अध्यक्षद्धय ओली र प्रचण्डलाई यस्तो छ, हरिबोल गजुरेलको ६ बुँदे सुझाव...

सफल खबर संवाददाता

आइतबार, १८ साउन २०७७, १० : ४०
अध्यक्षद्धय ओली र प्रचण्डलाई यस्तो छ, हरिबोल गजुरेलको ६ बुँदे सुझाव...

काठमाडौं । नेकपाभित्र अन्तरसंर्घष चुलिदो छ । विवाद समाधानको अचुक अस्त्र नेताहरुले फेला पार्न अझै सकेका छैनन । पार्टी विभाजनको खतरा रहेको भन्दै स्थायी समिति सदस्य हरिबोल गजुरेलले ओली–प्रचण्डलाई समझदारी गर्न ६ बुँदे प्रस्ताव गरेका छन् । पार्टीमा आएको समस्याका कारण पार्टी फुट्न सक्ने खतराबाट पार्टीलाई बचाउन समन्वयकारी भूमिका निर्वाह गर्दै दुबै अध्यक्ष र अन्य नेताहरुकोमा पनि उनी दौडधुप गरिरहेका छन् ।

भर्खरै एकता भएको पार्टी कुनै पनि हालतमा फुट्नु हुदैन भनेर दृढताका साथ एकता जोगाउनु पर्ने उनको मत छ । तर यो आफ्नो दौडधुपलाई लिएर अध्यक्ष प्रचण्डको साथ छोडेको, असहयोग गर्न लागेको भन्ने कुरामा भने कुनै सत्यता नरहेको उनको भनाई छ । पार्टी एकता बचाउन अध्यक्षद्वयले आफ्नो आचरणमा परिवर्तन ल्याउनुपर्ने, पार्टी संचालनको तरिका बदल्नु पर्ने, संगठनमा नेता कार्यकर्ताको मूल्याङ्कन गर्ने पद्धति विकास गर्नुपर्ने र सबै तहका नेता–कार्यकर्ता अनिवार्य उत्पादन इकाइमा जाडिएर सफल परिणाम दिनुपर्ने लगायतका सुझाव राखेका छन् । 

यस्ता छन्, हरिबोलका ६ वुँदे प्रस्ताव :

१. नयाँ संविधान बन्यो । निर्वाचनपछि वाम गठबन्धनको वर्चश्व सहितको नयाँ संसद र स्पष्ट जनादेश प्राप्त एकीकृत पार्टीको नेतृत्वमा नयाँ सरकार बन्यो । तर नयाँ सविधानको स्प्रिट अनुसार ती संस्थाहरु चलिरहेका छैनन् । पुरानै संंसदीय अभ्यासले निरन्तरता पाईरहेको छ । संविधानको सारतत्वअनुसार राजनीतक दलहरु अर्थात सरकार पक्ष र प्रतिपक्ष चल्न सकेका छैनन् ।

पुरानै अभ्यास र आचरणले निरन्तरता पाउदा जनताको चेतना अगाडि र राजनीतिक पार्टीहरुको चेतना पछाडि देखिन्छ । यो शुभ संकेत होईन । समयमै गंभीर भएर नयाँ संविधानको अन्र्तवस्तु अनुरुप आचरण गर्न सकिएन भने पुरानो संसदीय ब्यवस्था सम्बन्धि लेनिनको भनाई आकर्षण हुने संभावना बढ्दै गईरहेको छ । यसको फाईदा पश्चगामी र यथास्थितिवादीले उठाई रहेका छन् ।

२. ऐतिहासिक भूमिका निर्वाह गरेका भिन्न पृष्ठभूमिका दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २००६ सालको कम्युनिष्ट पार्टीको निरन्तरता होइन, क्रमभंग हो । यो रुपमा पुरानो जस्तो देखिए पनि सारमा नयाँ पार्टी हो । नयाँ पार्टी संचालन गर्न नयाँ विधि, नयाँ नीति, नयाँ संगठनात्मक संरचना, शक्ति विन्यास्, नयाँ कार्यशैली र आचरणको आवश्यकता पर्छ । नयाँ पार्टीलाई नयाँ तरिकाले संचालन गर्नुपर्ने हुन्छ तर हामी पुरानै तरिकाले संचालन गरिरहेका छां । फलस्वरुप नेकपा गोलचक्करमा फसिरहेको छ । जनता निरास हुँदै गईरहेका छन् ।

गाडीमा नयाँ प्रणाली विकास भयो भने या त पुरानो ड्राइभरले नयाँ प्रणाली अनुरुप आफूलाई अपग्रेड गर्नुप¥यो, या नयाँ सिस्टम जानेको ड्राइभर राख्नुप¥यो । मैले ३०÷४० वर्षदेखि गाडी चलाउदै आएको भनेर पुरानै तरिकाले गाडी चलायो भने नयाँ सिस्टम ध्वस्त हुने मात्रै होइन, दुर्घटना पनि हुन्छ । अहिले पार्टी, सरकार र संसद यसै प्रकारको दुर्घटनातिर अग्रसर छ ।

३. अहिले हाम्रो पार्टीमा पैदा भएका समस्या व्यक्तिको कारणले मात्रै हो कि नयाँ विधि, आचरण र कार्यशैलीको विकास हुन नसकेर भएको हो भन्ने बहस आवश्यक देखिन्छ । व्यक्तिका कमजोरी छन् तर व्यक्ति मात्रै बदलेर समस्याको समाधान हुदैन । मेसिनमा पुरानै डायस छ भने व्यक्ति बदलेर पनि समस्या हल हुदैन । हामीले डायसमा केही सुधार वा नयाँ डायस निर्माण गरेर मात्र यो समस्याको समाधान गर्न सकिन्छ । डायसमा पैदा भएको समस्या हल गरेपछि व्यक्तिको छनौटले अर्थ राख्छ ।

४. अहिले कोरोना विरुद्धको संघर्ष र आसन्न बजेट अधिवेशनका कारण संक्रमणकालीन ब्यवस्थापन गर्नुपर्दछ । संगठनमा र सरकारको कामका सन्दर्भमा नमिलेका कुराहरु मिलाउदै जानु पर्छ । संसद र सरकारका कामलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानिय तहमा सरकार संचालन गर्न राजनीतिक संयत्र बनाउनु पर्दछ । तीन तहबीच समन्वय गर्न एउटा समिति बनाउनु पर्छ ।

५. तत्काल हरेक तहको पार्टी कमिटीमा मुल्याड्कन समिति निर्माण गरेर वर्तमानमा भईरहेका विधि—पद्धत्तिको पालना नगर्ने अराजक प्रवृत्ति, गुटग्रस्त मानसिकता र गतिविधि तथा नेताको वरिपरि धुमिरहने गणेश प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी छ । मूल्याड्नमा नम्बर घट्ने वा बढ्ने कारणले नेताकार्यकर्ता स्वतः विधि, पद्धत्ति र अनुशानको पालना गर्न थाल्नेछन् । यसका लागि संगठन विभाग र अनुशासन आयोगले कार्यशैली र जीवनशैली सम्बन्धि केही नियम सहित आचारसंहिता बनाउनु पर्दछ ।

६. नेता—कार्यकर्तालाई जिम्मेवारीे दिने सम्बन्धमा केही नयाँ अभ्यास गर्नु जरुरी छ । कोरोनाले मानिसको जीवन र अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभावलाई न्यूनिकरण गर्न हरेक नेता कार्यकर्ताले संगठनात्मक कार्यलाई केद्रमा राखेर सार्वजनिक काम र उत्पादन कार्यको नेतृत्व गर्नु पर्दछ । यो अभ्यासले उत्पादन बृद्धि र समाजलाई ब्यवस्थित गर्नुका साथै ढाँटछल, कमिसन, भ्रष्टाचार, ठगिबाट गुट चलाउने र जीवनयापन गर्ने वर्तमान प्रचलन न्यूनिकरण हुदै जानेछ ।