बेइरुत विस्फोटन : लेबनानका प्रधानमन्त्रीद्वारा राजीनामा

एजेन्सी

मंगलबार, २७ साउन २०७७, १३ : ३५
बेइरुत विस्फोटन : लेबनानका प्रधानमन्त्रीद्वारा राजीनामा

बीबीसी । गत मङ्गलवार २०० जनाभन्दा बढीको ज्यान जानेगरी बेइरुतमा भएको विस्फोटनका कारण लेबनानमा जनाक्रोश बढिरहेका बेला प्रधानमन्त्री हसन दीयाबले राजीनामा दिएका छन्।

राष्ट्रिय टेलिभिजनमार्फत् सोमवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दीयाबले पदत्याग गरेको घोषणा गरेका हुन्।

लेबनानीहरूले सरकारमाथि भ्रष्टाचार र अक्षमताको आरोप लगाएका छन्।

आक्रोशित मानिसहरूले लगातार तेस्रो दिन प्रदर्शन गरेका थिए। उनीहरूको प्रहरीसँग झडप भएको थियो।

वर्षौँदेखि बेइरुतस्थित बन्दरगाहमा असुरक्षित रूपमा राखिएको २,७५० टन अमोनीअम नाइट्रेटका कारण उक्त विस्फोटन भएको थियो।

राष्ट्रपति मीसेल आउनले नयाँ सरकार नबनुन्जेल कामचलाउन सरकारका रूपमा अहिलेकै सरकारलाई काम गर्न भनेका छन्।

राजीनामापछि प्रधानमन्त्रीले के भने?
महिनौँको राजनीतिक गतिरोधपश्चात् हसन दीयाब यसै वर्षको ज्यानुअरीमा प्रधानमन्त्री नियुक्त भएका थिए।

उनले आफ्नो सरकारले देशलाई बचाउनका लागि निकै अगाडि बढेर एउटा मार्गचित्र तयार पारेको तर भ्रष्टाचारका कारण त्यसो हुन नसकेको बताए।

कसैको नाम नलिईकन उनले भने, "लेबननमा भ्रष्टाचार 'राष्ट्रभन्दा पनि ठूलो छ' र एउटा धेरै नै बलियो तथा कठिन पर्खालले हामीलाई परिवर्तनबाट बाहिर राखेको छ। त्यो पर्खाल एकखाले वर्गबाट चारै तिरबाट घेरिएको छ, त्यो वर्ग आफ्नो स्वार्थका लागि सबै फोहोरी उपाय गरिरहन्छ।"

"उनीहरूलाई हामी उनीहरूका लागि खतरा हौँ भन्ने थाहा थियो। अनि यो सरकार सफल हुँदा लामो समयदेखि भ्रष्टाचार गरेर देशलाई निस्सासिने बनाएको उक्त सत्ताधारी वर्गमा वास्तवमै परिवर्तन हुनेथियो।"

उनले आफ्नो सम्बोधनमा भने, "आज हामीले सात वर्षदेखि लुकाइएको उक्त दुर्घटनाको कारणका दोषीहरूलाई जबाफदेह बनाउनुपर्ने माग जनताको चाहनालाई अनुसरण गर्छौँ र उनीहरूको वास्तविक परिवर्तनको इच्छालाई पालन गर्छौँ।"

अब के हुन्छ?
प्रधानमन्त्रीले आफूलाई सुधारवादी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको र सुधारका लागि वर्षौँदेखिको भ्रष्टाचारले रोकेको बताएको बीबीसीका मध्यपूर्व संवाददाताले बताएका छन्।

अब संसद्‌ले नयाँ प्रधानमन्त्री चयन गर्नुपर्नेछ। त्यसका लागि प्रदर्शनकारीहरूले समस्याको जड मानेको पुरानै उही साम्प्रदायिक राजनीतिक प्रक्रिया अपनाइनेछ।

देशको जटिल राजनीतिक प्रणालीका कारण यो प्रक्रिया छिटोछरितो छैन। लेबननमा विभिन्न धार्मिक सम्प्रदायबाट प्रतिनिधित्व गर्ने नेताहरूबीच सत्ता बाँडफाँट हुने गर्छ।

सन् १९७५ देखि १९९० सम्म चलेको गृहयुद्धको अन्त्यसँगै कैयौँ लडाकुहरू राजनीतिमा प्रवेश गरेका थिए। अहिले पनि उनीहरूको देशको राजनीति, अर्थतन्त्र र सामाजिक क्षेत्रमा गहिरो प्रभाव रहेको छ।

सडकमा ओर्लिएका धेरै प्रदर्शनकारीहरूले भ्रष्टाचारका लागि यही प्रणालीलाई दोष लगाइरहेका छन्।

विस्फोटनको प्रभाव
गत साता मङ्गलवार बेइरुतमा भएको उक्त विस्फोटनमा परेर निधन हुनेको सङ्ख्या २२० जना पुगेको छ। अझै पनि ११० जना मानिसहरू हराइरहेका छन्। त्यसमा अधिकांश विदेशी कर्मचारी र ट्रकचालकहरू छन्।

घटनामा झन्डै ६,००० मानिस घाइते भएका छन्। यो घटनापछि लेबननमा आर्थिक सङ्कट गहिरिँदै गएको देखिएको छ।

विस्फोटनका कारण लेबननको राजधानी बेइरुतमा कम्तीमा तीन अर्ब डलरको नोक्सान भएको ठानिएको छ। लेबननको अर्थतन्त्रमा १५ अर्ब डलरसम्मको नोक्सानी हुने ठानिएको छ।

विभिन्न देश र संयुक्त राष्ट्रसङ्घीय निकायहरूले पनि लेबननमा मानवीय सहायता पठाउनुका साथै आर्थिक सहयोगको प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस