रियल मड्रिडमाथि बार्सिलोनाको दबाब कायमै

एजेन्सी

विहीबार, २५ असार २०७७, ०९ : १७
रियल मड्रिडमाथि बार्सिलोनाको दबाब कायमै

एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा बार्सिलोनाले रियल मड्रिड माथि दबाब कायम राख्दै  उपाधि जित्ने आश जीवितै राखेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा स्पानियोलमाथि जित निकाली बार्सिलोनाले उपाधिमा रियल मड्रिडमाथि दबाब बनाएको हो । 

१० खेलाडीमा सीमित भएको बार्सिलोनाले १० खेलाडीमै सीमित भएको स्पानियोललाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा ५० औँ मिनेटमा आन्शु फाती सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भयो । त्यसको तीन मिनेटमापछि स्पानियोलका लोजानो पनि सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

५६ औँ मिनेटमा लुइस स्वारेजले गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णयक बन्यो । जितपछि दोस्रो स्थानको बार्सिलोनाको ३५ खेलबाट ७६ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको एक अंक बढी रहेको छ ।
बार्सिलोनासँग पराजित भएको स्पानियोल भने ला लिगाबाट रेलिगेशनमा पर्ने पक्का भएको छ । पुछारको टिम स्पानियोलको लिगका तीन खेल बाँकी हुँदा मात्रै २४ अंक भएको छ । ला लिगा अन्तर्गत बुधबार राति भएका अरु खेलमा रियल बेटिसले ओसासुनालाई ३–० तथा भिल्लारियलले गेटाफेलाई ३–१ ले पराजित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस