पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, २८ असार २०७७, १४ : ५६
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

चितवन । नेकपाका कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई विधि पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक भएको बताउनुभएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा संवोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी विधि र पद्धतिमा चल्नुपर्ने हुदॉ बैठकको निष्कर्ष नआउँदै अध्यक्षले बोल्नु उपयुक्त नहुने बताउनुभयो ।

आज आइतबार नेकपा पार्टी कार्यालय मदननगर भरतपुरमा भएको भेलामा उहाँले भन्नुभयो, ‘पार्टी एकता गरेर कम्युनिष्ट पार्टी निर्माण गर्ने अठोटका साथ विगतमा निर्वाचनमा गएको बताउँदै त्यसको परिणाम स्वरूप झन्डै दुइ तिहाइनजिकको जनमत नेपाली जनताले दिएका हुन्, यसबाट कोही कसैलाई भाग्ने वा बाहानाबाजी गर्ने छुट छैन ।’

उहाँले थप भन्नुभयो, ‘तपाइँहरू सबैलाई थाहै छ पार्टीभित्र गम्भीर समस्या सृजना भएको छ तर यो होइनकी पार्टी फुटिहाल्छ ।’ आफू पार्टीमा देखियका पछिल्ला संकटबारे गम्भिर छलफलमा रहेको बताउँदै उहाँले जिल्लाका नेता कार्यकर्ताहरूलााई नहतारिन आग्रह गर्नुभयो ।

उहाँले हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताका साथ लागिपरेको धारणा व्यक्त गर्नुभयो । ठूलो पार्टीमा विवाद आउनु नौलो नहुने बताउँदै उहाँले  विधि र जनवादी केन्द्रीयताको आधारमा एकदाबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूर्ण कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मान्नै पर्ने बताउनुभयो । दुइ ठूला पार्टीबीचको एकता अभूतपूर्वक भएको भन्दै यसलााई बचाइराख्नु हामी सबैको दायित्व भयको उहाँको भनाइ थियो ।  

आन्तरिक समस्या विधि पद्धति बमोजिम नै हल गर्नुपर्ने धारणा अध्यक्ष प्रचण्डको थियो। सत्य, सत्य नै साबित हुने भन्दै राष्टिय हित र राष्टिय अखन्डताका लागि हामीबीच कुनै असहमति नरहेको भन्दै पार्टीको स्थायी समितिको बैठकबाट लिम्पियाधुरा लिपुलेकसमेत समेटिएको नयॉ नक्सा प्रकाशन गर्न  निर्णय गरी सरकारलाई निर्देशन गरिएको बताउनुभयो । सरकारले नयॉ नक्सा प्रकाशन गरेकोमा सरकार र प्रधानमन्त्रीलाई जारी बैठकले धन्यवादसमेत दिएको उहाँको भनाइ थियो । 

कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज कृष्ण खनालले नेकपाभित्र देखिएको विवादको छिनोफानो हुनुपर्ने भन्दै सडकमा भइरहेका गतिविधि किन र केका लागि गरियका हुन् भन्दै प्रतिप्रश्न गर्नुभएको थियो । कार्यक्रम नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस