कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले मुस्लिम समुदायका नागरिकहरू क्रमिक रूपमा आफ्ना अधिकारसँग जोडिँदै गएको बताएका छन्।
मुस्लिम आयोगको आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा आयोजित ‘मुस्लिम समुदायको सशक्तीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम’मा बोल्दै प्रदेश प्रमुख मियाँले मुस्लिम समुदायको अधिकार स्थापना र संरक्षणमा आयोगले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। उनले मुस्लिम आयोगलाई महत्वपूर्ण संवैधानिक निकायका रूपमा उल्लेख गर्दै पछिल्लो समय आयोगले सञ्चालन गरेका गतिविधिको प्रशंसा गरे।
प्रदेश प्रमुख मियाँले लामो संघर्षपछि आयोगको स्थापना भएको स्मरण गर्दै आयोगको काम, कर्तव्य र अधिकारबारे समुदायलाई अझ व्यापक रूपमा जानकारी गराउन आवश्यक रहेको बताए। उनले आयोगले मुस्लिम समुदायको बसोबास रहेका विभिन्न क्षेत्रमा पुगेर अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आयोगको क्षेत्राधिकार, कार्य तथा समुदायप्रति राज्यको दायित्वबारे जानकारी गराउने काम गरेकोमा धन्यवाद व्यक्त गरे।
उनले नेपालको संविधानको धारा २६४ बमोजिम स्थापना भएको आयोगले आफ्नो क्षेत्राधिकारभित्र रही समुदायका समस्या पहिचान गर्ने, समाधानका लागि तीनै तहका सरकारलाई सिफारिस गर्ने तथा वार्षिक प्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुखमार्फत संघीय र प्रदेश सभामा पेश गर्ने कार्य गरिरहेको बताए। साथै कानुनमा रहेका जटिलता समाधानका लागि आयोग सक्रिय रूपमा लागिरहेको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ जेठ २०८३, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेटवार्ता
‘नेपालको संविधान नेपाली जनताको संघर्ष र बलिदानको प्रतिफल’ : प्रदेश प्रमुख मियाँ