नेकपा स्थायी समिति बैठक आज : यस्तो बन्दै छ समीकरण

पत्रपत्रिकाबाट

मंगलबार, १३ साउन २०७७, ०६ : ५८
नेकपा स्थायी समिति बैठक आज : यस्तो बन्दै छ समीकरण

काठमाडौं । नेकपा स्थायी समिति बैठक कुन रूपमा टुंग्याउने भनेर दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा विवाद जस्ताको तस्तै छ । दुवै पक्ष आआफ्नो अडानमा टसमस नभएकाले मंगलबार बोलाइएको बैठक राख्ने/नराख्ने विषयमै मतभेद हुने अवस्था देखिएको छ ।

१० असारदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषयले प्रवेश पाएपछि विवाद उत्कर्षमा छ । पार्टी महाधिवेशनमा गएर अध्यक्ष ओलीले सम्मानजनक नेतृत्व हस्तान्तरण गर्ने या महाधिवेशनपूर्व नै ओलीको विकल्प खोजेर जाने भन्नेमै नेकपा शीर्ष नेताबीच विवाद कायम छ ।

स्थायी समिति बैठक मंगलबार (आज) बिहान ११ बजेका लागि तोकिएको छ । अध्यक्ष पुष्पकमल दाहाललाई वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबारको बैठक नरोक्न र प्रधानमन्त्री सहमतिमा नआए पनि पार्टी कमिटीबाटै बहुमत/अल्पमतकै आधारमा निर्णय प्रक्रियामा जान दबाब बढाएका छन् । दाहालले पनि अब प्रक्रिया नरोक्ने, पार्टीको नियमित एजेन्डामै छलफललाई फर्काउने गरी जाने धारणा नेताहरूसँगको छलफलका क्रममा व्यक्त गरेका छन् ।

‘अब बैठक रोकिँदैन। मंगलबार तय गरिएको बैठक हामी बस्छौं । पार्टी एउटा निर्णयमा पुग्नै पर्ने हुन्छ। सकेसम्म सहमतिमा नभए पनि बहुमतको कुरा मान्नै पर्ने हुन्छ’, वरिष्ठ नेता खनालले अन्नपूर्णसँग भने, ‘पहिला अब पार्टीमा छलफल हुन्छ, त्यसमा कुनै सहमति नभए नयाँ निर्णय गरेर जानुपर्छ। त्यसका लागि परिस्थिति हेरेर निर्णय हुनेछ ।’

दाहाल–नेपाल समूहले स्थायी समिति नरोक्ने तयारी गरे पनि ओली पक्षले भने अझै पनि दाहालसँगको छलफलका आधारमा मात्र मंगलबारको बैठकका विषय टुंगो लाग्ने बताएको छ । ओली पक्षका स्थायी समिति सदस्यसमेत रहेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले दुई अध्यक्षको छलफलका आधारमा निस्किने निर्णयअनुसार पार्टी अगाडि बढ्ने बताए । अन्नपूर्ण पोस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस