प्रतिष्ठानको जग्गा व्यापारीलाई दिन चलखेल

पत्रपत्रिकाबाट

विहीबार, २९ साउन २०७७, ०८ : ३१
प्रतिष्ठानको जग्गा व्यापारीलाई दिन चलखेल

सांकेतिक तस्विर

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा निजी व्यापारी र भूमाफियालाई उपभोग गर्न दिनेगरी चलखेल सुरु भएको छ । काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा बुधबार बसेको वीपी प्रतिष्ठानको कार्यकारिणी समितिको बैठकले स्वामित्वमा रहेको अचल सम्पत्ति जग्गा निजी क्षेत्रसँग समझदारी गरेर उपयोग गर्न दिनेगरी सिनेटमा प्रस्ताव लान सैद्धान्तिक सहमति प्रदान गरेको हो ।  

स्रोतका अनुसार कार्यकारिणी समितिबाट सैद्धान्तिक सहमति लिई सिनेटमा पेश गर्न तयार पारिएको यो प्रस्ताव सिनेटबाट पनि स्वीकृत भएको अवस्थामा वीपी प्रतिष्ठानले उपभोग गरिरहेको काठमाडौंको बाँसबारीस्थित करिब ७ रोपनी जग्गा, भक्तपुरमा रहेको १२ रोपनी, धरान छाता चोकमा रहेको करिब ६ कठ्ठा जग्गा मोरङको सुन्दर हरैंचामा रहेको १४ विघामध्ये ७ विघा जग्गा निजी क्षेत्रलाई दिन बाटो खोलिएको हो । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरीको मिलेमतोमा प्रतिष्ठानको जग्गा निजी क्षेत्रलाई दिनेगरी प्रस्ताव आएकाले सिनेटबाटसमेत पारित हुने  प्रबल सम्भावना रहेको  स्रोतको दाबी छ ।  

सरकारले कोरोना–१९ संक्रमणको जोखिम बढ्दै गइरहेको कारण देखाउँदै अत्यावश्यकबाहेकको कुनैपनि प्रकारको बैठक, गोष्ठी समीक्षा, छलफल, सेमिनार र भेलाजस्ता सामूहिक जमघट हुने कार्य नगर्न÷नगराउँन  र अन्य जमघट नगर्न निर्देशन दिएको भोलिपल्टै वीपी प्रतिष्ठानका उपकुलपति गिरीले काठमाडौंमा कार्यकारिणी समितिको बैठक राखेर प्रतिष्ठानको जग्गा निजी क्षेत्रलाई उपयोग गर्न दिनेगरी सिनेटमा प्रस्ताव लाने सैद्धान्तिक सहमति लिएका छन् ।  

मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मानिसको जमघट, भेटघाट एवं नजिकिने कार्यबाट कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको हुँदा अत्यावश्यकबाहेकका कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट हुने कार्य नगर्न र नगराउने निर्णय गरेको जानकारी गराएका थिए । तर मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएको भोलिपल्टै त्यसलाई उल्लंघन वीपीका पदाधिकारीहरुले निजी व्यापारी र भूमाफियाको स्वार्थपूति गर्ने उद्देश्यले प्रतिष्ठानको जग्गा उपभोग गर्न दिनेगरी सिनेटमा लाने एजेन्डा स्वीकृत गरेको हो ।

प्रतिष्ठानको अचल सम्पत्ति निजी क्षेत्रसँगको समझदारी गरेर उपयोग गर्नेसहित सुन्दर हरैंचामा मदन भण्डारी ट्रमा सेन्टर निर्माण गर्ने,  प्रतिष्ठानभित्र अर्गान ट्रान्सप्लान्ट सेन्टर बनाउँने, प्रतिष्ठानलाई विश्वविद्यालय बनाउँने र क्यान्सर तथा मुटु रोग अस्पताल सुचारु गर्ने प्रस्ताव कार्यकारिणी समितिको बैठकबाट स्वीकृत भइ साउन ३० गते बस्ने सिनेटका लागि एजेन्डा तय भएको समितिका एक सदस्यले नागरिकलाई जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले ३० गतेका वीपी प्रतिष्ठानको सिनेट बस्न लागेको जानकारी दिए । सिनेटमा २५ जनाको भन्दा कम व्यक्ति सहभागी हुने भएकाले दूरी कायम गरेर बैठक गर्न लागिएको उनले बताए । दुरी कायम गरेर सीमित व्यक्तिहरु सिनेटमा बस्ने भएकाले मन्त्रिपरिषद्को निर्णय उल्लंघन भएको मान्न नहुने प्रवक्ता गौतमको जिकिर गरे । नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस