पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : महामारीमा पनि निरन्तर

पत्रपत्रिकाबाट

विहीबार, २५ भदौ २०७७, ०७ : १५
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : महामारीमा पनि निरन्तर

फाईल तस्वीर

काठमाडौँ । अहिले जसरी नै काम भइरहे पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी वर्ष तयार हुन सक्ने अवस्था छ । रनवे, एप्रोन, पाइपलाइन, ट्याक्सी वे, ट्रान्सफर्मर र विद्युत् पाइपलाइनका काम सकिएका छन् । एक्सेस रोड र टर्मिनल बिल्डिङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । १४ भवनको संरचना बनेर फिनिसिङको चरणमा छन् ।

‘कोरानाको यत्रो महामारीका बेला पनि काम चलिरह्यो,’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मी भन्छन्, ‘विमानस्थलको ६३ प्रतिशत काम सकिएको छ ।’ विमानस्थल निर्माण चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीले गरिरहेको छ । कम्पनीका कामदार चिनियाँ नयाँ वर्ष मान्न गएका बेला गत माघदेखि चीनमा कोरोनाको महाव्याधि सुरु भएको थियो । त्यसले गर्दा कतिपय कामदार अझै आउन पाएका छैनन् । जति आइपुगे, सबैलाई क्वारेन्टाइनमा राखेरमात्रै काम लगाइएको छ ।

मुनकर्मीका अनुसार नयाँ विमानस्थलमा हाल २ सय ४४ चिनियाँ र १ सय २८ नेपालीले काम गरिरहेका छन् । चीनबाट आउनुपर्ने २ सयजना प्राविधिक र कामदार भने अझै उतै रोकिएका हुन् । ‘फिल्डमा भएका जति सबैले खटेर काम गरिरहेका छन् । केही सामान ल्याउन अप्ठेरो भएको थियो,’ उनले भने, ‘कोलकाताबाट वीरगन्ज भएर अब बिस्तारै आइपुग्दैछ । काम भइरहेको छ ।’

यो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग चार दशकअघिदेखि हुँदै आएको थियो । निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि पोखरेली पर्यटनलाई धेरै फाइदा पुग्ने आकलन गर्दै व्यवसायीले धमाधम होटल रेस्टुरेन्ट निर्माणमा लगानी बढाएका छन् । लामो समयको आन्दोलन र बहसपछि सरकारले राष्ट्रिय गौरवकै आयोजनाको सूचीमा राखेको विमानस्थल अब सञ्चालन हुने दिनलाई पोखरेली पर्यटन व्यवसायीले पर्खिरहेका छन् ।

आयोजना धमाधम निर्माण भइरहँदा सञ्चालनपछि जहाजलाई उडान अवतरणका क्रममा चरा ठोक्किएर हुन सक्ने जोखिमबारे भने अध्ययन नभएकामा वातावरणवादीले चिन्ता जनाएका छन् । विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० मै पनि चराबाट हुन सक्ने दुर्घटनाको जोखिमप्रति खासै ध्यान दिइएको छैन । ईआइए प्रतिवेदनमा रैथाने र आगन्तुक चरासँगै उनीहरूका गतिविधिबाट उडान अवतरणका क्रममा हुन सक्ने जोखिमको आकलन गरिएको छैन ।

०३२ सालमै ३ हजार १ सय ५० रोपनी अधिग्रहण गरिएको जग्गालाई बिस्तार गर्दै ०७३ साउनबाट राष्ट्रिय गौरवको आयोजनाको निर्माण सुरु भएको हो । लामो समयावधिबाट खुला फाँट र खेतीयोग्य जमिन रहेको उक्त ठाउँ गिद्ध र चिलको चरण रहिआएको थियो । मैदानको बीचबाट बग्ने सेती नहरले सिनो बगाएर ल्याउँथ्यो । खान गिद्ध र चिल हारालुछ गर्थे । विमानस्थल निर्माण सुरु भएपछि पनि उक्त क्षेत्रलाई गिद्ध र चिलले छाडिसकेका छैनन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस