व्यवस्थिति बन्दै भरतपुरका वडा कार्यालयहरु, टेन्डर भएका वडाभवनको निर्माण समयमै हुन्छ : प्रमुख रेनु दाहाल

सफल खबर संवाददाता

विहीबार, ०१ साउन २०७७, १४ : ०३
व्यवस्थिति बन्दै भरतपुरका वडा कार्यालयहरु, टेन्डर भएका वडाभवनको निर्माण समयमै हुन्छ : प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिकामा जनप्रतिनिधि आएपछि वडा कार्यालयहरु व्यवस्थित बन्दै गइरहेका छन् । भाडाको भवनमा सञ्चालन भएका वडा कार्यालयहरु आफ्नै भवन निर्माण गरेर सरेका छन् भने अन्य वडा कार्यालयको आफ्नै भवन बन्ने क्रम जारी छ । 

जनप्रतिनिधि आएपश्चात नगरवासीलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि भरतपुर महानगरपालिकाले हरपल प्रयास गरिरहेको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । जनताले महसुस गर्नेगरि सेवा प्रदानका लागि वडा कार्यालय व्यवस्थित पार्नुका साथै आफ्नै भवनमा सार्ने काम भइरहेको दाहालले बताउनुभयो । उहाँकाअनुसार पछिल्लो तीन वर्षको अवधिमा महानगरपालिकाको चार वटा वडा कार्यालय आफ्नै भवनमा सरेका छन् । 

भरतपुर महानगरपालिकाको ७, १३, १७ र २८ नम्बर वडा कार्यालयले नयाँ भवन निर्माण गरि आफ्नै भवनबाट सेवा प्रदान गरिरहेका छन् । त्यस्तै, महानगरपालिकाको वडा नम्बर २, ५, १०, १२, २३ र २८ को आफ्नै भवन निर्माणको लागि काम भइरहेको नगर प्रमुख दाहालले बताउनुभयो । बाँकी वडा कार्यालयका भवनहरु मर्मत गरेर काम भइरहेको दाहालले बताउनुभयो । 

महानगरपालिका प्रमुख दाहालले नगरवासीको आधारभूत सेवा प्रवाह गर्ने वडा कार्यालयहरुलाई व्यवस्थित नबनाउँदासम्म सेवा प्रवाहमा चुस्तता नआउने बताउनुभयो । उहाँले वडा कार्यालयलाई चुस्त बनाउँदै व्यवस्थित र प्रविधिमैत्री बनाउन आवश्यक बजेटको व्यवस्थागरि काम अगाडि बढाइएको बताउनुभयो ।  

प्रकृयामा रहेका भवनहरुको निर्माणको काम समयमा नै सकिनेगरी सम्झौता भएको प्रमुख दाहालले बताउनुभयो । ‘महानगरपालिकाको वडा कार्यालयहरुले आफ्नै कार्यालयबाट सेवा प्रदान गरिरहेका छन्’ दाहालले भन्नुभयो, ‘निर्माणको प्रकृयामा रहेका भवनहरु समयमा सम्पन्न गर्नका लागि महानगरपालिकाका प्राविधिकहरु फिल्डमा नै पुगेर ठेकेदारलाई प्रत्यक्ष रुपमा निर्देशन दिने गर्नुभएको छ ।’ नगरवासीलाई छिटो र छरितो रुपमा सेवा प्रवाहका लागि जनप्रतिनिधि तथा कर्मचारीहरु सचेत रहेको दाहालले बताउनुभयो । 

भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनीयर रत्न लामिछानेले महानगरपालिकामा जनप्रतिनिधि आएपछि भवन निर्माण तथा मर्मतका लागि करिब ११ करोड ५० लाख रुपैयाँ खर्च गरिएको जानकारी दिनुभयो । त्यस्तै करिब १० करोड ७० लाख रुपैयाँको लागतमा नयाँ भवन निर्माणको काम भइरहेको लामिछानेले बताउनुभयो । 

भरतपुर महानगरपालिकाको चार वटा नयाँ वडा कार्यालय पाँच करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । 

त्यस्तै, महानगरपालिकाका वडा कार्यालयहरुको पुरानो भवन मर्मतका लागि करिब ६ करोड ५० लाख रुपैयाँ खर्च भएको डिभिजनल इन्जिनियर लामिछानेले बताउनुभयो । उहाँकाअनुसार महानगरका १, ३, ४, ६, ८, ९, ११, १४, १५, १६, १८, २०, २१, २४, २५, २६ र २९ नम्बर वडा कार्यालयहरु मर्मत गरेर सञ्चालन भइरहेका छन् । भवन पुराना र साँघुरा भएका वडा कार्यालयहरु आफ्नै भवनमा सार्नेगरि काम भइरहेको लामिछानेले बताउनुभयो । 
 

प्रतिक्रिया दिनुहोस