ओली–प्रचण्डकै सामुन्ने किन बाझे विष्णु पौडेल र शंकर पोखरेल ?

सफल खबर संवाददाता

सोमबार, १९ असोज २०७७, ०८ : ३८
ओली–प्रचण्डकै सामुन्ने किन बाझे विष्णु पौडेल र शंकर पोखरेल ?

काठमाडौं । प्रदेश ५ को राजधानीको विषयलाई लिएर सत्तारुढ दल नेकपाभित्र दुई नेताको जुँगाको लडाई चलेको छ । दाङको देउखुरी उपत्यका की वुटवल ? प्रदेश ५ को राजधानी भन्ने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा हिजो दिनभर झण्डै सवा दुई घण्टा नेकपाका अध्यक्षद्दय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका अगाडी नै बाँझाबाँझ गर्ने दुई नेता हुन् , प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेकपा महासचिव विष्णु पौडेल ।

पौडेलको गृहजिल्ला रुपन्देही हो । वुटवलमा रहेको अहिलेको अस्थायी राजधानी उनकै निर्वाचन क्षेत्रमा पर्छ । उता मुख्यमन्त्री पोखरेलको गृहजिल्ला दाङ । तर अहिले प्रदेश सभामा पेश गरिएको राजधानीको प्रस्ताव गरिएको देउखुरी क्षेत्र भने उनको निर्वाचन क्षेत्रमा भने पर्दैन । दुवै नेता प्रधानमन्त्री ओलीका राइट ह्यान्ड । अर्थात एकातिर पोखरेल, अर्काेतिर पौडेल नै हुन् प्रधानमन्त्री ओलीको निकट नेता । दुवै नेताले प्रतिष्ठाको विषय बनाएको प्रदेश ५ को राजधानीका विषयमा दुई अध्यक्षले समेत सहमति दिएपछि पोखरेलले क्याबिनेट बैठक राखेर प्रदेश सभामा दाङको भालुवाङ क्षेत्रमा रहेको देउखुरी उपत्यकालाई प्रदेश राजधानी र लुम्बिनी प्रदेश नाम राख्ने गरी प्रस्ताव पेश गर्यो । 

यो प्रस्तावमा आजैबाट ५ नम्बर प्रदेशको प्रदेश सभामा बहस हुदैछ । दुई तिहाई मतले प्रदेश सभाको नाम र राजधानी तय हुन सक्ने सम्वैधानिक ब्यवस्था छ । प्रदेश सभामा नेकपा एक्लैको सभामुख सहित ६१ सिट छ । ८७ सदस्यीय प्रदेश सभामा ५८ सिट भए दुई तिहाई मत पुग्छ । नेकपाले पार्टी ह्वीप लगाएमा सजिल्यै देउखुरी लैजाने सरकारको प्रस्ताव प्रदेश सभाले पारित गर्नेछ । नेकपाको सचिवालयमा महासचिव विष्णु पौडेल बाहेक अन्य ८ नेता दाङको पक्षमा उभिएका छन् । यही मेसोमा महासचिव पौडेल एक्लो छन्, सचिवालयमा बुटवल भन्ने पक्षमा ।

ओलीले आफ्नो सत्ता संकट टार्न भूमिका खेलेको अबसरमा पोखरेलको चाहना बमोजिम देउखुरी उपत्यका क्षेत्रलाई राजधानी बनाउने सहमति दिए । प्रचण्ड त यस अगाडी नै दाङमा प्रदेश राजधानी हुनुपर्ने पक्षमा थिए । पोखरेलको माग बमोजिम देउखुरीलाई प्रदेश राजधानी र पौडेललाई भने संघीय संसदमा अर्थमन्त्री बनाउने गरी प्रधानमन्त्रीले योजना बनाएका छन् । तर पौडेलले असन्तुष्टि जनाएपछि हिजो दुवै अध्यक्षले नेताहरुलाईसँगै राखेर छलफल गरेका हुन् । महासचिव पौडेल असहमतिमा आएपछि पोखरेल हान्निएर काठमाडौं आएका थिए । उनले आइतबार बिहानै महासचिव पौडेल र कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका जर्नादन शर्मालाई बोकेर अध्यक्ष दाहाल निवास पुगेका थिए ।

तीन नेता बिहानै आफनो निवास आईपुगेपछि प्रचण्डले उनीहरुका कुरा सुने । पोखरेल देउखुरी राजधानी हुनुपर्ने र पौडेल बुटवल नै कायम गर्नुपर्ने पक्षमा अडिग देखिए । शर्मा भने बीचमा दुवैलाई मिलाउने प्रयासमा थिए । तीनै नेतालाई सँगै राखेर अर्का अध्यक्ष तथा प्रधानमन्त्रीसँग पनि छलफल गर्ने अध्यक्ष प्रचण्डले बताए । त्यसपछि कोरोनाका कारण बालुवाटार हटस्पट बनेका कारण भेटघाट बन्द गरेर बसेका प्रधानमन्त्री ओलीलाई भेटने कार्यक्रम बन्यो ।

दिउँसो १२ बजे प्रचण्ड सहित पौडेल, पोखरेल र शर्मा बालुवाटार पुगे । प्रधानमन्त्री ओलीसँग उनीहरुले झण्डै दिउँसो सवा २ बजेसम्म भेटघाट गरे । ओली र प्रचण्डकै सामुन्ने त्यसपछि पौडेल र पोखरेल बाँझाबाँझ गरेका हुन् । पौडेलले राजधानी देउखुरी लैजाने प्रस्ताव फिर्ता नलिए त्यसले पार्टीलाई ठूलो दुर्घटनामा लैजाने र लुम्बिनी क्षेत्रमा पार्टीलाई चुनावमा समेत घाटा हुने दलिल पेश गरे ।

पोखरेलले भने दुई अध्यक्षकै सहमतिमा देउखुरी लगेको र सबैका लागि उपयुक्त स्थानमा लगिएकोले सहज मानेर जानुको विकल्प नभएको बताएका थिए । त्यसपछि ओली र प्रचण्डकै सामुन्ने दुई नेताले पाखुरा नै सुर्काएका थिए । आ–आफनो राजनीतिक भविश्यलाई लिएर बालुवाटारमा दुई अध्यक्षकै बीचमा भनाभन गर्न थालेपछि मध्यस्थकर्ता बन्न भने जर्नादन शर्मा तम्सिएका बालुवाटार श्रोतले बतायो । दुई अध्यक्षले पौडेललाई सम्झाउन कोसिस गरेपनि उनले नमानेपछि बालुवाटार छलफल विना निश्र्कष नै टुगिंएको थियो ।

पोखरेलले भने अध्यक्षद्दयको सहमतिमा प्रदेश सरकारले अगाडी बढाएको प्रस्ताव पारित हुने भन्दै बालुवाटार छोडेर हिडेका थिए । हिजै साँझ उनी भैरहवा हुदै बुटवल फर्किसकेका छन् । पोखरेल काठमाडौबाट बुटवल फर्किने क्रममा बाटामा उनी चढेको गाडीमाथी ढुंगा समेत प्रहार भएको छ । बुटवलमा स्थानिय प्रशासनले निषेधाज्ञा लगाएको छ । तर पोखरेलमाथी भएको ढुंगा प्रहार र आज देखि शुरु हुने छलफलका कारण पनि सुरक्षा ब्यवस्था कडा पारिएको छ । महासचिव पौडेल माथी भने धोका दिएको भन्दै स्थानियहरु आक्रोशित बन्न थालेका छन् ।
 

प्रतिक्रिया दिनुहोस