क्षमताभन्दा दोब्बर कैदीबन्दी, संक्रमण भयावह

पत्रपत्रिकाबाट

मंगलबार, १६ भदौ २०७७, ०८ : ०१
क्षमताभन्दा दोब्बर कैदीबन्दी, संक्रमण भयावह

काठमाडौं । केन्द्रीय कारागार सुन्धारामा कार्यरत ५६ जना सुरक्षाकर्मीसहित एक सय नौजनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेको केन्द्रीय कारागारमा बिरामी कैदीबन्दीलाई अस्पताल ओहोरदोहोर गराउँदा सुरक्षाकर्मी र कैदीबन्दीमा संक्रमण फैलिएको हो ।

स्थान अभावका कारण एक हजार चार सय कैदी राख्न सकिने क्षमता रहेको केन्द्रीय कारागारमा हाल तीन हजार दुई सय ७१ जना कैदी छन् । सानो ठाउँमा धेरैजना कैदी राखिएसँगै भौतिक दूरी कायम गर्न सकिएको छैन । पर्याप्त क्यान्टिन र खुला ठाउँ नभएको सो कारागारमा रहेका सबै कैदीबन्दीको पिसिआर गर्नुपर्ने माग कारागार प्रशासनले गरेको छ ।

हाल संक्रमित भएकामध्ये कसैलाई पनि लक्षण भने देखिएको छैन । त्यसकारण भित्रभित्रै फैलिएको हुनसक्ने डर देखिएको कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाले पिसिआर गरिएका अधिकतरमा कोरोना पोजेटिभ देखिएको बताए ।

उनले सानो ठाउँमा धेरै कैदीबन्दीलाई खाँदेर राखिएकाले भित्र फैलिएको हुनसक्ने बताए । ‘हामीले सक्दो व्यवस्थापन गरेका छौं,’ उनले भने, ‘तर भित्र कतिलाई कोरोना छ भन्ने स्पष्ट छैन, केही नमुना परीक्षण गर्दा अधिकांशमा देखिएको छ, त्यसकारण पनि डर फैलिएको हो ।’ उनका अनुसार कारागारमा संक्रमण फैलने  डरमा अहिले कैदीबन्दी भेटघाटमा रोक लगाइएको छ ।

संक्रमित कैदीलाई कीर्तिपुरस्थित आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रको आइसोलेसन कक्षमा राखिएको छ । संक्रमित सुरक्षाकर्मीलाई दहचोकस्थित आइसोलेसन पठाइएको छ । संक्रमितमध्ये क्लोज कन्ट्याक्टमा रहेकाहरूको पालैपालो पिसिआर गरिने कारागार प्रशासनले जनाएको छ । नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस