कुलमान घिसिङको पुनर्नियुक्ति कानुनअनुसार गर्न मिल्दैन : मन्त्री ज्ञवाली

सफल खबर संवाददाता

शुक्रबार, ०२ असोज २०७७, १५ : ३३
कुलमान घिसिङको पुनर्नियुक्ति कानुनअनुसार गर्न मिल्दैन : मन्त्री ज्ञवाली

बुटवल । नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री  प्रदीपकुमार ज्ञवालीले कुलमान घिसिङको पुनर्नियुक्ति कानुनअनुसार गर्न नमिल्ने बताएका छन् ।

हालै घिसिङले नेपाल विद्युत प्राधिकरणमा चार वर्षको कार्यकाल सकाएर बसेका छन् । घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै सडक आन्दोलनसमेत भएको छ । 

शुक्रबार बुटवलमा प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा  मन्त्री ज्ञवालीले विद्युत प्राधिकरणका सन्दर्भमा आएका र रचिएका कथाहरूमा रमाउनु आवश्यक नभएको बताए। मुलुकको हित र कार्यक्षमताका अधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने उनको भनाइ छ। ‘कुलमानजी प्रति सरकार सकारात्मक र सन्तुष्ट छ तर पुनर्नियुक्ति गर्न कानुनले दिंदैन’ उनले भने।

कुलमान घिसिङलाई नै नियुक्ति गर्नै परेमा पनि नयाँ कानुनअनुसार गरिने तर यसबारे सरकारले छलफल गरिरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस