पेट्रोलमा तारपिन तेल मिसाउने चालक पक्राउ

रासस

बुधबार, १४ असोज २०७७, १० : ०१
पेट्रोलमा तारपिन तेल मिसाउने चालक पक्राउ

काठमाडौँ । प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौँ आएको ना ४ ख ३०८५ नंको ट्याङ्करमा तारपिन तेल मिसाउने चालक सचिन सुवेदीलाई मङ्गलबार साँझ आयल निगमको थानकोट डिपोबाट पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले नक्कली ट्याङ्कीको चाबी प्रयोग गरी चेम्बरको लक खोलेर तारपिन तेल मिसाएको सूचनाका आधारमा सुवेदीलाई पक्राउ गरिएको छ ।

नेपाल आयल निगम थानकोट शाखाका प्रमुख प्रदीप यादवले पेट्रोलमा ६०० लिटरभन्दा बढी तारपिन तेल मिसाएर ल्याएकाले कारवाही गरेको बताए । दुई साताको अवधिमा आयल निगमले पेट्रोल तथा डिजेलमा मिसावट गर्ने तथा चोरी गर्ने छ चालकलाई पक्राउ गरी कारवाही गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस