व्यवसायी भट्ट र अग्रवाल पुर्पक्षका लागि जेल चलान

सफल खबर संवाददाता

बुधबार, ०३ असार २०८३, २१ : ११
व्यवसायी भट्ट र अग्रवाल पुर्पक्षका लागि जेल चलान

काठमाडौँ । सम्पत्ति शुद्धीकरण र वित्तीय अपराधसम्बन्धी मुद्दामा विशेष अदालतले व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । लगत्तै दुबै जना डिल्लीबजार कारागार चलान भएका छन् । 

 

बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा राखेर मुद्दाको किनारा लगाउनुपर्ने आदेश सुनाएको हो ।

नेपाल सरकारले वादीका रूपमा दायर गरेको यस मुद्दामा प्रतिवादीहरूमाथि संगठित रूपमा सम्पत्ति शुद्धीकरण गरेको, सेयर बजारमा इनसाइडर ट्रेडिङ (भित्री कारोबार) गरी कृत्रिम मूल्य कायम गरेको र विभिन्न बैंक तथा वित्तीय संस्थाको रकम अपचलन गरेको अभियोग लगाइएको छ । 

 

अभियोगपत्रमा दीपक भट्टमाथि २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ र सुलभ अग्रवालमाथि २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस