भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थापन गरिँदै

सफल खबर संवाददाता

आइतबार, १० फागुन २०८२, ११ : २१
भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थापन गरिँदै

नारायणगढ (चितवन) । जिल्लाको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न् निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार बसेको यातायात व्यवस्थापन समितिको बैठकले लामो तथा छोटो दूरीका सवारी सञ्चालन, मालवाहक सवारीको रुट व्यवस्थापन, ध्वनि प्रदूषण नियन्त्रण, पार्किङ, टिकट काउन्टर व्यवस्थापन र सडक पूर्वाधार सुधारसम्बन्धी निर्णय गर्दै आजदेखि कार्यान्वयनमा ल्याइने जनाइएको छ ।

निर्णयअनुसार पूर्वी जिल्लाबाट काठमाडौँ तथा पोखरा जाने यात्रुवाहक बस, मिनीबस, माइक्रोलगायत सवारीले अनिवार्य रूपमा केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी केन्द्रीय बसपार्क चोक हुँदै बाइपास सडक प्रयोग गरी आँपटारी चोकबाट बाहिरिनुपर्नेछ । पूर्वी जिल्लाबाट पश्चिमतर्फ जाने सवारीले केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी चौबिसकोठी, लायन्सचोक हुँदै पुल्चोकबाट बाहिरिनुपर्नेछ ।

पश्चिम क्षेत्रबाट पूर्व तथा काठमाडौँतर्फ जाने यात्रुवाहक सवारीले केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी केन्द्रीय बसपार्क चोक हुँदै गन्तव्यतर्फ जानुपर्नेछ । बागलुङ, पोखरा तथा काठमाडौँबाट पूर्व वा पश्चिम जाने सवारीले आँपटारीबाट बाइपास सडक हुँदै केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी गन्तव्यतर्फ जानुपर्नेछ ।

जिल्लाबाट पूर्व तथा पश्चिम जाने लामो दूरीका सवारीले अनिवार्य रूपमा केन्द्रीय बसपार्कबाट मात्र यात्रु लिनुपर्नेछ । चितवनबाट बागलुङ, पर्वत, पोखरा, स्याङ्जा, गोरखा र लमजुङ जाने बस तथा मिनीबस नारायणगढ (पोखरा)बसपार्कबाट क्यु लिई आँपटारी हुँदै बाहिरिनुपर्नेछ । महानगर क्षेत्रभित्र जथाभावी यात्रु चढाउने तथा ओराल्ने प्रयोजनका लागि सवारी रोक्न नपाइने निर्णय गरिएको छ । केन्द्रीय बसपार्क (पारस बसपार्क)र नारायणगढ (पोखरा) बसपार्कबाट क्यु लिई सञ्चालन हुने बस तथा मिनीबसले रातिको पार्किङ सोही बसपार्कमा गर्नुपर्नेछ ।

भरतपुर महानगर क्षेत्रको रिङरोडमा चल्ने म्याजिकको क्यु र पार्किङ सम्बन्धित समितिले व्यवस्थापन गरेका स्थानमा हुनेछ र त्यसको जानकारी महानगर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई दिनुपर्नेछ । भरतपुरबाट टाँडी, पर्सा, भण्डारा, लोथर जाने तथा त्यहाँबाट आउने बस र म्याजिकको क्यु तथा पार्किङ केन्द्रीय बसपार्कमा हुनेछ भने अन्तिम विन्दु लायन्सचोक तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस