मेयर रेनु दाहालको पहलपछि भरतपुरमा रहेको सेनाको ब्यारेक आँपटारी सार्ने सहमति

सफल खबर संवाददाता

बुधबार, ३१ असार २०७७, १४ : ४६
मेयर रेनु दाहालको पहलपछि भरतपुरमा रहेको सेनाको ब्यारेक आँपटारी सार्ने सहमति

चितवन । भरतपुर विमानस्थल विस्तार हुने भएको छ । भरतपुर विमानस्थल विस्तारको योजना संघीय सरकारको नीति तथा कार्यक्रममा परेपछि भरतपुर महानगर प्रमुख रेनु दाहालले सरोकारवालाहरुको बैठक डाकेर यसबारे थप निर्णय गर्नुभएको छ । 

दाहालले जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, विमानस्थल प्रमुखसहितलाई बोलाएर छलफल गर्नुभएको छ । छलफलका क्रममा भरतपुर १० मा रहेको नेपाली सेनाको ब्यारेक (कालीबहादुर गण)लाई भरतपुर १ को आँपटारीमा रहेको दियालो बंगलामा सार्ने सहमति भएको दाहालले बताउनुभयो ।

“नेपाली सेनाले विकास निर्माणमा सहयोग गर्दै दियालो बंगलामा जान सहमत भएको छ” दाहालले भन्नुभयो, “सेनाको घोडा फर्म (प्रजनन केन्द्र) समेत भरतपुर ११ बसेनीमा रहेको फायरिङ रेन्जमा सार्ने सहमति भएको छ ।” 

छलफलका क्रममा बागमती प्रदेशसभा सदस्यहरु घनश्याम दाहाल, विजय सुवेदी र मिलनबाबु श्रेष्ठले विमानस्थल विस्तार गर्नु आजको आवश्यकता भएकाले सेनाले विकास निर्माणमा देखाएको कामको प्रसंशा गर्नुभएको थियो । विमानस्थल विस्तारका लागि सेनाको ब्यारेकको आवश्यक जग्गा लिने र बाँकी रहेको ठाउँमा सेनाको टुकुडी राख्दा विमानस्थलको सुरक्षा समेत मजबुत हुने उहाँहरुको भनाइ छ । 

छलफलका क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सेनाको ब्यारेक सरेर विमानस्थल विस्तार भएपछि बाँकी रहेको स्थानमा सेनाको एयर बेस र जलिस्टिक राख्न दिनुपर्ने बताउनुभयो । सक्दो छिटो सेनाको ब्यारेक स्थानान्तरण गरेर विमानस्थल विस्ताको काममा अगाडि बढ्नुपर्ने भट्टराईको भनाइ छ । 

भरतपुर विमानस्थलका प्रमुख पवन गौतमले विमानस्थल विस्तारका लागि गुरुयोजना निर्माणको काम शुरु भएको बताउनुभयो । नागरिक उड्डयन प्राधिकरणले भरतपुर विमानस्थललाई आन्तरिक तर्फको क्षेत्रीय विमानस्थल बनाउनेगरी गुरु योजना बनाउन लागेको बताउनुभयो । गुरु योजना र डीपीआर निर्माणको काम शुरु भइसकेको भन्दै गौतमले सेनाको ब्यारेक स्थानान्तरण भएपछि विमानस्थल विस्तारको काम तत्काल सुरु गरिने जानकारी दिनुभयो । 

हाल भरतपुर विमानस्थलको धावन मार्ग १२ सय मिटरको भए पनि नौ स य मिटर धावन मार्ग मात्रै प्रयोगमा आउन सकेको छ । धावन मार्ग विस्तार गरेर १५ सय मिटर पु¥याइएपछि भरतपुर विमानस्थलमा ८० सिट क्षमता भएका जहाज समेत अवतरण गर्न सकिने गौतमले बताउनुभयो । अहिले विमानस्थलमा ४७ सिट क्षमताको  जहाज मात्रै अवतरण हुने गरेको छ । 

“भरतपुर विमानस्थल अहिले टु बी क्याटोगोरीमा पर्दछ” गौतमले भन्नुभयो, “यसको अपग्रेडपछि स्तर वृद्धि भएर थ्री सी हुनेछ ।” विमानस्थल विस्तारसँगै पश्चिम चितवन जाने चौबिसकोठी त्रिचोक सडकको भने विकल्प खोजीने भएको छ । पश्चिम चितवन जाने सडकका लागि रिजाल चोकको सडक, हाकिम चोकको सडक, लायन्सचोक क्यान्सर सडक प्रयोग गर्न सकिने स्थानीय जनप्रतिनिधिको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस