महोत्तरी । महोत्तरीसहित तराई-मधेशका अधिकांश क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ ।
सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने धनतेरस गत शनिबार नै मनाइँदा छ दिनको भएको छ । त्यसैले गत शनिबार सुरु भएको दीपावली आज ‘भैयादुज’ मनाएर सकिने छ ।
मिथिलामा भरद्वितीया र भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई सामान्यतया आफ्नै घरमा आउन निम्ता गर्छन् । यद्यपि, दिदीबहिनी माइतीमा आएर पनि पर्व मनाउने प्रचलन छ । अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा रहँदै आएको छ ।
विवाहित बहिनीले भने दाजुभाइलाई निम्ता गर्ने चलन छ । निम्ता मान्न जाने दाजुभाइले नयाँ वस्त्र, आभूषण कोसेली लिएर जाने गर्छन् । पर्वमा दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइ बसाउँछन् ।
टाढाबाट थाकेर आएका दाजुभाइको गोडा कोपरामा राखेर तातोपानीले धुइन्छ । त्यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीले सप्तरङ्गी टीका लगाइ दिने गर्छन् ।
यमपञ्चकमा पर्वते मूलका र मैथिल हिन्दूको पर्व मनाउने पौराणिक कथावस्तुभने एउटै पाइन्छ । अघि सत्ययुगमा राजा वलिका बहिनीहरु गङ्गा र यमुनाले देवतासँगको युद्धअघि दाजुको सौर्यवृद्धि, युद्धमा विजय, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइ दिएका कथा नै यो पर्वको आधार रहँदै आएको मिथिला लोकपरम्पराका जानकार संस्कृतिविद् जलेश्वर–५ का ध्रुव राय बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ कार्तिक २०८२, ०७ : २५
लेखकबाट थप