काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने भएको छ ।
वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको लिखित परीक्षाबाहेक मूल्याङ्कनको विकल्प नभएको र सेमेस्टर प्रणालीको परीक्षालाई कसरी अगाडि बढाउने भन्ने विषयमा भर्खरै अध्ययन गर्न थालिएकाले परीक्षाका बारेमा अझै केही महिना अन्योल नै हुने अवस्था देखिएको हो । यसबाट स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थी प्रत्यक्ष रूपले प्रभावित हुने भएका छन् ।
विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षाका लागि अझै केही महिना कुर्नुपर्ने अवस्था रहेको स्पष्ट गर्दै कोरोना सङ्क्रमण सामान्य भएर जनजीवन चल्न थालेपछि परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो । वार्षिक आधारमा पठनपाठन हुने विद्यार्थीको वर्षभरिको मूल्याङ्कन लिखित परीक्षाबाट मात्रै हुने भएकाले तत्काल त्यसको अर्को विकल्पतर्फ सोचाइ नराखिएको उहाँको भनाइ छ ।
विश्वविद्यालयले सेमेस्टर प्रणालीका माध्यमबाट पठनपाठन हुने र हाल अनलाइन माध्यमबाट कक्षा सञ्चालन भएका विद्यार्थीको परीक्षा कुन आधारमा सञ्चालन गर्ने भनेर अध्ययन भइरहेको जनाइएको छ ।
विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुसालको संयोजकत्वमा गठित अध्ययन कार्यदलले दिने प्रतिवेदनका आधारमा सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा र सेमेस्टरका विषयमा निर्णय गरिने भएको छ । सेमेस्टर प्रणालीको अनलाइन कक्षामा पनि सबै विद्यार्थीको सहभागिता हुन नसकेको अवस्थामा कसरी परीक्षा तथा मूल्याङ्कन गर्ने भन्ने असजिलोमा विश्वविद्यालयका पदाधिकारीहरू पुगेका छन् ।
विज्ञहरूले सेमेस्टर प्रणालीका आधारमा पठनपाठन हुने विद्यार्थीलाई अन्तिम आन्तरिक परीक्षाका आधारमा माथिल्लो सेमेस्टरमा चढाउने र पछि दुवै सेमेस्टरको परीक्षा एक महिनाको फरक गरेर लिन सुझाव दिएका छन् । सेमेस्टर प्रणालीमा विद्यार्थीको आन्तरिक मूल्याङ्कन ४० प्रतिशत र ६० प्रतिशत परीक्षा गरी नतिजा प्रकाशित गर्ने गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १३ असार २०७७, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित
यो वर्ष त्रिविबाट ग्राजुएट हुँदै ९० हजार विद्यार्थी