कोरोनाबाट नेपालमा निको हुने दर सार्कमै सबैभन्दा कम

पत्रपत्रिकाबाट

विहीबार, ११ भदौ २०७७, ०७ : १९
कोरोनाबाट नेपालमा निको हुने दर सार्कमै सबैभन्दा कम

काठमाडौँ । सार्क मुलुकमध्ये नेपालमा कोरोना लागेर निको हुने दर सबैभन्दा कम देखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमित निको हुने दर ५६.६६ प्रतिशत छ । विज्ञहरूले यसलाई नराम्रो संकेतका रूपमा विश्लेषण गरेका छन् । निको हुने दर कम भएको र गम्भीर बिरामी थपिँदै गएकाले मृत्यु संख्या बढिरहेको छ ।

सार्क राष्ट्रमा श्रीलंकामा कोरोना निको हुने दर सबैभन्दा राम्रो ९४.८८ प्रतिशत देखिएको छ । छिमेकी भारत तेस्रो स्थान (७६.२१ प्रतिशत) मा छ । ‘उपचार प्रक्रियामा कमजोरी र संक्रमितको पहिचानको कमीले गर्दा नेपालमा कोरोना निको हुने दर सबैभन्दा कम छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले भने, ‘निको हुने दर बढ्नुपर्छ तर नेपालमा घट्दो छ । यो राम्रो लक्षण होइन, मुलुकमा भएको कोभिडसम्बन्धी खराब उपचार व्यवस्थाको प्रतीक हो ।’

नेपालमा कोभिडको मृत्युदर ०.५० प्रतिशत छ । सार्क मुलुकमा सबैभन्दा कम मृत्युदर माल्दिभ्स (०.३९ प्रतिशत( मा छ भने सबैभन्दा बढी अफगानिस्तानमा ३.६७ प्रतिशत छ । भारतमा मृत्युदर १.८४ प्रतिशत, बंगलादेशमा १.३४ प्रतिशत, पाकिस्तानमा २.१३ प्रतिशत र श्रीलंकामा ०.४० प्रतिशत छ । हालसम्म सार्क राष्ट्रमध्ये भुटानमा कोभिडले कसैको मृत्यु भएको छैन ।
डा। ठाकुरले नेपालमा मृत्यु भएका धेरैको परीक्षण नभएकाले मृत्युदर अझै बढी हुन सक्ने बताए । ‘मुलुकमा कोरोनाले मृत्यु भएका सबैको तथ्यांक समेटिन सकिएको छैन,’ उनले भने, ‘प्रदेश २ को तीन क्षेत्रमा दुई–चार दिनयता कोभिडको लक्षणले मृत्यु भएका ७–८ जनाको परीक्षण नगरिएको जानकारी मसँगै छ ।

यस्तै अवस्था अन्य भागमा समेत होला ।’ सार्कका अन्य मुलुकमा जस्तै जाँचको मात्रा मात्र नभई दायरा बढाउनुपर्ने विज्ञहरूले औंल्याएका छन् । ‘जाँचको मात्राभन्दा पनि दायरा बढाउनुपर्छ, संख्या पुर्‍याउन परीक्षण गर्नु हुँदैन,’ उनले भने, ‘हाल दिनहुँ न्यूनतम २५ हजार परीक्षण गर्नुपर्छ । परीक्षण बढाउँदा केस बढेको स्पष्ट भइसकेको छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अर्का पूर्वनिर्देशक डा। बाबुराम मरासिनीले समेत दिनहुँ २५ हजारभन्दा बढी कोरोना परीक्षण गर्नुपर्नेमा जोड दिए । भारतले दिनहुँ दस लाखसम्म कोरोना परीक्षण गरिरहेको उल्लेख गर्दै उनले अन्य जनस्वास्थ्यको प्रक्रिया अपनाउनुका साथै परीक्षणको दायरा व्यापक नबनाएसम्म संक्रमण नियन्त्रण सम्भव नभएको बताए ।  कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस