कृषिमन्त्री भुषालसँग प्रधानमन्त्री ओलीको क्याबिनेट बैठकमै ‘ठाकठुक’ !

सफल खबर संवाददाता

शुक्रबार, ०२ असोज २०७७, ०९ : ००
कृषिमन्त्री भुषालसँग प्रधानमन्त्री ओलीको क्याबिनेट बैठकमै ‘ठाकठुक’ !

काठमाडौं । किसानहरुलाई समयमै मल दिन नसकेको भनी सरकारको चौतर्फी आलोचना भईरहेका बेला मन्त्रीपरिषद् (क्याबिनेट) बैठकमै यस विषयमा प्रधानमन्त्री केपी ओली र कृषिमन्त्री घनश्याम भुषालका बीचमा ठाकठुक परेको छ । यो घटना हो,– हिजो बसेको मन्त्रिपरिषद् बैठकको । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको क्याबिनेट बैठकमा हिजो यस सम्बन्धी कुनै औपचारिक प्रस्ताव थिएन् ।

संविधान दिवसका दिन वितरण गरिने मानपदवी, अलंकार र पदकका बारेमा निर्णय लिन क्याबिनेट बैठक बसिएको थियो । गृह मन्त्रालयले तयार पारेर लगेको उक्त प्रस्तावमा सरसर्ती निर्णय भएपछि ओलीले कृषिमन्त्रीसँग प्रश्न सोधे,–‘ किसानका हातमा मल कहिले पुग्छ ?’ मल ल्याउने ठेक्का पाएका दुई ठेकेदार कम्पनीलाई कारवाही गरेको भनी मन्त्री भुषालले भनिरहेपनि ठेकेदारलाई कारवाही मात्र समस्याको समाधान नभएको र किसानले मल नै खोजेको भन्दै ओलीको मन्त्री भुषालप्रति मल कहिले आउने जिज्ञासा राखेका थिए । 

धान बालीमा किसानहरुले मल हाल्न नपाएपछि प्रर्याप्त उब्जनी नहुने चिन्तामा रहेका किसानहरुले सरकारको कार्यशैलीसँग असन्तुष्टि जनाउन थालेपछि ओली मन्त्रीसँग कड्किएका हुन् । क्याबिनेट बैठकमा सहभागी एक मन्त्रीले सफलखबरलाई दिएको जानकारी अनुसार, ओलीले मलबारे मन्त्रालयले के गरिरहेको छ ? मल किन समयमै किसानले पाउन सकेनन् ? अब कहिले सम्म आईपुग्छ ? कसले ल्याउँछ ? जस्ता प्रश्न कृषिमन्त्री भुषालमाथी गरेका थिए ।

‘कहिले आइपुग्छ, कृषिमन्त्री ज्यू मल ? किसानले मल कहिले बालीमा हाल्न पाउने हो ?’– प्रधानमन्त्रीले सोधेका थिए । 
 
‘दुई महिना अझै लाग्ने देखिदैछ,’– मन्त्री भुषालले बैठकमा प्रधानमन्त्रीलाई जवाफ दिए । 
 
‘भनेपछि धान बाली भित्राएपछि मात्रै मल हाल्ने जनताले ?’– ओलीले भने । ‘धानमा त्यस्तै भयो, अब गहुँमा हाल्ने मल यो पाली’– भुषालले जवाफ दिएको एक मन्त्रीले बताए । त्यसपछि त प्रधानमन्त्री ओली र भुषालका बीचमा ठाकठकु परिहाल्यो । मलको ठेक्का लिएका कम्पनीहरुले समयमा मल नदिएपछि प्रधानमन्त्री ओली आफैले बंगलादेशका प्रधानमन्त्री सँग पनि टेलिफोन सम्वाद गरेका थिए । सापटीमा मल मागेका थिए ।

बंगलादेशबाट मल दिने आश्वासन दिएपनि त्यो मल ल्याउने विषयमा पनि समय लाग्ने देखेपछि ओली क्याबिनेट बैठकमा मन्त्री भुषालसँग कड्किएका हुन् । ‘ठ्याक्कै किसानको हातमा मल पुग्छ चाही कहिले ? प्रधानमन्त्री ओलीले मन्त्री भूषालसँग दोहोराएर पनि सोध्नुभएको थियो, मन्त्री ज्यूले अब मल यसपालिको धान बालीका लागि आइनपुग्ने भन्दै गँहु बालीका लागि मात्र आउने भयो भन्ने जवाफ छोटोमा दिनुभएको थियो, ’– सहभागी ति मन्त्रीले भने । 

प्रतिक्रिया दिनुहोस