फाटेको जालैले छेकेको, छेके पनि छर्लङ्गै देखेको !

शुक्रबार, २३ साउन २०७७, १७ : ५०
फाटेको जालैले छेकेको, छेके पनि छर्लङ्गै देखेको !

– प्रमोद तिवारी

– प्रमोद तिवारीस्वर्गीय दाइ खुशिराम पाख्रीन व्यंग्य गर्दै आफ्नो गीतमा स्वर फुलाइ फुलाइ भन्ने गर्नुहुन्थ्यो :
फाटेको जालैले छेकेको, 
छेके पनि छर्लङ्गै देखेको,
हेर गाउंले हो
छर्लङ्गै देखेको देशमा के के हो ! ...........

यो गीत म रामपुरमा आइ एस्सि एजि पढ्ने क्रममा उनी, उनकी छोरी र बहिनी मिलेर संगीत र गायन मार्फत हाम्रा बिद्रोही भावनालाई उजागर गर्ने गर्नुहुन्थ्यो । उहाँका सांगीतिक यात्रा अबिरल बगिरहन्थ्यो देश र जनताको पक्षमा । यस्तै यस्तै देश र जनताको पक्षमा यथार्थपरक गीत रचना गर्दै गाउँदै हिड्नुहुन्थ्यो उहाँ । गरिब मजदुरको कथा, जनताले पाएको दुःख र हाम्रो विकास निर्माणको सन्दर्भलाई उजागर गर्ने सिलसिलामा उहाँले रचेको गीतले हाम्रो समाजको ठ्याक्कै चित्रण गर्ने हुनाले यहाँ उल्लेख गर्न सान्दर्भिक लागेर प्रस्तुत गरेको छु ः
गैची बेल्चा उचालेर, भिरपाखा छिचालेर,
डांडाकांडा बाटो बनायो,
के खायोनी कुल्ली दाइले ? के पायोनी कुल्ली भाइले ?
अर्कैले पैसा कमायो ! ..........
हाम्रो जीवन नचिन्नेलाइ, हाम्लाइ मान्छे नगन्नेलाइ,
हामीले पनि अब चिन्याछौं,
भिरमा खेल्ने साहसहरु, बैरी मास्ने तागतहरु
संघर्षमा अब लगाइदिउं ।

हो यो गितले भनेजस्तै पिडादायी थियो हिजोको अवस्था ! विकास निर्माण भन्दै सरकारको निर्देशनलाई सिरोधार्य गर्दै गाउँ गाउँबाट जनताहरु उर्लेर मोटरबाटो खनेको आजपनी मेरो मानसपटलमा ताजा छंदैछ । जनसहभागिताको अत्यन्तै उच्चतम नमुना प्रदर्शन गर्दै विकासको मुल फुटाउने सवालमा जहाँ आम जनतालेपनि श्रमदान गरेर, हाम्रा हातमा ठेला उठाएर बाटो बनाएको हामिले भुलेका छैनौं ।

तर आज त्यो परिस्थिती छैन जहाँ हामिले बनाएको बाटोमा सरकारले बिना कर हिड्ने अनुमती दिंदैन । किनकी सरकार पुंजिपतिको वकालत गर्छ र भन्छ यो तिमिजस्ता श्रमजीवीको व्यवस्था हैन, यो त सरकारको सम्पत्ति हो र यहाँ गुड्ने सवारीसाधन चढ्नेहरु र गुडाउनेहरुले सरकारलाई यसको उपयोग गरेबापत करको ठुलै भार बोक्नुपर्छ ।

सरकार यति धेरै निर्दयी छ कि गरिब भन्दा गरिबले जीवन निर्वाहको लागि पालेका कुखुरा, बाख्रा, र अन्य चौपायमा पनि कर उठाउने गर्छ । संविधान भन्छ राज्यले अब समाजवाद उन्मुख अर्थव्यवस्थाको अंगिकार गर्नेछ । यसको मतलब उपल्लो र धनी बर्गका मान्छेबाट अधिकतम कर उठाइ गरिब र निम्न मध्यम बर्गका जनताको हितमा समेत बितरण गर्नु हो । अर्थात जनताबाट उठाएको हरेक कर बापतको रकम जनताकै हितमा अधिकतम खर्च गर्नु हो ।

Progressive taxation can be positively associated with happiness, the subjective well-being of nations and citizen satisfaction with public goods, such as education and transportation.

समाजवादी अर्थ व्यवस्थाको प्रमुख आधार भनेको प्रगतिशील कर प्रणाली अपनाउनु पनि हो । प्रगतिशील कर प्रणाली देश र जनताको हित र खुशीसंग सकारात्मक प्रकारले जोडिएको हुन्छ अर्थात शिक्षा, स्वास्थ्य, सडक पुर्वाधार विकास र मर्मतजस्ता जनउपयोगी क्षेत्रमा प्राप्त कर खर्च गरिन्छ । तर हाम्रो बिडम्बना बिल्कुल उल्टो छ । जनतालाई गरिब भन्दा गरिब बनाउने गरि ढाड सेकेर उठाएको कर समाजवादी नेताहरुले भान्सा गर्छन र उनिहरुको स्तर सगरमाथा छुने अभियानमा लामबद्ध हुन्छन भने दैनिक ज्यालादारी गर्ने गरिब भने आफ्नो गाँस काटेर सामाजिक सुरक्षा कर मार्फत धनीलाई थप धनी बनाउन योगदान दिन्छन ।

यी त भए केही भावनात्मक र सैद्धान्तिक पक्ष । अब थोरै कुरा गरौं हामिले भोगेका ब्यवहारिक पक्ष :
हो म देशका आम गरिब जनताभन्दा केही थोरै बढी हैसियत भएको मान्छे ! किनकी मैले मेरो सम्पुर्ण जीवन सार्वजनिक हितमा बिताएबापत अवकास हुँदा पाएको सुबिधामा ऋणधन थपेर एउटा गाडी किनें । यो गाडी खरिद र संचालन गरेबापत बर्सेनि डाइरेक्ट कर मार्फत हजारौं र इनडाइरेक्ट मार्फत पनि हजारौं कर तिनुपर्छ मैले । तर जनताले तिरेको करबापत सरकारले हामिलाई दिनुपर्ने सामान्य सुबिधाबाट पनि किन बन्चित गर्छ सरकार ? 

म आज यसै बिषयमा मैले वास्तविक रुपमा भोगेको उदाहरण प्रस्तुत गर्न चाहन्छु । म करिब १ महिना अगाडि बुटवल गएको थिएं । त्यतिखेर अरुणखोला, दुम्किवास, दाउन्नेको उकालो ओरालो बाटो पुरै समस्याग्रस्त थियो । अस्ति फेरि एउटा जरुरी कामले फेरि त्यता जानुपर्ने भएकोले फेरि त्यसतर्फ प्रस्थान गरें । तर अहिले त ती सडकखण्ड मात्रै हैन, गैंडाकोटदेखि शुरु हुँदै दुम्कीवाससम्मको बाटोमा हरेक १०–२० मिटरको फरकमा परेका ठुला ठुला खाल्डोले निकै सकसपुर्ण त बनायो भने दुम्कीवासदेखि बर्दघाटसम्मको बाटो त झनै पुर्णरुपमा क्षतिग्रस्त भेटियो । त्यहाँ सडक थिएन, पुरै बाटो ढाक्नेगरि भएका ठूलाठूला खाल्डाखुल्डी पार गर्न कति सकस भयो होला ! यो त एउटा उदाहरण मात्रै हो, यस्ता सडक समस्या अहिले देशैभरी छ । काठमाडौमा कुलमान घिसिङको संज्ञा दिइएका र  रातारात खाल्डो पुरेर नायक कहलाइएका सडकमन्त्री नेवाङलाई आज फेरि ती सडकले जिस्काइरहेको उदाहरण उनैको नाकमुनी देख्न पाइन्छ ।

गाडी चलाउने क्रममा सडकभरी हिड्नै नमिल्नेगरी पुर्णरुपमा बाटोभरी कतै बांकी नरहनेगरी भएका खाल्डा पार गर्नै नसकिने रहेछ । मेरो कार मात्रै हैन जीप पनि ती सडकका खाल्डा पारगर्ने क्रममा थुप्रै ठाउँमा ढ्याङ्राङ्ग ढ्याङ्राङ्ग ठोकिन्थ्यो  । अनि गाडी ठोक्किंदा मेरो मन चसक्क दुख्थ्यो अनि यो सिंहदरबार भित्रमात्र सिमित रहने र करमार्फत जनता लुट्ने समाजवादी बाटो अंगालेको सरकारको झल्झल्ती सम्झना आउंथ्यो ।

बिचरा मेरो सरकार ! बिचरा मेरो प्रधानमन्त्री ! बिचरा मेरो सडक मन्त्री ! बिचरा मेरो कर मन्त्री ! बिचरा मेरो गण्डकी प्रदेशको सरकार ! 

के थाहा है तिमिहरुलाई सडकमा कत्रा कत्रा खाल्डा छन ? तिमिहरुलाई कतिले सराप्छन होला है ? तर के थाहा ती सवारी धनीहरु र यात्रुहरुलाई कि हाम्रा प्रधानमन्त्री र मन्त्रीहरूलाई आफ्नै कुर्ची फुत्किन्छकी भनेर रातसांझ अंगालो हालेर बस्नुपर्ने बेलामा खाल्डो हेर्ने फुर्सद कहाँ पाउनु !  बिचरा बल्लबल्ल कति देवी देवतालाई भाकल गरेर मिलेको कुर्ची फुत्कियो भने के गर्ने ? जहाजै डुब्छ । त्यसै भएर होला हाम्रा प्रधानमन्त्री र मन्त्रीहरु आफ्नो कुर्ची जोगाउन रात दिन सिंहदरवार र वालुवाटारमा नजरबन्दमा छन अनि कहिले फुर्सद पाउनु र बाहिर निस्कनु ! उता ती सडकका खाल्डा छोप्ने गरेर उनिहरुका आसेपासेहरु महान र दुई तिहाइको सरकारका सम्माननीय र माननीयहरुको कुर्ची कसैले नखोसोस भन्दै सडकमा कुर्लिरहेका छन कि यो जस्तो विकास कुनै सरकारले न हिजो गरेको थियो र न भोलि कसैले गर्न सक्छ भनेर सडकमा नारा जुलुस गर्दै कोरोना सार्नमा व्यस्त छन । 

सरकार अहिले संबैधानिक मर्मको ठिक बिपरित निर्लज्ज रुपमा खरबौं आम्दानीगर्ने कम्पनिलाई अर्बौं कर मिनाहा गर्छ र गरिबमार्फत त्यसको क्षतिपुर्ती भराउने गर्छ यो समाजवाद उन्मुख भनाउने सरकार ! तर बिडम्बना अस्ति भर्खरै मात्र कोरोना नियन्त्रणमा सफलता पाएको नदेख्नेहरुलाई मोतिबिन्दु लागेको भन्दै थिय एकजना मन्त्रीले । हो त्यसरीनै अब सडकमा खाल्डा खुल्डी र धुलो देख्ने जनतालाई रतन्धो भएको भन्न बेर छैन अर्का मन्त्रीले । त्यसैले अब त सडकमा हिड्दा उडेको धुलो कम गराउन ती मन्त्रीको सिफारिसमा अर्थमन्त्रीज्युले धुलो कर नलगाउलान भन्न सकिन्न ।