‘भीआईपी’ हरु पनि कोरोनाबाट प्रताडित

अख्तियार प्रमुख संक्रमण देखिएपछि आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् भने  राष्ट्र बैंकका गर्भनर पनि कन्ट्याक ट्रेसिङमा परेपछि घरमै क्वारेन्टाइनमा छन्, नेता देखि उच्चपदस्थ्थ कर्मचारीमा पनि संक्रमण फैंलदो छ

सफल खबर संवाददाता

मंगलबार, ०२ भदौ २०७७, ०९ : २८
‘भीआईपी’ हरु पनि कोरोनाबाट प्रताडित

काठमाडौं ।  नेपालमा कोरोना संक्रमतिको संख्या २७,२४१ पुगेको छ । त्यसमध्ये १७,४९५ निको भईसकेका छन् । मृत्युको संख्या १०९ छ ।  नेपालगञ्ज उपमहानगरपालिका ५ निवासी ६२ वर्षिय एक पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएसँगै मृत्यु हुनेको संख्या १०९ पुगेको हो । यो पछिल्लो तथ्यांक हो ।

चैत ११ देखि साउन ७ सम्म सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै देशभर लकडाउन (बन्दाबन्दी)को घोषणा गरेको थियो । त्यसपछि लकडाउन खोलेको सरकारको प्रतिक्रिया थियो । बन्दाबन्दीका बेलामा सरकारले लकडाउन लगाउने र चुपचाप आफ्नो सत्ता टिकाउने अनेक फन्डामा मात्र रमाईरहेको आरोप लाग्यो । हुन पनि उक्त बन्दाबन्दीको अवधिमा सरकारले गर्नुपर्ने तयारीमा पूर्णत चुक्यो ।

जसको परिणाम बन्दाबन्दी खोल्न नपाउँदै नेपालमा संक्रमितको संख्या ह्वात्तै बढेबाट नै पुष्टि हुन्छ । समुदायस्तरमा संक्रमण फैलिइसकेको कुनै पनि संक्रमतिको  कन्ट्याक ट्रेसिङ  मै नपरेका ब्यक्तिसम्म संक्रमति भएबाट पुष्टि हुन्छ । तर पनि सरकारले लकडाउनको केन्द्रीय रुपमा गरेको छैन् । अहिले स्थानिय तहलाई नै आफ्नो अनुकुलतामा बन्दाबन्दीको विषयमा निर्णय लिन दिने गरी सरकारले छोडेको छ ।

त्यही आधारमा कतिपय महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले बन्दाबन्दीको निर्णय लिएका छन् । केहीले गर्ने तयारी गरिरहेका छन् । जनस्वास्थ्य विज्ञ डा. दिनेश न्यौपाने काठमाडौं भित्रै थुप्रै संक्रमितहरुलाई कोरोनाको संक्रमण कहाँबाट फैलियो भनेर पत्ता लगाउन नसकिएको बताउँछन् । प्रयोगशाला परीक्षण अहिले मुख्य गरेर क्वारेन्टिनमा भएकाहरुलाई मात्र लक्षित रहेकोले मुख्य शहरहरुमा कोरोनाको मात्रा कुन रुपमा फैलिएको छ भन्ने पत्ता लगाउन समस्या भईरहेको उनको भनाई छ ।

उनले भने,–‘क्वारेन्टिनमा बस्नेहरु मूलतःभारतबाट फर्किने युवाहरु छन् । यसले गर्दा अहिले अधिकांश पत्ता लागेका कोरोना संक्रमितहरु विदेशबाट आउने खास गरेर भारतबाट फर्किनेहरु छन् । यदि हामीले कन्ट्याक ट्रेसिङ र परीक्षणको दायरालाई बढाउने हो भने मेरो विचारमा समुदायस्तरमा संक्रमितहरु धेरै फेला पर्छन् ।’

‘भीआईपी’ लाई पनि छोडेन 
नेपालमा भीआईपीहरुलाई पनि कोरोनाले छोडेको छैन । सम्वैधानिक अंगका प्रमुख देखि सांसद नेतासम्मलाई पनि कोरोनाले छुन थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । उनी एक साता यता घरमै आइसोलेसनमा बसेका छन् । साउन २७ मा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनीसँगै अर्का एक आयुक्तलाई पनि कोरोना पुष्टि भएको छ । 

नेपाल राष्ट बैंकका गर्भनर महाप्रसाद अधिकारी कोरोना संक्रमणको आशंकामा भंसेपाटीस्थित आफ्नै निवासमा क्वारेन्टाइनमा बसेका छन् । बैंकको केन्द्रीय कार्यालयको सामान्य सेवा विभागका एकजना इञ्जिनियरलाई गत बिहीबार कोरोना पुष्टि भएपछि अधिकारीले होम क्वारिन्टिन रोजेका छन् । 

बैंकका एक जना कर्मचारीका अनुसार, गर्भनर अधिकारीले संक्रमण पुष्टि भएका इञ्जिनियरसँग दुई दिनअघि आफ्नै कार्यालयमा भएको निर्माणसम्बन्धी विषयमा लामो छलफल र प्रत्यक्ष कुराकानी गरेका थिए । त्यसको भोलिपल्ट इन्जिनियरमा कोरोना पुष्टि भएको रिपोर्ट आएपछि अधिकारी शुक्रबारदेखि क्वारेन्टाइनमा बसेका हन् । 

वाग्मती प्रदेशका उपसभामुख राधिका तामाडमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी र उनका छोरा रिदममा कोरोना संक्रमण पुष्टि भएको हो । गृहजिल्ला नुवाकोटको दुप्चेश्वरका एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि उनकै सम्र्पमा रहेकाहरुको खोजी गर्दा उपसभामुख तामाड पनि कोरोना संक्रमित देखिएकी हुन् । नेपाल प्रहरीका दुई जना डिआईजीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालका दुई जना डिआइजीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

नेताहरुका पनि घर दैलोमै कोरोना पुगेको छ । सुरक्षाकर्मी, अंगरक्षकहरुमा समेत कोरोना देखिएको छ । यसले भिआईपीहरुलाई पनि कोरोनाले प्रताडित बनाउन थालेको छ । केन्द्रीय संसदकै एक जना सांसद भर्खर निको भएर फर्केका छन भने अर्का एक जनामा फेरि संक्रमण देखिएको छ ।

कर्णाली प्रदेशमा पनि एक जना सांसद निको भएर फर्केका छन भने अर्काे एक जना सांसदमा संक्रमण देखा परेको छ । प्रदेश २ मा एकजना मन्त्रीलाई नै संक्रमण देखिएको छ । कतिपय स्थानिय तहका प्रमुखलाई पनि संक्रमण देखिएको छ । 

प्रतिक्रिया दिनुहोस