प्रधानसेनापति थापालाई किन निम्त्याइयो बालुवाटार ?

बालुवाटारमा प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापाका बीचमा भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, २१ असार २०७७, १० : ३१
प्रधानसेनापति थापालाई किन निम्त्याइयो बालुवाटार ?

काठमाडौं । सत्तारुढ दल नेकपामा तिव्र अन्तरविरोध चुलिरहँदा र प्रधानमन्त्री ओलीले आफ्नो सरकार टिकाउन अनेक प्रयत्न गरिरहँदा प्रधान सेनापति पूर्णचन्द्र थापा बालुवाटार निम्ताइएका छन् ।  उनलाई छलफलका लागि आईतबार बिहान ८ बजे बालुवाटार निम्त्याईएको हो । बिहान ८ बजे बालुवाटार छिरेका प्रधानसेनापति पूर्णचन्द्र थापा अहिले सम्म पनि बालुवाटारमै छन् । 

ओली र थापाका बिचमा पछिल्लो राजनीतिक घटनाक्रम, विकसित राजनीतिक घटनाक्रमले सुरक्षा अवस्थामा पार्न सक्ने सम्भावित जोखिम र सरकारले अब चाल्ने कदमका विषयमा सेनाको साथ लगायतका विषयमा केन्द्रीत रहेर ओलीले प्रधानसेनापति थापासँग छलफल गरिरहेका छन् । यो छलफलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल पनि सँगै रहेको बालुवाटार श्रोतले जनाएको छ । सत्तासिन नेकपाभित्र बढेको अन्तरविरोध पछि सेनाले नेपालको राजनीतिलाई नजिकबाट नियालिरहेको छ । 

प्रधानमन्त्री ओलीले १७ असारमा संसदको जारी बजेट अधिवशेन सभामुखसँग कुनै परामर्श नगरि अन्त्य गरेपछि विकसित हुन सक्ने घटनाक्रमका बारेमा पनि सेनाले उपत्यकामा उपलब्ध भएका जर्नेलहरुसँग सैनिक मुख्यालय भद्रकालीमा राखेर छलफल गरेको थियो ।  ओलीले प्रधान सेनापति थापालाई बोलाएर भारतीय चलखेल बढी भएको र त्यसका लागि सरकारले कदम चालेको भन्दै सरकारले राष्ट्रियताका लागि मात्र कदम चाल्न खोजेको भनेर आफ्नो प्रतिरक्षा गर्दै साथ माग्न खोजेको समेत बताइन्छ ।

ओलीले अहिले आफ्नो स्वेच्छाचारिता र सरकारले काम गर्न नसकेको असफलतालाई पर्दा लगाउन राष्ट्रियताको नक्कली नारा अलापेका छन् । उनले हिजो साँझ मन्त्रीहरुलाई बोलाएर पनि राष्ट्रियता कमजोर भएको र त्यसका लागि पनि आफुले मैदान छोडेर हिड्ने अवस्था नरहेकोले राजीनामा नदिई सामना गर्ने रणनीति बनाएको बताएका थिए ।

उनले भारतले अतिक्रमण गरिरहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्मको भू–भाग समेटेर जारी गरेको नक्सालाई आफनो मात्र एकल प्रयासले सम्भव भएको र त्यही नक्सा जारी गरेपछि भारतीयहरुले समेत आफुलाई हटाउन षडयन्त्र गरेको आरोप लगाउदै आएका छन् । 

लिम्पियाधुरासम्मको नक्सा सार्वजनिक गर्न पहिले आनाकानी गरेको विषय उनले गुपचुप बनाउदै नेकपाको केन्द्रीय समिति, स्थायी समिति र सचिवालय सम्मले नक्सा सार्वजनिक गर्न सरकारलाई दिएको निर्देशनलाई भने लुकाईरहेका छन् । नेकपा सचिवालयमा बहुमत नेताहरुले तत्काल नक्सा जारी गर्न निर्दशेन दिएपछि मात्र ओली बाध्य भएर सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा समेटन तयार भएका थिए ।

यो कुरालाई अहिले ओली बताउन चाहदैंनन् । आफनो कार्यशैली, स्वेच्छाचारिता र निरंकुशताको विरोधमा आवाज उठाउने नेताहरुलाई उनले अनेक विल्ला भिराउन खोजेर आफु सक्कली राष्ट्रवादी भएको पगरी गँुथ्ने प्रयास गरिरहेका छन् । यही कुरा उनले प्रधान सेनापति थापासँगको भेटमा पनि गर्ने सम्भावना देखिएको छ । यो भेटलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस