भरतपुर महानगरको फोहोर ब्यवस्थापन शुचारू

रासस

विहीबार, ११ भदौ २०७७, ०८ : १९
भरतपुर महानगरको फोहोर ब्यवस्थापन शुचारू

फाईल तस्वीर

–नारायण अधिकारी
चितवन । स्थानीयको अवरोधका कारण एक सातादेखि उठ्न नसकेको भरतपुर महानगरको फोहोर उठ्न शुरु भएको छ । फोहोर व्यवस्थितरुपमा बिसर्जन गर्ने विषयमा स्थानीय टोल सुधार समितिसँग सहमती गरी फोहोर उठाउन थालिएको हो । हाल महानगरले भरतपुर महानगरपालिका वडा नम्बर ३ नगरवन नजिकै फोहोर बिसर्जन गर्दै आएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दीर्घकालिन रुपमा फोहोर व्यवस्थापनको काम भैरहेको भए पनि समय लाग्ने भएकाले अस्थायीरुपमा विगतमा बिसर्जन गरिएकै ठाउँमा फोहोर फालिएको बताईन् । स्थानीयको मागलाई सम्बोधन गर्दै व्यवस्थित बिसर्जन गर्ने गरी फोहोर उठाउन थालिएको हो । उनले भनिन्–‘बुधबार सहमति भएसँगै आजदेखि महानगरले फोहोर उठाउने कार्यलाई निरन्तरता दिने भएको छ ।’

महानगरले दीर्घकालिन रुपमा फोहोर व्यवस्थित गर्दैछ । दाहालका अनुसार कोरीयन सरकारको सहयोगमा आँपटारीमा व्यवस्थित ल्याण्डफिल साईट बन्दैछ । सो क्षेत्रको १५ बिगाह वन क्षेत्रको सोधभर्ना गर्ने गरी महानगरले माडीमा १५ बिगाह जमीन खरिद गरेर वन बनाउँदै छ । झण्डै एक वर्ष अघि कोरीयन सरकारसँग सम्झौता गरी बिस्तृत अध्ययन प्रतिवेदनको काम कोरीयन कम्पनीले नै गरिरहेको उनले जानकारी दिईन् ।

कोरेना सङ्क्रमणका कारण काममा केही ढिलाई भएको हो ।  सेप्टेम्बरको अन्त्यसम्ममा प्रतिवेदन तयार हुनेछ । कोरीयन सरकारकै रु ९ करोडको खर्चमा प्रतिवेदन बनिरहेको छ । योसँगै फोहोर बिसर्जनको उपयुक्त विधिसहित काम अघि बढ्ने छ । त्यसको सहयोग कोरीयन सरकारले नै गर्ने दाहालको भनाइ छ । फोहोरबाट ऊर्जा, प्राङ्गारीक मल, पुनः प्रयोग लगाएतको काम गरिनेछ ।

महानगरले कम्पोष्ट च्याम्बरमा अनुदान, फोहोर व्यवस्थापन तालिमलगायत गतिविधि गर्दै आएको छ । प्रदेश सरकारसँग मिलेर भरतपुर महानगरपालिका वडा नम्बर ११ नवजागृति सामुदायीक वनमा कुहिने फोहोरबाट वायोग्यास र मल बनाउँदै छ । जसका लागि बाग्मती प्रदेश सरकारले रु ५० लाख सहयोग गर्दै छ ।  नपुग रकम महानगरले व्यहोर्ने उनले जानकारी दिईन् ।

दाहालले आफू प्रमुख भए देखिनै फोहोर व्यवस्थापनमा लागेको भए पनि व्यवस्थित गर्न आवश्यक प्रक्रियाका कारण ढिलाई भएको बताईन् । उनले भनिन्, “फोहोर बिसर्जनका लागि व्यवस्थापनको काम नै नभएको होईन । काम सम्पन्न गर्न समय लगेको हो ।” अस्थायी फोहोर बिसर्जन गर्ने अन्य ठाउँको पनि खोजी भइरहेको पनि उनले बताईन् । बिसर्जन गरिएको फोहोरबाट मानव, वन्यजन्तु र जलचरलाई असर नपरोस् भन्नेमा महानगर सधैं लगिरहेको भन्दै उनले कतिपय बध्यताका कारण पनि भनेजस्तो गर्न नसकीएको बताईन् । नगरवन क्षेत्रमा फोहोर बिसर्जन गर्दा स्थनीय र नदीका जलचरमा असर पर्ने गुनासो आइरहेको छ ।

भरतपुर महानगरपालिका वातावरण शाखा प्रमुख ई. बिराट घिमिरेका अनुसार महानगर क्षेत्रबाट दैनिक ७० टन फोहोर सङ्कलन हुने गर्दछ । महानगरले मुख्य बजार क्षेत्रमा दैनिक फोहोर सङ्कलन गर्दै आएको छ भने ग्रामीण क्षेत्रमा १५ दिनमा एक पटक फोहोर उठाउने घिमिरेले बताए । ठाउँअनुसार एक दिन बिराएर, हप्तामा दुई पटक, हप्तामा एक पटक फोहोर उठाइँदै आएको छ ।

स्रोतमै फोहोर कम गर्न महानगर लागि परेको उनको भनाई छ।। सुइरो कार्यक्रमसँग सहकार्य गरेर प्लाष्टिक जन्य फोहोर घटाउँदै आएको छ । महानगरबासीलाई घरमा फोहोर वर्गीकरण गरी अधिकतम उपयोग गरेर घरबाट पठाउने फोहोर घटाउन अनुरोध गरिएको घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस