भरतपुर महानगरमा सात दिन लकडाउन

सफल खबर संवाददाता

शुक्रबार, ३० साउन २०७७, १२ : २६
भरतपुर महानगरमा सात दिन लकडाउन

– नारायण अधिकारी
चितवन । भरतपुर महानगरपालिका क्षेत्र भित्र सात दिन पूर्ण रुपमा लकडाउन गरिने भएको छ । महानगरमा आज भएको बिपद व्यवस्थापन समितिको आकस्मिक बैठकले एक हप्ता पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन आज राति १२ बजेबाट सुरु हुनेछ ।

महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको बैठकले कोरोनाको संक्रमण नियन्त्रण, प्रभावकारी उपचार, व्यवस्थापनका लागि लकडाउन गर्ने निर्णय गरेको हो । 

महानगर भित्र कोरोना रोग तिब्र गतिमा बढेसँगै जोखिमलाई मध्यनजर गर्दै लकडाउनको आव्हान गरिएको प्रमुख दाहालले बताउनुभयो । अति आबश्यक क्षेत्रलाई बिशेष निगरानी सहित निश्चित समय सञ्चालन गर्न दिईने गरि लकडाउन गरिने छ । दाहालले भन्नुभयो “जो जहाँ छ त्यही रहने गरि लकडाउन गरिदै छ ।” महामारीबाट वच्नका लागि लकडाउन वाध्यता भएको भन्दै दाहालले जुन कस्ट भए पनि हामी सबैले स्विकार गर्नुको वाध्यता रहेको बताउनुभयो । 

राजमार्गमा अतिआबश्यक सवारी मात्र चल्न दिने, दुध, तरकारी, मासु लगाएतका अति आबश्यक वस्तुलाई निश्चित समयमा मात्र खोल्न दिने र भित्रि आवागमन पूर्ण रुपमा निस्तेज हुने गरि लकडाउन आवहान गरिदै छ ।  महानगरका वडा मार्फत टोल सुधार समितिहरुलाई सबैलाई सतर्क भई घरमानै रहन सन्देश प्रवाह गरिदैं छ । महानगरको बिपद व्यवस्थापन ईकाई, दमकल, नगरप्रहरी, महानगरका सिमित कर्मचारीहरु परिचालन गरेर रोगको नियन्त्रण, उपचार र व्यवस्थापनको काम गरिने दाहालका प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारीले जानकारी दिनुभयो । 

महानगर भित्रका अस्पताल, आईसोलेसन र क्वारेन्टिनलाई प्रभावकारी वनाईने छ । उपचारमा बिशेष ध्यान दिने उहाँले जानकारी दिनुभयो । समितिको वैठकमा महानगर उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासशकीय अधिकृत, सुरक्षा निकायका प्रमुखहरु, उद्योग वाणिज्य संघ, उद्योग संघ, यातायात व्यवसायी लगाएतको उपस्थिति रहेको थियो । 

महानगरपालिका भित्र हालसम्म ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये पुरूष ७०, महिला २३ रहेका छन् । एक जनाको मृत्यु भएको छ । महानगरभित्र पछिल्लो ३ दिनमा २३ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस