फ्रान्सका राष्ट्रपति आकस्मिक रूपमा लेबनान जाने

एजेन्सी

बुधबार, २१ साउन २०७७, २१ : २०
फ्रान्सका राष्ट्रपति आकस्मिक रूपमा लेबनान जाने

 काठमाडौं । फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोनले आकस्मिक रूपमा लेबनानको भ्रमण गर्नुहुने भएको छ । लेबनानको राजधानी बेरुतमा मङ्गलबार भएको विनाशकारी घटनाका बारेमा सहानुभूति व्यक्त गर्न उहाँले बिहीबार लेबनानको भ्रमण गर्न लाग्नुभएको जनाइएको छ । 

राष्ट्रपतिको कार्यालयले भनेको छ, “राष्ट्रपति म्याक्रोन बिहीबार लेबनान जानुहुनेछ र राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुहुनेछ ।” उहाँको यो भ्रमण आकस्मिक भएको र छिमेकीको रूपमा एउटा देशले अर्को देशप्रति देखाउने सहानुभूतिका लागि हुन लागेको अधिकारीहरूको भनाइ छ । 

लेबनानको राजधानी बेरुतमा मङ्गलबार राति अबेर भएको शक्तिशाली विस्फोटनको घटनामा परी एक सयभन्दा बढीको मृत्यु भएको छ । त्यसैगरी अरू चार हजारभन्दा बढी घाइते भएका कारण बेरुतका सवै जसो अस्पताल खचाखच भरिएको समाचारमा जनाइएको छ । 

 बेरुतका अधिकारीका अनुसार बेरुत सहरका झण्डै आधा घरमा क्षति पुगेको छ । अहिले लेबनान र मध्यपूर्वी देशहरू नै त्रसित अवस्थामा रहेका छन् । घटनाका बारेमा संसारभरिबाट आलोचना भइरहेको छ भने कतिपयले लेबनानलाई सहयोगको घोषणा पनि गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस