चितवन । चितवनको कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै आएको छ । यहाँ रहेका क्यान्सर अस्पताल, भरतपुर अस्पताल र दुईवटा ठूला मेडिकल कलेजमा सहज रूपमा उपचार पाउने भएपछि उपचारका लागि कैदीबन्दीको रोजाइमा यस कारागार पर्ने गरेको हो ।
क्यान्सर रोग लागेका कैदीबन्दीको उपचारका लागि मुख्य रूपमा चितवन रोजाइ हुने गरेको भए पनि अहिले अन्य रोगका बिरामीको समेत रोजाइमा यस कार्यालय पर्ने गरेको हो ।
कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार केही दिनअघिमात्रै केन्द्रीय कारागार नुवाकोटबाट तीन जना बिरामीलाई उपचारका लागि यहाँ पठाइएको छ । देशका विभिन्न जिल्लामा रहेका बिरामी कैदीबन्दी उपचारका लागि पहिलो रोजाइ काठमाडौँ र यसपछि चितवन हुने गरेको छ ।
चितवन मध्यभागमा पर्ने भएकाले पनि यातायातको सहज सुविधा हुँदा बिरामीका आफन्तलाई समेत सहज हुने भएकाले यहाँ आउने गरेका हुन् । उनका अनुसार हाल कारागारमा ११८ जना बिरामी कैदीबन्दी छन् । उनीहरूलाई विभिन्न प्रकारका रोग लागेको छ ।
उच्च रक्तचापका ५४ बिरामी छन् । यस्तै मधुमेहका ३०, मानसिक रोगी १२, हेपाटाइटिस बी भएका पाँच, मुटुरोग, क्षयरोग, क्यान्सर, एचआइभी एड्स, छारेरोग लागेका तीन–तीन र थाइराइडका दुई जना बिरामी रहेका छन् ।
उनले नियमित औषधि सेवन गर्नुपर्ने बिरामीका लागि औषधि खरिद गर्न पनि समस्या हुने गरेको बताए । यस आर्थिक वर्षमा यस कार्यालयलाई औषधोपचार खर्चबापत रु १२ लाख विनियोजन भएको थियो ।
सरकारले विनियोजन गरेको औषधिको रकम अपुग भएर जनस्वास्थ्य कार्यालय, भरतपुर महानगरको स्वास्थ्य शाखा, औषधि व्यवसायीसँग सहकार्यमा औषधि व्यवस्थापन गर्दै आएको उनले जानकारी दिए ।
यस कारागारमा ४१ महिलासहित ६७९ जना कैदीबन्दी रहेका छन् । एक जना आश्रित बालक रहेको उनले बताए । अहिले अस्पतालमा भर्ना भएर दुई जना कैदीबन्दीले उपचार गराइरहेका छन् । यस कारागारको क्षमता ५०५ जनाको हो । यसमा ३० महिला र ४६५ पुरुष रहेको उनकाे भनाइ छ । जेनजी आन्दोलनका क्रममा भागेका ११० कैदीबन्दी अझै फर्कन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ चैत्र २०८२, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीमफेदी कारागार तोडेर फरार भएका कैदी बारामा चोरी गर्दा पक्राउ
कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई
केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ
कास्कीमा जेनजी आन्दोलन: आगजनी र तोडफोड गर्ने रास्वपा नेतासहित ४ जना कारागार चलान
जलेश्वर कारागारका २७३ कैदीबन्दी अझै फरार
भीमफेदी कारागारबाट भागेका १५४ कैदीबन्दी अझै सम्पर्कविहीन