प्रधानमन्त्री ओलीले फेरि किन पोखे सञ्चारमाध्यमप्रति असन्तुष्टि ?

सफल खबर संवाददाता

विहीबार, १५ असोज २०७७, ०८ : ४३
प्रधानमन्त्री ओलीले फेरि किन पोखे सञ्चारमाध्यमप्रति असन्तुष्टि ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई लागेको छ, सरकारको नेतृत्वमा बसेर आफुले सबै कुरामा गज्जबै गरेको छु । उनी सडकमा कोही भोकभोकै बस्नु पर्दैन भन्छन, तर कोभिडको कहरमा समेत जनताप्रति उनको नेतृत्वको सरकारको कुनै दीर्घकालिन योजना ल्याउने सकेको छैन् । जनता कसरी कोभिडसँग सामना गरिरहेका छन् ? यसले जनताको जीवनस्तरमा कुन हदसम्मको असर पारेको छ ? भन्नेमा दुई तिहाई बहुमतको नेतृत्व गरेर बसिरहेको ओलीलाई खास चासो-चिन्ता देखिदैन् । 

विगत ६ महिनामा कोभिड कहरमा सरकारले चालेको गतिविधिलाई नियाल्ने हो भने पनि उदेकलाग्दो नतिजा मात्र देखिन्छ । लकडाउन गर्ने, निषेधाज्ञा गर्ने मात्र काम सरकारले गरेको छ । तर त्यसको पूर्वतयारीमा भने सरकार चुकेको छ । यही सरकारको कामजोरीलाई देखाईदिने सञ्चारमाध्यम प्रधानमन्त्री ओलीको आँखाको कसिंगर बन्ने गरेका छन् । सञ्चारमाध्यममा अगुवाहरुको सामुहिक भेटघाट प्रधानमन्त्री ओलीसँग भयो भने उनले आफ्ना असन्तुष्टि सञ्चारमाध्यमका अगुवाहरुसँग पोखिहाल्छन् ।

लकडाउनले गरिखाने वर्गका मानिसहरु हप्तौं लगाएर काठमाडौंवाट पैदल हिडेरै घर जादा सञ्चारमाध्यममा आएका दर्दनाक कथामा प्रधानमन्त्रीले सरकारले नदेख्ने मिडियाले मात्र देख्ने यो के रहेछ ? भन्दै समाचार बनावटी भएको देख्थे । अहिले पनि उनी सरकारका कमजोरी लुकाउन सञ्चारमाध्यमप्रति नै आक्रोश पोख्न थालेका छन् । आफुलाई ठूला मिडिया भएको बताउने मिडिया मालिकहरुको भर्खरै जन्मिएको सँस्था मिडिया एलायन्सका प्रतिनिधीसँग बुधबार प्रधानमन्त्रीले एक घण्टा बढी गफिएका थिए । ओली आफैंले मात्र झण्डै एक घण्टा मिडिया मालिकहरुका प्रतिनिधीलाई आफ्ना कुरा सुनाएका थिए । 

त्यही क्रममा उनले मिडियाप्रतिको असन्तुष्टि पोख्न भ्याईहाले । सरकारले गरेका राम्रा काम नदेख्ने तर खाली विरोध मात्र गर्ने सञ्चारमाध्यमको प्रवृति रहेको भन्दै ओलीले आलोचनामा आफ्नो समय खर्चे । आफू ५५ वर्ष स्वतन्त्रता, गणतन्त्र, प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको पक्षमा, जनता र राष्ट्रको स्वाधिनताका लागि लडेको भन्दै ओलीले त्यही मानिसलाई मिडिया विरोधी बनाउन खोजिएको भन्दै आक्रोश पनि पोख्न भ्याएका थिए । आफ्नो जीवन खुल्ला कागज जस्तै भएको ओलीको तर्क थियो । उनले मिडिया मालिकहरुलाई आफनो जेलजीवन देखि भूमिगत जीवन सम्मका विषयमा पनि प्रवचन दिएर पठाएका थिए ।

‘एउटा चर्चा चलाउन खोजिएको छ कि अहिलेको सरकार मिडियासँग चर्चा गर्दैंन, दुस्मनी गर्छ । त्यो तपाईंहरूले देख्नुभएको छ । संविधान दिवसका दिन सञ्चारमाध्यममा कत्तिको चर्चा गरिएको थियो ? संविधान दिवस सरकारको विषय मात्रै हो ?’ ओलीको भनाई थियो । एकातिर टुँडिखेलमा ओलीले संविधान दिवसमा दिएको सम्बोधन र अर्काेतिर नजिकैको खुल्लामञ्चमा कोभिडले श्रमजीविलाई पारेको असरका कारण भोको पेटमा रहेकाहरुले खान गरिरहेको संर्घषलाई चित्रकथा बनाएकोमा ओलीलाई चित्त बुझेको थिएन् । त्यही आक्रोश उनले मालिकहरुसँग पोखे ।

उनले सञ्चार क्षेत्रलाई केही सुझाव दिन खोज्यो भने आफूविरुद्ध लाग्ने गरेको आरोप पनि लगाए । ‘यो सञ्चार जगत यस्तो हो अरु जसलाई जे भने पनि छुट पाइन्छ । सञ्चारमाध्यमलाई अलिकति चिसिक्क भयो भने, खपिसक्नु हुँदैन । एकदम सेन्सेटिभ नि ! यसो छोयो भनेदेखि बुरुक्क उफ्रिहाल्ने । करेन्ट लागेजस्तो,’ प्रधानमन्त्रीले भने, ‘अलि अगाडि मसँग सञ्चारकर्मीहरू, सम्पादकहरूले भेट्नुभयो । तर, उहाँहरूले मलाई हामीलाई यसो किन भन्नुभयो ? भनेर भन्नुभयो । मैले भने तपाईंहरूले दिनरात गाली गर्दा हुन्छ ।

मैले अलिकति भने भने तपाईंहरू दिनरात गाली गर्ने । मैले किन यसो ग¥यौ भन्दा सहनुपर्छ भनेर सिकाउने । अनि मैले अलिकति भन्दा सहन नसक्ने के हो यो ? आफूले भनेको भन्यै गर्ने, यसो नगर्नुस् न भन्दा सहन सिक्नुपर्छ भन्ने ? मैले अलिकति सुझाव दिएँ भने सहन्नँ भनिहाल्ने ? निगाह एकातिर र निशाना अर्कैतिर’ जस्तो देखियो सञ्चारगृहको ताल ।’
 

प्रतिक्रिया दिनुहोस