एनसेलले ठग्यो सवा अर्ब, प्राधिकरणले सोध्यो स्पष्टीकरण

पत्रपत्रिकाबाट

शनिबार, २७ भदौ २०७७, ०८ : ५७
एनसेलले ठग्यो सवा अर्ब, प्राधिकरणले सोध्यो स्पष्टीकरण

काठमाडौं । ग्राहकको स्वीकृतिबिनै विभिन्न सेवा र प्याक स्वतः नवीकरण गरी सवा अर्ब रुपैयाँ ठगी गरेको भन्दै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई स्पष्टीकरण सोधेको छ । 

प्राधिकरणको निर्देशनविपरीत विभिन्न शब्दावली प्रयोग गरी ग्राहकले प्रयोग गरिरहेका विभिन्न सेवाको स्वतः नवीकरण गरी एनसेलले सवा अर्ब ठगी गरेको प्राधिकरणको भनाइ छ ।

‘सेवाग्राहीको स्वीकृतिबेगर नियोजित रूपमा सेवाहरू स्वतः नवीकरण गरेर शुल्क असुली गरेको देखियो,’ प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘ग्राहकलाई क्षतिपूर्ति भराउने उद्देश्यले स्पष्टीकरण सोधेका हौं ।’ तीन कार्यदिनभित्र स्पष्टीकरण पेस गर्ने गरी प्राधिकरणले भदौ १९ गते एनसेलका नाममा पत्र काटेको छ ।

‘कोभिड–१९ का कारण कर्मचारी घरमा रहेको भन्दै एनसेलले स्पष्टीकरण पेस गर्न अर्को एक साताको समय मागेकाले थप गरिदिएका छौं,’ अध्यक्ष खनालले भने, ‘स्पष्टीकरण चित्तबुझ्दो नआए सेवाग्राहीलाई क्षतिपूर्ति भराउँछौं ।’

सेवाहरू स्वतः नवीकरण नगर्नू भनी प्राधिकरणले दिएको निर्देशन अटेर गरी एनसेलले ग्राहकबाट गैरकानुनी शुल्क लिएको देखिएको उनको भनाइ छ । ०७५ असोज १४ को निर्णयअनुसार प्राधिकरणले असोज १५ मा एनसेललाई भ्यालु एडेड सेवा (भ्यास) को स्वतः नवीकरण बन्द गर्न निर्देशन दिएको थियो ।

एनसेलले ०७५ जेठदेखि ०७७ वैशाखसम्ममा दैनिक नवीकरण, मासिक नवीकरण, साप्ताहिक नवीकरण र तीनदिने नवीकरण जस्ता शीर्षकमा ग्राहकको स्वीकृतिबेगर एक अर्ब २ करोडभन्दा बढी रकम असुलेको प्राधिकरणको अध्ययनले देखाएको छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस