जनकपुर । रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग खरिद गरेको रेलको दुई सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ । एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने रेलवे विभागले जनाएको छ ।
नेपाल रेलवे विभागका अधिकारीहरूका अनुसार विहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन जयनगर जनकपुरका लागि हिँडिसकेको छ । रेलका दुवै सेट बुझ्न रेलवे कम्पनी र विभागका उच्च अधिकारीहरू पनि काठमाडौंबाट जनकपुरका लागि बिहीबार नै हिँडिसकेको रेलवे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । ‘रेलको दुवै सेट शुक्रबार जनकपुर आइपुग्ने सम्भावना छ,’ उनले भने, ‘जनकपुरका लागि रेल हिँडिसकेको छ । भारतभित्र छ । शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्छ ।’
नेपालका लागि दुई सेट रेल खरिद गर्न रेल विभागले भारतको सरकारी रेलवे कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडसँग गत वर्षको वैशाख २६ मा खरिद सम्झौता गरेको थियो । ‘शुक्रबार रेलको सेट बुझ्ने मात्र हो । कुनै औपचारिक कार्यक्रम राखिएको छैन,’ विभागका महानिर्देशक मिश्रले भने, ‘भारतबाट कोंकण रेलवेजको टिम पनि रेलसँगै आउँदै छन् । रेलको कोच (बोगी) बनाउने इन्टेरियल कोच फ्याक्ट्रीका प्राविधिक टिमले नै रेल गुडाएर ल्याउँदै छन् ।’
ट्रायलका लागि शुक्रबार जनकपुर आएर फर्किने रेल कहिलेदेखि नियमित सञ्चालन गर्ने भन्ने मिति पनि टुंगो गर्न बाँकी नै छ । नेपाल रेलवेका अधिकारीहरूका अनुसार सबै चाँजोपाँजो मिलेमा एक महिनाभित्रै नियमित सेवा थालिनेछ । शुक्रबार नेपाल भित्रिने रेल हाल जयनगर–जनकपुर र कुर्था रुटमै सञ्चालन हुनेछ । कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किमि दूरीमा भने रेलवेको लिंक ओछ्याउने काम जारी छ ।
बिजलपुरादेखि पूर्व–पश्चिम राजमार्ग छुन्ने बर्दिवाससम्मको १७ किमिमा भने जग्गा अधिग्रहण र मुआब्जाको झमेलाले निर्माण प्रक्रिया लम्बिएको छ । रेलवे विभागले रेल सञ्चालनका लागि यसै साता प्राविधिकसहित कर्मचारी भर्नाको विज्ञापन निकालेको छ । प्राविधिकसहित १ सय २९ जना कर्मचारी भर्नाका लागि रेलवेले सूचना प्रकाशन गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०२ असोज २०७७, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनमा रेलले दियो कामदारलाई ठक्कर, ११ जनाको मृत्यु
जनकपुरमा रेल र कार ठोक्कियाे
जर्मनीमा रेल दुर्घटना : तीन जनाको मृत्यु, कयौँ घाइते
मुम्बईमा गुडिरहेको रेलबाट यात्रुहरू खस्दा मृत्यु हुनेको संख्या ४ पुग्यो
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या