कैलाली-कञ्‍चनपुर डुबानमा, ५६०० परिवार विस्थापित

पत्रपत्रिकाबाट

विहीबार, १५ साउन २०७७, ०७ : ०६
कैलाली-कञ्‍चनपुर डुबानमा, ५६०० परिवार विस्थापित

काठमाडौं । धनगढी, टीकापुर, महेन्द्रनगर — मंगलबार रातिदेखि बुधबार दिनभरि परेको अविरल वर्षाले कैलालीका विभिन्न बस्ती आसपासका खहरे, खोला र नदीमा आएको बाढीले पूर्वोत्तर क्षेत्र पूरै डुबानमा परेको छ । बाढीले बगाएर भजनी नगरपालिका–८ का तीन जना बेपत्ता भएका छन् । डुबान क्षेत्रमा पाँच हजारभन्दा बढी परिवार विस्थापित छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक विष्टका अनुसार हुलाकी सडकखण्डमा पर्ने भजनी–८ सुनाफाँटाका ईश्वरी शाह, चक्र विक र स्केल चौधरी बेपत्ता भएका छन् । ११ वर्षीय चौधरी घरनजिकै कुलोमा बगेर बेपत्ता भएका हुन् भने हुलाकी सडकमा बाढी तरेर आइरहेका चार जनामध्ये ईश्वर र चक्र बेपत्ता भएका हुन् । बिक्की शाह र हेमन्त शाहको स्थानीयले उद्धार गरेका थिए ।

मोहना, कान्ध्रा, काडा, पथरिया र कर्णालीको भँगालोमा आएको बाढीले भजनी, टीकापुर नगरपालिका, जोशीपुर, जानकी, बर्दगोरिया र कैलारी गाउँपालिकाका दर्जनौं बस्ती डुबानमा परेका छन् । उद्धारमा स्थानीय प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीय तहको उद्धार टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।

प्रजिअ बोहराका अनुसार भजनी नगरपालिकामा १ हजार ८ सय ८०, जानकी गाउँपालिकामा १ हजार, जोशीपुरमा २ हजार ३ सय १५ र टीकापुर नगरपालिकामा ५ सयजति परिवार विस्थापित भएका छन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस