घरेलु मैदानमा म्यानचेस्टरको हार

एजेन्सी

मंगलबार, ०१ बैशाख २०८३, ०९ : ३८
घरेलु मैदानमा म्यानचेस्टरको हार

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडविरुद्ध २–१ को हार व्यहोरेको छ । 

सोमबार लिड्सले म्यानचेस्टरलाई घरेलु मैदान ओल्ड ट्राफेर्डमा २–१ ले पराजित गरेको हो । लिड्सको जितमा दुवै गोल नोह ओकाफोरले गरे । म्यानचेस्टरका कासेमिरोले गोल गरे पनि टोलीको हार टार्न सकेनन् । 

खेलको पाँचौँ मिनेटमा ओकाफोरले लिड्सलाई अग्रता दिलाए । २९औँ मिनेटमा उनै ओकाफेरले दोस्रो व्यक्तिगत गोल गर्दै अग्रतालाई दोब्बर बनाए । 

६४औँ मिनेटमा कासेमिरोले गोल गर्दै म्यानचेस्टरलाई २–१ को स्थितिमा ल्याएका थिए । 

त्यसअघि, ५६औँ मिनेटमा लिजान्द्रो मार्टिनेजले रातो कार्डको दर्शन गरेपछि म्यानचेस्टर १० खेलाडीमा सीमित भएको थियो । 

जितसँगै लिड्सले प्रतियोगितामा ३६ अंक जोडेको छ । लिड्सले ३२ खेल खेल्दा आठ जित, समान १२ बराबरी र हारसहित यो नतिजा आत्मसाथ गरेको हो । 

हारका बाबजुद म्यानचेस्टरले प्रतियोगितामा ५५ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस