाको मृत्युदर ह्वात्तै बढ्दा गैँडा संरक्षण अभियानमा कहाँ गल्ती, कमजोरी वा लापरवाही भयो भनेर खोतल्नु पर्ने बेला आएको छ । गैँडाका लागि उचित वासस्थान र आहारको कमीले मृत्यदर बढेको हुनसक्ने भन्दै पछिल्ला समय निकुञ्जले घाँसे क्षेत्रको विकास गरिरहेको छ । तर पनि गैँडाको मृत्युदर घटेको छैन । 

वन्यजन्तुविज्ञ डा. झमक कार्कीका अनुसार पोथीका कारणले भालेभाले जुधेर, उमेर पुगेर, बाढीमा परेर, खानेकुराको लागि जुधेर, विभिन्न रोग लागेर गैँडा मरिरहेका छन् । डा. कार्की भन्छन्, ‘चितवन निकुञ्जमा गैँडा प्राकृतिक कारणले नै मरेका हुन्, तर गैँडाको मृत्युको संख्या यसरी बढ्नु चिन्ताको विषय हो । यसको थप कारण खोज्न आवश्यक छ ।’ उनका अनुसार एउटा गैँडाका लागि कम्तीमा पनि एक वर्ग किलोमिटर भूभाग, प्रशस्त पानी र घाँसको आवश्यकता पर्छ । नेपालमा यस अनुरुपको पूर्वाधार भएनभएको हालसम्म अध्ययन भएको छैन । 

बासस्थानको अभाव, घाँस र पानीको कमीलगायतको विषयमा अध्ययनपछि मात्र यसको अभाव भएनभएको विषयमा भन्न सकिने विज्ञ कार्कीको भनाइ छ । 

घाँसेमैदान व्यवस्थापन र घोल वासस्थानमा ध्यान दिए गैँडालाई धेरै हदसम्म जोगाउन सकिने उनको धारणा छ । चितवन निकुञ्जले यस वर्ष बाढीले बगाएर पनि गैँडाको मृत्यु भएको जनाएको छ । निकुञ्जका अनुसार यहाँको गैँडा बाढीले बगाएर भारतीय भूमिमा पुगेर मरिरहेका छन् । 

सरकारी निकायले प्राकृतिक कारणबाट गैँडाको मृत्यु भएको बताइरहँदा सरोकारवालाहरु भने कुनै रोग लागेर पनि गैँडाको मृत्यु भएको हुन सक्ने आशंका गर्छन् । चितवन निकुञ्जका सूचना अधिकारी अशोक रामले गैँडाको मृत्यु कुनै रोगले नभई प्राकृतिक कारणले नै भएको बताउँछन् । पछिल्ला वर्षमा भन्दा यस वर्ष गैंडाको मृत्युदर बढ्नुमा प्रकृतिक कारणबाहेक अन्य केही करण हुन सक्ने भएकाले नमुना संकलन गरेर विस्तृत परीक्षण गर्नु पर्ने विज्ञ बताउँछन् । 

नदी किनार वा ताल क्षेत्रमा संरक्षणकर्मीहरुले कहिलेकाहीँ गैँडाको शव वा कङ्काल फेला पार्छन् । त्यस्तो अवस्थामा गैँडा के कारणले मरेको हो भन्ने थाहा नहुने र मृत्युको कारण अज्ञात मान्ने गरिएको छ । विश्वको तापमान बढिरहेको र त्यसको असर जनावरमा पनि परेको हुनसक्ने अनुमान गरिएको छ । बुढो भई कालगतिले मर्ने गैंडाको संख्या कम गर्न नसकिने भएपनि वयस्क, शिशु र प्रजनन उमेरमा हुने मृत्यु भने कम गर्न सकिने डा. कार्की बताउँछन् ।

साढे दुई महिनामा मरे सात गैंडा 

चालु आर्थिक वर्ष २०७७/७८ को साढे दुई महिनामा चितवन राष्ट्रिय निकुञ्जमा सात वटा गैँडा मरेका छन् । ६ वटा गैँडा प्राकृतिक कारणले मरेको भए पनि एउटा गैँडा भने चोरशिकारीका कारण मरेको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार साउनमा एउटा, भदौमा दुई वटा र असोजमा चार वटा गैँडा मरेका हुन् । भदौमा मरेका दुई गैँडामध्ये एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको रामले जानकारी दिए । 

दुर्लभ जनावर एकसिङ्गे गैँडाको मुख्य बासस्थानको रुपमा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ । सन् २०१५ मा गरिएको गैँडा गणनाअनुसार देशभर ६ सय ४५ वटा गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ५ वटा गैँडा भेटिएका थिए । निकुञ्जले दिएको तथ्याङ्कअनुसार आव २०७४/७५ मा २६ गैँडा मरेका छन् । आव २०७५/७६ मा ४३, २०७६/७७ मा २६ गैँडा मरेका थिए । चालु आवमा सात वटा गैँडा मरिसकेका छन् । 

वन्यजन्तु संरक्षणकर्मी बाबुराम लामिछानेले चितवन निकुञ्जमा गैँडा मृत्युको कारण फरकफरक रहेको बताए । उनले भने, ‘एउटै कारणले गैँडा मरेको छैन, फरकफरक छ ।’ उनका अनुसार गैँडामा महामारी रोग छैन, एउटै कारणले गैँडा मरेको पनि होइन । अहिलेको मृत्यु एउटा गैँडाबाहेक सबै प्राकृतिक मृत्यु नै हो ।’