विचार

समाजसेवा : बुझाई र गराई

शनिबार, २४ साउन २०७७, १५ : ५३
समाजसेवा : बुझाई र गराई

– लक्ष्मी भट्टराई 

हामीबीच ‘समाजसेवा’ शब्द अत्यन्तै लोकप्रिय र हरेक नागरिकले आफूलाई ‘प्रतिष्ठित’ साबित गर्ने फर्मुलाको रुपमा प्रयोग हुने गरेको छ । समाजसेवा के हो ? प्रतिष्ठित ब्यक्तित्वको सूचक र आधार के कसरी निर्धारित गर्ने ? तपाई हामी सबैलाई समाजमा केही न केही काम गरेर नाम राख्न पाए हुन्थ्यो भन्ने इच्छा पक्कै पनि लाग्छ । हामीलाई समाजमा केही देखिने काम गर्न, दुःखीलाई सहयोग गर्न होस् या समाजमा भैपरी आउने सबै खालको काममा आफ्नो सहभागिता रहोस् भन्ने लाग्न सक्छ । यो मानवीय स्वभाव पनि हो । यसका लागि हामी कति निःस्वार्थ रुपमा लागेका छौँ ? हामीले कति उदाहरणीय समाजसेवा गरेका छौं ? फलको आशा गरी वा नगरी आफूलाई कस्तो ‘समाजसेवा’ मा समर्पण गरेका छौं भन्ने कुराले महत्व राखेको हुन्छ । 

हिजो गाउँमा बस्ती पातलो थियो । एक अर्कालाई परेको सुखदुःखमा सरिक रहन आफन्त र छिमेकीहरु मात्र सिमित रहन्थे । ‘मर्दाका मलामी र पर्दाका जन्ती’ । सामुदायिक र कहिलेकाहीँ व्यक्तिगत निर्माणका कार्यमा आपसमा श्रमदान गर्नुको विकल्प थिएन । छिमेकको ठूलो गह्रोमा रोपाईं पर्दा आफन्तहरु सबै पुगेका हुन्थे । दाईं हाल्दा छिमेकीहरु मिलेर टौवा खडा हुन्थ्यो । घर छाउने कामको लागि आफन्तहरुले कहिल्यै ज्याला लिएनन् । दशैँ आउनुभन्दा पहिला मिलेर बाटो खान्थे । गाउँ वरिपरिको झाडी मिलेरै सफा गर्दथे । आपत पर्दा सबै मिलेर छलफल गर्दथे । नियम बनाउँथे, इमान्दारीसाथ त्यसलाई मिलेरै पालना गर्दथे । नियम, कानुन भन्दा पनि धर्ममा बढी विश्वास थियो । राम्रो गरे धर्म र नराम्रो गरे पाप लाग्छ भन्ने बिश्वासले एकअर्कामा सहयोग र सद्भावका साथ नियम पालना गरेको सामाजिक पद्धति हामीमध्ये धेरैले देखे, भोगेका पनि छौं । 

अहिले २१ औं शताब्दी चलिरहेको छ । जनसंख्या निरन्तर बढिरहेको छ । विज्ञानले शिक्षा र सूचना व्यापक बनाइरहेको छ भन्ने कुराको प्रचारप्रसार भैरहेको छ । मानिसहरुले भौतिक निर्माण र सुखसुविधाहरु बिस्तार गरिरहेका छन्, भोगिरहेका छन् । विश्व साँघुरो हुँदैछ, वरपरका मात्रै होइन हामी घरभित्रै बसेर विश्व पढ्न र देख्न सक्ने भएका छौ । यतिबेला हामीले देशभित्र मात्रै होइन, विश्वमा नै समाजका लागि उच्च योगदान पुर्याउनेहरुको काम नियाल्न र ती केही दशक पहिलेका सामाजिक अभ्यासहरुसँग तुलना गर्न पनि सक्छौं । हामी पढेर, देखेर, सुनेर र हेरेर त्यस्ता थुप्रै सामाजिक कार्यको अनुसरण गर्दै अगाडि बढ्न पनि सक्छौँ । मैले अगाडि नै उल्लेख गरिसकेकी छु, यी सबै कार्यहरु गर्दा हाम्रो निःस्वार्थपना कत्तिको छ ? यो कुरा बुझ्न आज दिनानुदिन बिपद्का घडीहरु हाम्रो सामु आइरहेका बेला तुलना गर्न पनि सकिन्छ । 

हामी हाम्रो समाज समृद्ध भएको देख्न चाहन्छौँ । क्रमगत रुपमा भौतिक विकासको महसुस भएको छ, तर हामीले सबैखालको विकास खोजीरहँदा कतै मानवीय संवेदनशीलता र मान्छेभित्रको मानवीयता हराएको त होइन ? मान्छेको भिड ठूलो छ । धेरैसँग सम्पर्क, समन्वय बढ्दै छ । केही अप्ठ्यारो पर्दा घरमा ठुलै भिड पनि देखिन्छ । कतै केही पर्दा थुप्रै सहानुभूति देखाएको जस्तो पनि देखिन्छ । ‘विवाहमा जन्त र मर्दा मलामी’ जस्ता कुरालाई पनि आज समाजसेवाको ठूलै ‘उदाहारण’को रुपमा हिसाब गर्न थालिएको छ । हाम्रो पृष्ठभूमि र परम्परालाई हेर्दा साँच्चै नै के यो समाजसेवा हो त ? अथवा यो मानवीय धर्म, कर्तव्य र जिम्मेवारीभित्र पर्दछ ? जसले हामीलाई सामाजिक नाता कायम राखिराख्न, सामाजिक संरचनालाई सबल राखिरहन, सामाजिक प्राणी भएको नाताले एउटा असल नागरिकको रुपमा आफूलाई सावित गरिरहन र मानवीय संवेदनशीलतालाई उच्च प्राथमिकतामा टिकाई रहने समुदायका रुपमा चिनिएका हामी नेपालीको विशेषता कायम राखिरहोस् ।

समुदायमा आइपर्ने सुखदुःखमा हाम्रो उपस्थितिलाई कसरी लिने हामीले ? कसैको घरमा शुभ कार्य होस् या दुःखद् घटना, आज धेरै मानिसको सहभागिता देख्न सक्छौँ । उदाहरणका लागि मैले जन्ती र मलामी नै यहाँ उल्लेख गर्न चाहन्छु । अहिले सानो खर्चले विवाह गर्न सक्ने अवस्थामा नरहेको हामी देख्न सक्छौँ । छोराको विवाह आँगनदेखि बाटोसम्म थुप्रै जन्ती गाडीघोडा सुटबुटले सजिएका जन्तीहरुको तयारी, बेहुलीको घरमा त्यस्तै तयारी । भोजभतेरको खर्चिलो बन्दोबस्त, तडकभडक अनि त्यहाँ हाम्रो सहभागिता । कतिबेर बस्छौं हामी आफ्नो छिमेकीकोमा जन्ती भएर ? के कति जिम्मेवारी वहन गर्छौं हामीले जन्तीको रुपमा ? भोजभतेरमा सरिक भएपछि त हामीलाई फर्किनु पर्ने हुन्छ । हाम्रो व्यस्तता अन्यत्र पनि धेरै हुन सक्छ । साँझ बेहुली बिदाई गर्ने बेलामा घरका र माइतका निकट नातेदारबाहेक कोही देखिँदैनन् त्यहाँ । हामी भने अर्कोतिर गफ दिइरहेका हुन्छौं – ‘मेरो फलानो बिहेमा महत्वपूर्ण उपस्थिति र भूमिका थियो ।’ के यस्तो उपस्थिति महत्वको भयो त ? के यसले हाम्रो सामाजिक सवाललाई टिकाइराख्ला त ? 

‘मलामी’ को कुरा गर्दा झन् दिक्क लाग्छ । समाजमा आइपर्ने दुःखद घटना कसैको मृत्युमा हाम्रो भूमिका हेरौँ । लामो समयसम्म बिरामी परिरहँदा, औषधिउपचार गर्दा त्यो परिवारले आर्थिक र मानसिक रुपमा भोग्नु परेको दुःखमा हामी के कति जानकार र सहभागी भयौं ? त्यस परिवारको अथक प्रयासपछि भएको मृत्युको खबर थाहा पाएपछिको हतारचाहिँ मलामी जान हुन्छ । लस्करसहित मलामी निस्कँदा लाग्छ होला वरपर बाटोको मान्छेलाई, आज ठुलै मान्छेको मृत्यु भएको रहेछ । घाटमा पुगेको केही समयपछि एउटा हाजिरी रजिस्टरमा उपस्थिति गर्न लगाइन्छ । आफ्नो सहभागिता लेखाउन सबै मलामीलाई हतार हुन्छ । त्यहाँ मृतकको बारेमा छोटो परिचय दिइन्छ अन्तिम श्रद्धाञ्जलीका क्रममा । जिल्लास्तरसम्म नाम चलेको कुनै नेता पनि मलामी गएको रहेछ भने एकछिन पर्खेर भएपनि पार्टीको झण्डा लिन दौडिन्छन् कोही  । त्यतिमात्र हो र ? ती नेतालाई त्यहीं भाषण गर्ने साइतसम्म जुर्छ । दाहसंस्कारको कार्य सुरु समेत हुन पाउँदैन, मलामीहरु फर्कन आतुर हुन्छन् । अन्तिमसम्म बस्ने मलामी ज्यादै नै थोरै संख्यामा हुन्छन् । दाहसँस्कारको कार्य सकेर फर्किंदा घरपरिवार र केही नातागोतामात्रै त्यहाँ देखिन्छन् । १३ औं दिनको अवधिसम्म अनुहार देखाउनेहरुको भिड र उनीहरुमध्ये सबैको त्यहाँ पुग्नुको उद्देश्य पनि व्यावहारिक किसिमले त्यति प्रिय लाग्दैन । 

हामी कहिले राजनैतिक पार्टी, कहिले जातजाति, कहिले क्षेत्रीयताको बहानामा यस्तो ठाउँमा पुग्छौँ । बिहानदेखि बेलुकासम्म घरका मानिसहरुको मानसिक, शारीरिक अवस्थाको ख्यालै नगरी कहिले शोक सन्देश सुन्नका लागि, कहिले मौनधारण गर्नका लागि त कहिले राजनैतिक पार्टीका नेताको भाषण नै सुन्नका लागि निकै पटक किरियापुत्रीहरु नचाहँदा नचाहँदै उठबस गर्न बाध्य हुन्छन् । मृत्यु भएको दिनदेखि १३ दिनसम्म मान्छेको आवतजावत, समवेदना, श्रद्धाञ्जली भ्याइनभ्याई हुने तर १३ दिन पुगेपछि त्यो घरको अवस्था र हामीले गर्नु पर्ने केही सहयोगमा हाम्रो भूमिका नखोज्ने ? टुहुरा बालबच्चा, बुढेसकालमा सहारा गुमाएका बुबाआमा, एउटा ठूलो चोट बोकेकी एकल महिला र त्यस परिवारका दुःखी सदस्यहरु भेट्न के हामी फर्किएर पुगेका छौ ? 

एउटा मानिसको मृत्युपछि घाटसम्म पुगियो, हाजिर गरियो । परिवारका मान्छेहरु घरसम्म पुगे । बीचमा एकदुई पटक अनुहार देखाउन त्यहाँ पुगियो । बस्, हाम्रो मानवीय कर्तव्य पूरा भयो ? यसले नै हो त हाम्रो सामाजिक संरचना थाम्ने ? यतिले नै हाम्रा सामाजिक अगुवाका हतियारहरु धारिलो बनाइराख्न पुग्यो त ? मलाई यस्ता कुराहरु यहाँ यसकारण जोड्न मन लाग्यो कि आजभोलि समाजसेवामार्फत थुप्रै र अत्यन्तै राम्रा प्रयास र उपलब्धिहरु भएको, देख्न, सुन्न र अनुभव समेत गर्न पाएका छौँ, तर हामी समाजसेवा भनेर दौडधुप गरिरहँदा हाम्रा पुर्खाहरुले निरन्तर अभ्यास गरिरहेका राम्रा र उदाहरणीय समाजसेवाका नमूनाहरु भुल्नाले मानवीय संवेदनशीलतामा ह्रास आइरहेको त छैन ? आफ्नो मानवीय कर्तव्यका रुपमा योगदान गरेको हाम्रो समयको हिसाब पूराका पूरा गणितीय रुपमा नै फिर्ता आउनु पर्छ भन्ने उद्देश्यले हामीलाई ग्रस्त बनाएको त होइन ? 

मैले बुझेको समजसेवाको मान्यता त निःशुल्क र निःशर्त हुनु पर्छ भन्ने पो हो त । अनुहार देखाउने, हाजिर गर्ने, भाषण गर्ने, फोटो खिचेर फेसबुकमा राखेर समाजसेवाको स्टाटस लेख्ने होडबाजीलाइ कुन हदसम्म समाजसेवाको मान्यता दिने वा निरुत्साहित गर्ने ? अथवा समयानुकुल आएका अवधारणाहरुमा समीक्षा गरेर परिमार्जित विचारहरुलाई परिभाषित गरी कार्यान्वयन गर्ने कुरामा छलफल चलाउँदै जानुले नाम चलेको हाम्रो सबल सामाजिक संरचनालाई कायम राख्न स्वार्थभन्दा माथि उठेका संस्थाहरुले एउटा अभियानका लागि पहल गर्न उपयुक्त हुन्छ भन्ने कुरामा मलाई विश्वास छ । अब सबै मिलेर स्वार्थभन्दा माथि रहेर काम गर्छौं भन्ने मूल्य र मान्यतालाई प्रमाणित गरौँ ।

प्रतिक्रिया दिनुहोस