नेकपाको स्थायी समिति बैठक ७ दिन स्थगित

सफल खबर संवाददाता

शुक्रबार, २६ असार २०७७, ०९ : ४४
नेकपाको स्थायी समिति बैठक ७ दिन स्थगित

काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक सात दिन स्थगित भएको छ ।  देशभर भईरहेको अतिवृष्टि र सिन्धुपाल्चोक लगायतका केही जिल्लाहरुमा भईरहेको जनधनको ठूलो क्षति समेतलाई मध्यनजर गरेर बैठक ७ दिनलाई पछि सार्ने निर्णय नेकपाले गरेको हो । 

प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक ७ दिन स्थगित गरिएको जानकारी दिए ।  प्रधानमन्त्री ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा माग गर्दै आएका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालसहितका नेताहरु ओलीको अडानमा लत्रिने की सामना गरेर जाने भन्नेमै नेकपाभित्रको किचलो अल्झेको अल्झै छ ।
तर, यो बेला सहमतिका अनेक प्रयास नभएका होइनन् । दोश्रो तहका नेताहरुले पनि पहलकदमी लिएर पार्टी विभाजन रोक्न र सहमतिमै आउन नेतृत्वमाथी दबाब बढाईरहेका छन् । 

बुधबार छलफलमा बसेपछि हिजो बिहीबार दुई अध्यक्षका बीचमा टेलिफोन सम्वाद भएयता प्रत्यक्ष संम्वाद भएको छैन् । ओलीसँग प्रचण्डको प्रत्यक्ष सम्वाद नभएपनि उनले ओली निकट नेताहरुसँग हिजो दिनभर जसो अनौपचारिक तहमा छलफल र सम्वाद गरेका थिए । 

महासचिव विष्णु पौडेल, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलसँग अलग अलग रुपमा भेटवार्ता गरेका प्रचण्डले संसदीय दलका उपनेता सुवास नेम्वाड, प्रदीप ज्ञवाली र शंकर पोखरेलसँग पनि अलग्गै भेटेर सम्वाद गरेका थिए ।
आजै बिहान पनि प्रचण्डले प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले पनि प्रचण्डसँगको छलफल अगाडी बालुवाटारमा सुवास नेम्वाड, इश्वर पोखरेल र शंकर पोखरेलसँग भेटवार्ता गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस