नेकपा स्थायी कमिटि बैठक

बैठकमा माधव नेपालले आफनो कुर्सी आफैं उचालेपछि...

सफल खबर संवाददाता

विहीबार, ११ असार २०७७, ०९ : ३६
बैठकमा माधव नेपालले आफनो कुर्सी आफैं उचालेपछि...

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव नेपालका कतिपय शैली र स्वभावगत अवस्था आफ्नै खालका छन् । उनी जुनकुनै कार्यक्रममा पनि समयमै पुग्छन् । अरुका कुरा सुन्छन्, अरुले बोलिरहेका बेला बीचमा प्वाक्कै बोलिहाल्दैनन् । उनलाई नजिकबाट चिन्नेहरु पारदर्शी स्वभावका र पार्टीको विधि र पद्दतीमा निक्कै ख्याल गर्ने नेतामा माधव नेपाल समकालिन नेताहरुमा पहिलो नम्बरमा पर्ने नेता भएको बताउने गर्छन् ।

तर नेकपाको हिजो बुधबारबाट शुरु भएको स्थायी समिति बैठकमा नेपालका स्वभाव केही भिन्न र बदलिएको स्थायी समिति सदस्यहरुले प्रत्यक्ष अनुभूति गर्न पाएका थिए । प्रायः चुपचाप र साधारण भएर बस्ने मान्छे अति नै भएपछि प्रतिवादमा उत्रन्छन भन्ने तथ्यलाई नेपालले बुधबारको बैठकमा देखाएको उनी निकट एक स्थायी समिति सदस्य भन्छन् । नेपालले बैठकमा प्रधानमन्त्री ओलीले बोलिरहदा चित्त नबुझेका विषयमा सिधै बीचमै प्रतिवाद गरेका मात्र थिएनन्, आफु बसेको कुर्सी नै उचालेर अध्यक्षद्धयको समदुरीमै अगाडी सारेर बसेका थिए ।

बैठकमा मच्चको अघिल्लो लहरमा सदस्यतर्फ फर्किने गरी ९ जना सचिवालय सदस्यलाई बस्ने ब्यवस्था मिलाईएको थियो ।  जसमा दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई सोफामा अघिल्लो समान दुरीको लहरमा र त्यसपछि दुवै अध्यक्षको दायाँ बायाँ हुने गरी अलिक केही पछाडी ओलीको दाहिने तिर झलनाथ खनाल र प्रचण्डको देब्रेतिर माधव नेपाललाई बस्ने गरी कुर्सीको व्यवस्थापन बालुवाटारले गरेको थियो ।

खनाल र नेपालको लहरको अलिक पछि अन्य ५ नेतालाई बस्ने गरी सिट व्यवस्थापन बालुवाटारले बैठक कक्षका लागि तयार पारेको थियो ।  शुरुमा चुपचाप बसेका नेपाल जब एजेण्डा थप गर्न स्थायी समिति सदस्यहरुले बोल्न थाले । त्यसपछि भने आफ्नो कुर्सी आफै बोकेर ओली र दाहालकै समान दुरीमा रहने गरी अगाडी सारेर बसेको एक स्थायी समिति सदस्यले सफलखबरलाई बताए । स्थायी समिति सदस्य रघुजी पन्तले कम्युनिष्ट पार्टीको सोच र संस्कार सामन्ती पाराको देखियो, दुई अध्यक्ष राजा महाराजा जस्तो सर्वश्रेष्ठ र अन्य नेताहरु दोश्रो दर्जाको जस्तो गरी मञ्चमा बस्ने सिटमै भेदभाव देखियो ?

कहिले पार्टी बैठकमा दुई नेताको मात्र फोटो राख्न लगाउने ? कहिले कुर्सीमै विभेद गर्ने कुरा पटक पटक उठेको हो ? के अन्य नेताहरु दास मात्र हुन् ? उनीहरुको पार्टीमा योगदान नै छैनन् ? मञ्चमा रहेका अन्य नेताहरुको दुई अध्यक्ष भन्दा के मा योगदान कमी छ ? योगदान कमै भएपनि कम्युनिष्ट पार्टीमा यो सामन्ती संस्कारको जस्तो विभेद किन ? यसमा आपत्ति छ भन्दै आवाज उठाए ।  त्यसपछि भने नेताहरुको कुर्सीमा स्थायी समितिका अन्य सदस्यहरुको ध्यान केन्द्रीत भयो । 

त्यसपछि नै ओली प्रचण्ड केही नबोलिरहेका बेलामा माधव नेपाल आफैले आफु बसेको कुर्सी उचालेर दुई अध्यक्षकै समदुरीमा अगाडी सारेर बसेको स्थायी समितिको ति सदस्यले बताए । नेपाल तिनै नेता हुन्, जसले गत पार्टी केन्द्रीय समिति बैठकमा दुई अध्यक्षको मात्र फोटो राखेर मंच बनाईएकोमा आपत्ति जनाएका थिए । अघिल्लो वर्षको पार्टी स्थापना दिवसमा पनि उनले मंचमा नेताहरुका बीचमा विभेद गर्ने गरी व्यवस्थापन मिलाएको भन्दै बैठक नै छोडेर बाहिरिएका थिए । तर वुधबारको स्थायी समिति बैठकमा भने नेपालले आफ्नो कुर्सी नै अगाडी सारेर बसेका थिए ।

नेपालले बुधबार आफु बसेको कुर्सी मात्र सारेनन् । ओलीले सम्बोधनका क्रममा दुई अध्यक्षले चाहेरै मात्र पार्टी एकता भएको, मुख्य लिडरसिपले जोखिम मोलेपछि जस अपजस पनि लिडरसिपलाई नै जाने रहेछ भन्दै आत्मप्रसंसा गर्न थालेपछि नेपालले ओली बोलिरहेकै वेलामा प्रतिवाद गरेका थिए  । नेपालले यो पार्टीको योगदानमा अन्य नेताहरुको पनि उत्तिकै योगदान छ । म भन्ने संस्कार हटाऔं, हामी भन्न किन नसक्ने ? अरुले गरेका योगदान पनि बताउन सक्नुपर्छ भन्दै ओलीको बोलीमा प्रतिवाद गरेका थिए ।

नेपाल त्यक्तिमा मात्र चुप रहेनन् । ओलीले काठमाडौंको सडकका खाल्टाखुल्टी पुरेको भन्दै सरकारले गरेको कामलाई पार्टीले मात्र नदेखेको प्रचार गरिरहे । त्यसमा पनि नेपालले प्रतिवाद गरे । उनले भने,  खाल्टाखुल्टी परे नपुरेको हेर्न मेरो निर्वाचन क्षेत्रमा सँगै जाऔं, साँखुमा त्यहाँ कति खाल्टाखुल्टी रहेछन्, देखाईदिन्छु । नेपालको हिजोको बैठकमा देखिएको आक्रोश अन्य बैठकका भन्दा अलग्गै खालको देखिएको नेताहरुले अनुभूति गरेका छन् । नेपालको यो शैलीका कारण ओलीले बोलेका बेला बीच बीचमा दुई नेताका बीचमा भनाभन समेत भएको नेताहरुले बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस