म्याग्दी पहिरो अपडेट

बेपत्ता भएका १२ जनाको शव फेला

सफल खबर संवाददाता

शनिबार, २७ असार २०७७, ११ : ०६
बेपत्ता भएका १२ जनाको शव फेला

काठमाडौं  । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको पहिरोमा परि बेपत्ता भएका १२ जनाको शव आज (शनिबार) फेला परेको छ । पहिरोमा पुरिएर मराङको कल्लेनीमा ३, राम्चेमा १०, रिखमा ७, ठूलोगाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएका थिए ।

कल्लेनीका र ठूलोगाउँका २ जनाको शव भेटिएको स्थानीयले जानकारी गराएको वडानम्बर ६ मराङका वडाध्यक्ष राजाराम सुवेदीले बताए । बिमको तल्लोगाउँका पाँच, दुलेका दुई र नौरुका एक जनाको खोजी भइरहेको छ । रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको लापु खोलाले बगाएर ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ को दुखु खोलाले बगाएर स्थानीय ४० वर्षीय गीता रोकालाई बेपत्ता बनाएको छ । खोला तर्ने क्रममा बेपत्ता भएकी रोकाको खोजी जारी छ ।

प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण सुरक्षाकर्मी पुग्न नसक्दा शुक्रबार बिहान पहिरो गएको ठाउँमा उद्धार र खोजीमा ढिलाइ भएको हो । मराङको कल्लेनीको पहिरोमा ताकम प्रहरी चौकीको टोली शुक्रबार दिउँसो पुगेको थियो । प्रहरीसहित उद्धारका लागि कल्लेनी हुँदै मराङ जान हिँडेका धारापानीका किरन थापाले गोरेटो र घोरेटो बाटो नभएकाले सम्बन्धित ठाउँमा पुग्न नसकेको बताए । मराङका वडाध्यक्ष सुवेदीले जनप्रतिनिधि, स्थानीयवासी, युवा क्लब र आमा समूहका प्रतिनिधिले पहिरोमा फसेकाको उद्धार र बेपत्ताको खोजी गरिरहेको बताए ।

चारैतिर पहिरोले घेरिएको कल्लेनीका ५० जनाभन्दा बढीलाई गाउँपालिकाको अगुवाइमा उद्धार गरेर धारापानी र ताकम लगिएको छ । घण्टीवाङका पहिरोपीडित १३ परिवार आरवाङको जनविकास आधारभूत विद्यालयको भवनमा आएर बसेका छन् । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले स्थलमार्गबाट जान सम्भव नभएपछि सेनाको हेलिकोप्टरबाट सुरक्षाकर्मीलाई पहिरो प्रभावित ठाउँमा पुर्‍याउने तयारी भएको बताए । 

प्रतिक्रिया दिनुहोस