वीरगन्जमा गरिएको परिक्षणमा थप ६० जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

शनिबार, ०६ भदौ २०७७, ११ : ४६
वीरगन्जमा गरिएको परिक्षणमा थप ६० जनामा कोरोना संक्रमण

वीरगन्ज । वीरगन्जमा गरिएको कोरोना परिक्षणमा थप ६० जनामा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमति मध्ये ५ जना बाराका, एकजना रौतहट र अन्य सबै पर्सा जिल्लाका रहेका छन् । अस्पतालका अनुसार ४ सय ५० वटा स्याम्पल परीक्षण गर्दा ८ महिलासहित ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ३० जना कन्ट्याक्ट ट्रेसिङको क्रममा संक्रमित पाइएका छन् । ५ जना संक्रमितमा ज्वारो, खोकी र छाती दुख्ने लक्षण देखिएको छ ।

६० जना संक्रमितमध्ये २५ जना पर्साको पर्सागढी नगरपालिकाका बासिन्दा हुन् । जसमध्ये १७ जना संक्रमित वडा नम्बर ६ वागेश्वरीका बासिन्दा हुन् । ठोरी गाउँपालिकाको वडा नम्बर १ मा दुई जना र वडा नम्बर ४ मा एक जनामा कोरोना देखिएको छ ।पटेर्वासुगौली गाउँपालिकामा तीन जना, सखुवाप्रसौनी गाउँपालिकामा एक जना र पकाहामैनपुर गाउँपालिकामा दुईजना स्वास्थ्यकर्मीसहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एक जना प्रहरीलाई कोरोना संक्रमण भएको छ । वीरगन्जको एक औषधि उद्योगका ८ जना कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ । अन्य संक्रमितहरु वीरगन्जको विर्ता, ड्राईपोर्ट, रानीघाट, नगवा, मुर्ली र बेल्वाका बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस