महासंघको साधारणसभा स्थगितप्रति ढकाल समूहको असन्तुष्टि, ‘कुखुरा हराउनुभन्दा स्याल पल्किनु चिन्ताको विषय’

सफल खबर संवाददाता

शुक्रबार, ०९ साउन २०७७, १५ : १४
महासंघको साधारणसभा स्थगितप्रति ढकाल समूहको असन्तुष्टि, ‘कुखुरा हराउनुभन्दा स्याल पल्किनु चिन्ताको विषय’

काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित भएकोमा उपाध्यक्ष चन्द्रप्रसाद ढकाल समहूले असन्तुष्टि जनाएको छ ।  राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल समूहले साधारणसभा स्थगित हुनुलाई ‘कुखुरा हराउनु भन्दा स्याल पल्किनु चिन्ताको विषय’ भनेको छ । 

कार्यक्रममा उपाध्यक्ष  ढकालले भने, ‘मेरो व्यक्तिगत कुनै स्वार्थ छैन । विधानलाई सबैले मान्नुपर्छ । १२ घण्टाको नोटिसमा हतासमा पधादिकरी मिटिङ बसेर कार्यसमितिको अधिकार क्षेत्र मिचेर जो निर्णय भएको छ, जुन दुःखद छ ।’ निर्वाचनमा को आउन सक्छ सक्दैन भन्ने आधारमा नियोजित रुपमा साधारणसभाको मिति सार्ने काम भएको भन्दै उनले पदाधिकारी बैठकको निर्णयलाई आफूले मान्ने बताए ।

ढकालले सरकारले लकडाउन खोलिसकेको अवस्थामा स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपले मानेर निर्वाचन गरौं भनेको बताए। तर, त्यसोभन्दा आफूलाई हतोत्साहित गर्ने काम भएको उनको भनाइ छ। उनले महासंघभन्दा स्वास्थ्य ठूलो भन्ने आधारमा रोकिएको र आफूले अहिलेसम्म सधैं स्वास्थ्य भन्दा महासंघ ठूलो नभनेको बताए।

महासंघको कानुनी मात्रै नभएर नैतिक र सामाजिक जग पनि भासिएको उनले टिप्पणी गरे । चुनावी नतिजाको आंकलन गरेर निर्वाचन स्थगित गरिएको ढकालले दावी गरे । पूर्वनिर्धारित निर्वाचन रोकिएपछि ढकाल समूह असन्तुष्ट भएको छ ।

ढकालले १५ दिनको सूचनालाई ७ दिनमा झारेर निर्णय गर्ने प्रचलनलाई दुर्घटनातर्फ उन्मुख गराउने काम भएको समेत बताए । सोही कार्याक्रममा महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले एक दिन भए पनि पदमा बसिरहुँ भन्ने मानसिकताका कारण नियोजित रुपमा साधारणसभा स्थगित गरिएको आरोप लगाए ।

महासंघको चुनाव साउन २६ र २७ गतेका लागि तोकिएको थियो । तर बिहीबार बसेको पदाधिकारी बैठकले कोरोना महामारीको जोखिमको कारण देखाउँदै निर्वाचन स्थगितको निर्णय गरेको थियो । आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यसमितिका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानलसहित प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस