वामदेवको नाममा फेरि गोलमाल, मन्त्रिपरिषदमा भएको के थियो ?

पत्रपत्रिकाबाट

बुधबार, ३१ भदौ २०७७, ०८ : ०७
वामदेवको नाममा फेरि गोलमाल, मन्त्रिपरिषदमा भएको के थियो ?

काठमाडौं । परराष्ट्र मन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रमको अन्त्यमा जानकारी दिए– पूर्वअर्थमन्त्री युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय भएको छ ।

तर मन्त्रिपरिषद् बैठकमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई सल्लाहकार बनाउने प्रस्ताव लगेकै थिएनन् । ‘वामेदवजीलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने प्रस्ताव प्रधानमन्त्रीज्यूले अन्तिममा ल्याउनुभएको थियो, पारित पनि भएको हो,’ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले  भने, ‘युवराजजीबारे भने कुनै प्रस्ताव आएको थिएन ।’

प्रधानमन्त्रीको निर्णय नै सरकारको हुने भएकाले मन्त्रिपरिषद्मा प्रस्ताव नलगीकनै प्रधानमन्त्रीले निर्णय गरेको यो पहिलो होइन । त्यसमाथि प्रधानमन्त्रीले आफ्नो सल्लाहकार नियुक्त गर्दा मन्त्रिपरिषद्मै छलफल गरेर अरू सदस्यको राय लिनुपर्छ भन्ने पनि छैन । यद्यपि प्रवक्ता ज्ञवालीले बैठकको अन्त्यमा प्रधानमन्त्री ओलीले खतिवडालाई विशेष आर्थिक सल्लाहकार बनाउने जानकारी गराएको दाबी गरे ।

मंगलबार, सोमबार र गत भदौ १९ गतेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णयबारे सरकारका प्रवक्ताले किन केही उच्चारणै गरेनन् त रु ज्ञवालीले  भने, ‘त्यसमा अन्यथा कुनै निर्णय छैन, केही प्राविधिक समस्याले हो, एक–दुई दिनमा सिफारिस भइहाल्छ ।’

प्रधानमन्त्री ओलीले पनि मन्त्रिपरिषद् बाहिरका आफ्ना निकटस्थसँग गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने निर्णय भएको ब्रिफिङ गरेका थिए । तर प्रधानमन्त्री कार्यालयबाट गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्नेसम्बन्धी प्रस्ताव मंगलबार रातिसम्म राष्ट्रपति कार्यालयमा पुगेको छैन । गौतमले पनि आफूलाई सिफारिस गरिएको खबर प्रधानमन्त्री कार्यालयबाट औपचारिक रूपमा पाइनसकेको उनीनिकट स्रोतले बतायो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस