ओलीको गुट बैठकमा ‘वामदेव र बादल’ को इन्ट्री

सफल खबर संवाददाता

सोमबार, ०१ भदौ २०७७, ०९ : ३८
ओलीको गुट बैठकमा ‘वामदेव र बादल’ को इन्ट्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा हिजो साँझ आफ्नो समुहका प्रभावशाली नेताहरुको गुट छलफल चलाए । पार्टीभित्रैबाट प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट राजीनामा दिन उनीमाथी परेको चर्काे दबाब अन्ततः उनले अध्यक्ष प्रचण्डसँग लामो छलफल पछि करिब टारेका छन् । 

विवाद सल्टाउन उनले प्रचण्डसँग मिलेर कार्यदल गठन गर्ने र त्यसले महाधिवेशनसम्मको ठोस योजना बनाउने र महाधिवशेनबाटै आफुले पार्टी अध्यक्ष हस्तान्तरण गर्ने, सरकार पार्टीको संस्थागत निर्णयका आधारमा चलाउने, आवश्यक पर्दा संघीय देखि प्रदेश सरकार सम्मका मन्त्रिमण्डल हेरफेर गर्ने सम्ममा तयार भएपछि उनको सत्ता संकट टरेको छ । 

यही बीचमा कार्यदलको वैधानिकतामा वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नै प्रश्न उठाए । कार्यदल गठनमा असहमति नजनाएपनि कार्यदल गठनको प्रक्रिया नमिलेको भन्दै नेताहरुले पार्टी बैठकबाट निर्णय लिनुपर्ने माग गरे । अघिपछि ओली र प्रचण्डले चाहेमा पार्टीमा सरसर्ती निर्णय गरेर जाने अवस्था रहेपनि अहिले गठन गरिएको कार्यदल गठन प्रक्रिया नमिलेको नेताहरुले नै प्रश्न उठाएपछि आज बिहान सचिवालय बैठक बोलाईएको छ । 

वैठकमा उक्त कार्यदल अनुमोदन गराउने एजेण्डा छ । नेताहरुका मागका आधारमा सचिवालय बैठक बोलाउन प्रचण्डले गरेको प्रस्ताव आनाकानी गर्न नसकेपछि ओलीले कार्यदल अनुमोदनमा सचिवालय बैठक बस्न पर्ने भएपछि बल्लतल्ल टरेको आफ्नो संकट नयाँ सिरावाट फेरि कतै बल्झिने पो हो की भन्नेमा बालुवाटार हिजो दिनभर आन्तरिक तयारीमा ब्यस्त थियो । कहिले छुटाछुटै नेताहरु त कहिले साुमहिक रुपमा ओलीले आफनो समुहसँग दिनभर परामर्श गरिरहे । 

त्यही क्रममा उनले साँझ ५ बजे बालुवाटारमा आफु पक्षिय नेताहरुको बैठक राखे । सचिवालयमा केही परिहाल्छकी भनेर बहुमत आफुसँगै राख्न उनको प्रयास दिनभर थियो । महासचिव पौडेल र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र आफु ३ जना प्रष्ट आफनो समुहमा सचिवालयमा छन् ।  तीन नेता माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ कार्यदल गठनको प्रक्रिया मिलेन भन्दै प्रश्न उठाईरहेका छन् । प्रचण्ड के गर्लान् ? वामदेव गौतम र रामवहादुर थापा बादलसम्मलाई कतै रणनीतिक रुपमा आफु इतर समुहले प्रयोग पो गर्छन् की ? प्रधानमन्त्री बल्लतल्ल बनेको आफ्नो अनकुल वातावरण फेरि कुनै बहानाबाजीमा भड्किने पो हो की भन्ने आशंकामा थिए ।

त्यही भएर उनले हिजो साँझ बालुवाटारमा आफनो समुहको गुट भेला आयोजना गरे । महासचिव पौडेल कार्यदलको बैठक सकेर आफ्नै आन्तरिक भेटघाटमा रहेका कारण अनुपस्थित रहेपनि बालुवाटार भेलामा प्रधानमन्त्री ओली, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, कार्यदल बैठक सकेर हतारिदै बालुवाटार पुगेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाड लगायत नेताहरु सहभागी थिए । 

बैठकमा ओलीले उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापालाई पनि बोलाएका थिए । त्यस्तै प्रचण्ड समुह छोडेर ओलीतिर लागेका उद्योगमन्त्री लेखराज भट्ट पनि उक्त भेलामा सहभागी भएका थिए । पार्टीभित्र तिन समुह रहेको र आफु कुनै पनि समुहमा नलागेको जिकिर गरिरहेका गौतम ‘ओली र प्रचण्ड’ मिल्नुपर्ने तर्क अगाडी सारिरहेका बादलको पनि भेलामा उपस्थिती रहेकोे थियो । उनीहरुको भेलालाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो भेलाले सचिवालय बैठक कार्यदल अनुमोदनमा मात्र केन्द्रीत गर्नुपर्ने, त्यसलाई भड्किन दिन नहुने र बल्लतल्ल फेरि एकताबद्ध हुन लागेको पार्टी एकतालाई जोगाउनुपर्नेमा नेताहरुले ओलीलाई बैठकमा सुझाव दिएका थिए । सचिवालय बैठक अगाडी ओलीले यसरी गुटको भेला राख्नुले अझै पनि नेताहरुमा शंका आशंका कायमै राखेको देखाएको छ । आफुलाई घेराबन्दी गर्न बाहिर गुटबन्दी गरेको आरोप लगाउदै आएका ओलीले आफ्नै संकट टार्न भने बालुवाटारमा अझै गुटबन्दी गर्न नछोडेको चर्चा नेकपामा हुन थालेको छ ।