नेपाली काँग्रेसको महाधिवशेन सर्ने निश्चित

महाधिवशेन सार्ने विषयमा छलफल गर्न असोज १७ मा देउवाले बोलाए केन्द्रीय समिति बैठक

सफल खबर संवाददाता

मंगलबार, ०६ असोज २०७७, ०९ : ३१
नेपाली काँग्रेसको महाधिवशेन सर्ने निश्चित

काठमाडौं । प्रतिपक्ष काँग्रेसले पार्टीको महाधिवेशन आगामी फागुन ७ देखि १० सम्म काठमाडौंमा आयोजना गर्ने मिति तय गरेको छ । निर्धारित मिति भन्दा झण्डै एक वर्ष पछि यो महाधिवशेन हुने गरी मिति तय भएको हो । यद्यपी, यो समयमा महाधिवशेन हुनै सक्दैन, भन्नेमा करिब काँग्रेसका सबैजसो नेताहरु सहमत देखिन्छन् ।

तर, निर्धारित मितिमा अब महाधिवेशन सम्भव छैन् भन्ने कुन पक्षले पहिले घोषणा गर्ने र त्यसैमा टेकेर कार्यकर्ताको मनोभावनासँग खेलेर आफुले राजनीति गर्ने भन्ने दाउपेचमा मात्र नेताहरु देखिन्छन् । अबको नेतृत्वका लागि सभापति शेरबहादुर देउवा आफै अग्रमोर्चामा देखिएका छन् । उनको टिमबाट विमलेन्द्र निधीले पनि दाबी भने गरिरहेका छन् । अर्काे खेमाबाट भने सभापतिकै आधादर्जन उम्मेदवार देखिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले जिकिर गरिरहेका छन् ।

उनीसँगै महामन्त्री डा शशांक कोइराला, नेताहरु शेखर कोइराला, प्रकाशमान सिंह सम्मले पनि दाबी गरेका छन् । डा. रामशरण महत र अर्जुननरसिंह केसीले पनि आफुहरुको पनि दाबी रहेको बताएका छन् । तर यो खेमाबाट मुख्यत रामचन्द्र, डा. शसांक र डा. शेखरमध्ये एक जना सभापतिका उम्मेदबार बन्ने अनुमान काँग्रेसवृतमा छ । तर सोच जसरी महाधिवेशन पूर्वका तयारी अगाडी नबढेपछि काँग्रेसमा महाधिवेशन निर्धारित समयमा हुनेमा नेताहरु विस्वस्त हुन नसकेका हुन् । अब के गर्ने ? दोषको भागीदार आफु बन्ने बाटाबाट बच्न नेताहरुले अर्काे पक्षलाई आरोपित गर्ने मेलोमेसोको खोजीमा छन् ।

त्यही क्रममा सभापति देउवाले भने विकसित घटनाक्रम र पार्टी महाधिवेशनका विषयमा छलफल गर्न भन्दै पार्टी केन्द्रीय समितिको बैठक बोलाएका छन् । आगामी १७ असोजमा पार्टी बैठक देउवाले बोलाएका हुन् । यही बैठकले महाधिवेशनका बारेमा निर्णय लिने नेताहरुको भनाई छ । क्रियाशिल सदस्यतामा देखिएको विवाद, महाधिवेशन प्रतिनिधी चयनमा धाँधली हुने सम्मको भय पालेर वरिष्ठ नेता पौडेलले भने यो बीचमा पूरानै महाधिवशेन प्रतिनिधीका आधारमा विशेष महाधिवेशन गरेर जानुपर्ने नयाँ फन्डा अगाडी सारेका छन् ।

पौडेलको यस्तो प्रस्ताव देउवा पक्षले मान्ने नमान्ने खुलिसकेको छैन् । तर उनको त्यो प्रस्ताव मान्ने पक्षमा देउवा पक्ष नरहेको बुझिन्छ । पौडेलले भने पार्टीलाई बचाउन पनि विशेष महाधिवेशन बोलाउनु पर्ने मत सामाजिक सन्जालमार्फत नै अगाडी सारेका छन् । ‘अबको बाँकी पाँच महिनालाई सदुपयोग गरी समयमै महाधिवेशन सम्पन्न गरौं भन्ने हो । त्यो पनि नगरेर अधिवेशन टार्ने, नगर्ने नियत रहने हो भने पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भने पनि पार्टी बचाउन सकिन्छ भन्ने मेरो भनाई हो,’ पौडेलले लेखेका छन् ।

काँग्रेसलाई अबको फागुनमा पनि पार्टी महाधिवशेन गर्न नसके पार्टीको विधानका आधारमा होइन, सम्वैधानिक ब्यवस्थाका आधारमा ६ महिना सम्म समय लिन पाउनेछ । त्यसपछि पनि गर्न नसके पार्टीमा सम्वैधानिक संकट आउनेछ । यो चेपुवामा पनि काँग्रेस रहेका बेला पौडेलले विशेष महाधिवेशनको प्रस्ताव अगाडी सारेका हुन् । तर पौडेलको यो प्रस्ताव देउवाले सहज मान्ने देखिदैनन् ।

देउवा पक्षले भने पौडेलपक्षमा रहेका नेताहरु सहमतिमा आउने हो भने फागुनमै पनि महाधिवशेन गर्न सम्भव हुने तर्क गरिरहेका छन् । ‘कोभिडका कारण सम्भव नभएपनि थप २, ३ महिना पछि सर्न सक्छ, तर महाधिवशेन नै गर्न संकट आउने अवस्था अहिले छैन, हुन्छ,’– देउवा पक्षका नेता डा. प्रकाशरण महत बताउँछन् ।

आफनो च्याखे दाउ र कार्यकर्ताका बीचमा चोखो देखिने रणनीतिमा देउवा र पौडेल दुवै पक्ष लागेकोले अबको १० दिन पछि बोलाईएको केन्द्रीय समिति बैठकले काँग्रेसको महाधिवेशन सार्ने गरि निर्णय लिने सम्भावना बढेर गएको नेताहरुकै भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस