चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारी माथि अमेरिकाले लगायो भिसा प्रतिबन्ध

एजेन्सी

शनिबार, १३ असार २०७७, ०८ : ५५
चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारी माथि अमेरिकाले लगायो भिसा प्रतिबन्ध

एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी) का अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने तयारी गरेको अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले बताएका छन् ।

नयाँ सुरक्षा कानून ल्याएर हङकङको स्वतन्त्रता कमजोर बनाएको भन्दै अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीलाई भिसा नदिने तयारी गरेको उनले बताए । नयाँ प्रतिबन्ध सिसिपीका वर्तमान तथा पूर्व अधिकारीमाथि केन्द्रित रहने उनले बताए । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङको स्वायत्तता कमजोर बनाउने चिनियाँ अधिकारीलाई दण्ड दिने बताएका थिए । सोही अनुसार पोम्पेओको भनाई आएको हो ।

केही दिनपछि चीनको संसद बैठक बस्दैछ । नेशनल पिपुल्स कंग्रेसको स्थायी कमिटिले नयाँ सुरक्षा कानूनमाथि छलफल गर्ने छ । सो बैठक आइतबारदेखि सुरु हुनेछ । नयाँ सुरक्षा कानून अनुसार चीनले हङकङमा पहिलो पटक आफ्नो सुरक्षा एजेन्सीको कार्यालय खोल्दैछ । यसको विरोधमा हङकङमा प्रदर्शन भएका छन् भने अन्तर्राष्ट्रिय समुदायले पनि गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस