सभापति देउवाविरुद्ध काँग्रेसका २७ जना केन्द्रीय सदस्यले पार्टीमा बुझाए विरोधपत्र (पूर्णपाठसहित)

एक हप्ताभित्र माग सम्बोधन नभए वैधानिक संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी

सफल खबर संवाददाता

सोमबार, १२ असोज २०७७, १६ : ०५
सभापति देउवाविरुद्ध काँग्रेसका २७ जना केन्द्रीय सदस्यले पार्टीमा बुझाए विरोधपत्र (पूर्णपाठसहित)

काठमाडौं । आउँदो १४औँ महाधिवेशनलाई प्रभावित पार्ने गरी भएका नियुक्ति, महाधिवेशनको तयारी, क्रियाशील सदस्यता लगायतका विषयप्रति असहमति जनाउँदै काँग्रेसका २७ जना केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवाविरुद्ध पार्टीमा विरोधपत्र बुझाएका छन् ।

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलमहामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहितका २७ केन्द्रीय सदस्यले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर विरोधपत्र दर्ता गराएका हुन् । विरोधपत्रमा पार्टी विधानसम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ र निष्पक्ष ढंगले गर्न माग गरिएको छ । 

“यदि सभापतिज्यूले आगामी असोज १९ गते राखिएको केन्द्रीय कार्यसमितिको बैठकसम्ममा विधानसम्मत् उठाइएका उपरोक्त विषयहरुको न्यायपूर्ण र विधिसम्मत समाधान गर्नेतर्फ गम्भीरता र तदारुकता देखाउनु भएन भने वैधानिक संघर्षका विरोध कार्यक्रम गर्न बाध्य हुनेछौं,” पदाधिकारी र केन्द्रीय सदस्य गरी २७ जनाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।    

“नेपाली कांग्रेस पार्टी विधानको पालना गर्नु प्रत्येक सदस्यको कर्तव्य हुनेछ भन्‍ने विषय विधानको धारा ९१० मा भएको व्यवस्था हो । उक्त व्यवस्था बमोजिम नेपाली कांगेसका लाखौं सदस्यमध्ये पहिलो जिम्मेवार व्यक्ति नै केन्द्रीय सभापति हो । पार्टी विधानको पालना एवं संरक्षण गर्नु पार्टी सभापतिको प्रमुख जिम्मेवारी हो । यसमा कहीँ कतै सम्झौता हुन सक्दैन,” पत्रमा उल्लेख छ ।

‘नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ । विधानतः चार बर्षको कार्यकालभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था छ । तर चार वर्षको कार्यकाल भित्र महाधिवेशनको कुनै तयारी भएन । हामीले समयावधि भित्रै महाधिवेशनको लागि निरन्तर आवाज उठायौं, तर सभापतिज्यूले यसबारे कुरै सुन्न चाहनु भएन’, पत्रमा भनिएको छ, ‘त्यसैले ती प्रयास निरर्थक भए । जब चार वर्षको वैधानिक कार्यकाल सकियो, अनि कुनै त्यस्तो ‘असाधारण परिस्थिति’ को आधार नहुँदा नहुँदै कार्यकाल एक वर्ष बढाईयो । त्यसपछि मात्र महाधिवेशनको प्रक्रिया, त्यो पनि अत्यन्त सुस्त गतिमा प्रारम्भ गरिएको छ, तर समयमै निष्पक्ष ढंगबाट महाधिवेशन नगर्ने प्रपञ्च अझै जारी देखिन्छ ।’

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईंको हस्ताक्षर बुझाइएको हो ।

यस्तो छ विरोधपत्र :

प्रतिक्रिया दिनुहोस