पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने

सफल खबर संवाददाता

शुक्रबार, १९ मंसिर २०८२, ०६ : ३५
पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणका लागि भारतको राजधानी दिल्ली आइपुगेका छन्। विश्वले विशेष चासोका साथ हेरेको यस भ्रमणका क्रममा रूस र भारतबीच रक्षा सम्बन्धलाई गहिरो बनाउने उद्देश्य रहेको बताइएको छ।

नयाँदिल्लीले मस्कोबाट तेल खरिद गर्न रोक्नका लागि अमेरिकाको कडा दबाबको सामना गरिरहेको छ। युक्रेन युद्धपछि भारतको पहिलो भ्रमणमा रहेका पुटिनसँगै उनका रक्षामन्त्री एन्ड्रे बेल्उसोभ पनि सहभागी छन् । भारतमा लडाकु विमान तथा हवाई रक्षा प्रणालीसम्बन्धी सम्भावित सम्झौताहरूमा छलफल हुने अपेक्षा गरिएको छ।

भारत आइपुगेपछि पुटिनले भनेका छन्, “म ‘मेरो मित्र’ मोदीलाई भेट्न पाउँदा ‘धेरै खुसी’ छु।” “भारतसँग हाम्रो सहयोगको दायरा विशाल छ,” उनले रूसी भाषामा भनेका छन् । सहयोगको दायरामा जहाज र विमान निर्माण, आणविक ऊर्जा र अन्तरिक्ष अन्वेषणलगायतका क्षेत्रलाई समेटिएको इन्डिया टुडेले भारतीय तथा रूसी अधिकारीलाई उद्धृत गर्दै लेखेको छ।

भारतीय प्रधानमन्त्रीले पनि आफ्ना मित्र तथा रूसी राष्ट्रपति पुटिनलाई भारतमा स्वागत गर्न पाउँदा आफू ‘अत्यन्तै खुशी” भएको बताएका छन्। मोदी र पुटिनबीच दुवै देशका प्रतिनिधिसहित शिखर बैठक हुनेछ।

भारतले रणनीतिक रुसी तेल आयातमा निर्भर रहँदै जारी भन्सार शुल्क वार्ताको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तेजित नगर्ने प्रयास गरिरहेको बेला व्यापारिक सम्बन्ध प्रमुख रूपमा अगाडि आउने अपेक्षा गरिएको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसको उन्नत एस–४०० हवाई रक्षा प्रणालीको भारतमा आपूर्ति विस्तार गर्ने एजेन्डामा वार्ता केन्द्रित रहने बताएका छन्।

भारतीय सञ्चारमाध्यमका रिपोर्ट अनुसार मस्कोले रुसको एसयु–५७ लडाकु विमानको सह–उत्पादनको प्रस्ताव गर्नेछ। भारत विश्वको शीर्ष हतियार आयातकर्ता मध्ये एक हो र रुस लामो समयदेखि एक प्रमुख आपूर्तिकर्ता रहँदै आएको छ।

स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानका अनुसार, भारतको हतियार आयातमा रुसको हिस्सा २००९–१३ मा ७६ प्रतिशतबाट घटेर २०१९–२३ मा ३६ प्रतिशतमा पुगेको छ।