बिदाइ कार्यक्रममा कुलमानलाई कर्मचारीहरुले भने– १५ दिनभित्र फेरि स्वागत गर्न पाइयोस्

सफल खबर संवाददाता

मंगलबार, ३० भदौ २०७७, १५ : १२
बिदाइ कार्यक्रममा कुलमानलाई कर्मचारीहरुले भने– १५ दिनभित्र फेरि स्वागत गर्न पाइयोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बिदाइ गर्दै कर्मचारीहरुले १५ दिनभित्र फेरि स्वागत गर्न पाइयोस् भनेका छन् । प्राधिकरणका कर्मचारीले घिसिङलाई औपचारिक बिदाइ गर्दै यस्तो कामना गरेका हुन् ।  

प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ गरेका हुन् । प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएका छन् । 

कार्यक्रममा आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वोर पौडेलले भने, ‘फेरि पनि हामीले 
उहाँलाई कार्यकारी निर्देशकको रुपमा स्वागत गर्न पाऔँ ।’ कुलमान घिसिङको कार्यकालमा प्राधिकरणको कायापलट हुने गरी विकास गरेको धारणा उनले राखेका थिए ।  

उनले सुरुमा घिसिङले जिम्मेवारी सम्हाल्दा माफियाको चङ्गुलमा फस्नुहुन्छ कि भन्ने डर लागेको पनि बताए । उनले भने, ‘तर उहाँ फस्नुभएनँ र सफल भएर जानुभएको छ, तर उहाँ फेरि आउनुहुन्छ  भन्ने आशा बाँकी नै रहेको छ । 

बिदाइ मन्तब्य राख्दै उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले कुलमानलाई कार्यकारी निर्देशकको कार्यकाल पूरा भएको उपलक्ष्यमा मात्र नभैई प्राधिकरणमा २६ बर्ष सेवा पूरा गरेको अवसरमा बिदाइ गरिएको बताए । प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमानको आइतबार ४ वर्षे कार्यकाल सकिएको थियो । उनलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज उठेको छ । सरकारले हालसम्म घिसिङलाई पुन नियुक्ति दिइसकेको छैन । 

प्रतिक्रिया दिनुहोस