माओवादीमा परिवार सदस्य नेताको सचिवालयमा बस्न वन्देज !

सफल खबर संवाददाता

विहीबार, ०६ कार्तिक २०८२, १० : १६
माओवादीमा परिवार सदस्य नेताको सचिवालयमा बस्न वन्देज !

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी रुपान्तरणका लागि नयाँ कार्यविधि निर्माण गरिरहेको छ । अब बस्ने पार्टी महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा लगेर उक्त कार्यविधि अनुमोदन गर्ने तयारी माओवादीले गरेको छ । सचिवालयले अनुमोदन गरेपछि त्यस्तो कार्यविधि कार्यान्वयनमा लैजाने तयारी छ ।

माओवादीका एक सचिवालय सदस्यका अनुसार, कार्यविधिमा अब देखि माओवादी जुनकुनै तहका नेताले आफ्नै परिवारका सदस्यलाई आफ्नै सचिवालयमा राख्न नपाउने देखि नियुक्ति लगायत अवसरका सन्दर्भमा पनि आचारसंहिता निर्माण गरेर जानेसम्मका योजना तयार पारिरहेको छ ।

 

त्यसको सुरुवात पार्टी संयोजक प्रचण्डको सचिवालयबाट पारम्भ समेत गरिसकिएको माओवादीले जनाएको छ । नेताका छोराछोरी आफ्नै बाबुआमाको सचिवालयमा बस्दा त्यसले जनतामा र पार्टी भित्र समेत नकारात्मक सन्देश गएको र सकारात्मक सन्देश दिनका लागि पनि परिवार सदस्यलाई सचिवालयमा नराख्ने गरी कार्यविधि निर्माण गरेरै कार्यान्वयनमा लैजान लागिएको माओवादीले जनाएको छ ।

त्यसको मस्यौदा पार्टी संयोजक प्रचण्डले सहयोगी नेताहरुमार्फत तयार पारिसकेका छन् । प्रचण्डले आफ्नो सचिवालयबाट छोरी गंगा दाहाललाई पार्टीका अन्य कामको जिम्मा दिने तर सचिवालयमा नराख्ने गरी कार्यविधि निर्माण अगावै अव पार्टीमा गर्न खोजिएको रुपान्तरणको संकेत दिईसकेका छन् । 

प्रचण्डको सचिवालयबाट छोरी गंगाले सोमबार राजीनामा दिईसकेकी छिन् । उनले सामाजिक सन्जालमै लेखेर आफुले सचिवालय छोडेको पुष्टि गरिसकेकी छिन् । 

‘निरन्तर मलाई देखाएर नेकपा ९माओवादी केन्द्र०का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निस्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजिनामा दिएको छु’ गंगाले भनेकी छिन्,‘पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु।’

माओवादीले तयार पारिरहेको यो कार्यविधि अब बस्ने पार्टी महाधिवशेन आयोजक समितिको सचिवालयले अनुमोदन गरेपछि कडाईपूर्वक कार्यान्वयनमा आउनेछ । सचिवालय बैठक तिहार र छठ पर्व सकिए लगत्तै बस्ने तयारी छ । उक्त बैठकपछि कुनै पनि नेताले आफ्नै परिवारका सदस्यलाई आफनो सचिवालयमा राख्न पाउने छैनन । त्यसका अतिरिक्त पार्टीका तर्फबाट हुने जुनकुनै क्षेत्रका नियुक्ति, राजनीतिक लाभ, अवसर लगायतका काममा पनि पार्टीको सम्वन्धित विभाग, कमिटि वा जनसंगठनको निर्णयका आधारमा मात्र निर्णय लिइने गरी कार्यविधि समेत विकास गर्न लागिएको माओवादीले जनाएको छ । 

यसो हुँदा पार्टी स– साना कामबाटै रुपान्तरणको दिशामा जाने र पार्टीमा नयाँ उर्जा र विश्वास विकास गरेर जान सकिने माओवादीले जनाएको छ ।

 

उसले विगतमा विभाजित भएका माओवादी धारका नेता कार्यकर्तालाई सक्दा पार्टी एकतासम्मै , नभएपनि विभाजित पार्टीभित्र छरिएर रहेका नेता कार्यकर्तालाई गोलबद्द गरेर जाने नितिमा काम गर्न लागेको छ । त्यसका लागि पनि तयारी र छलफलका काम भईरहेको माओवादी नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस