Safal Khabar - भरतपुर महानगरको बजेट ४ अर्ब १५ करोड, यी हुन् प्राथमिकताका क्षेत्र
शनिबार, २७ असार २०७७ (Saturday, 11 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
भरतपुर महानगरको बजेट ४ अर्ब १५ करोड, यी हुन् प्राथमिकताका क्षेत्र
बुधबार, १० असार २०७७, १५ : २५
भरतपुर महानगरको बजेट ४ अर्ब १५ करोड, यी हुन् प्राथमिकताका क्षेत्र

चितवन । भरतपुर महानगरपालिकाले छैटौँ नगर सभा सम्पन्न भएको छ । नगर सभाको उद्घाटन महानगर प्रमुख रेनु दाहालले गर्नुभएको थियो ।

नगर सभाको उद्घाटन कार्यक्रममा नगर प्रमुख दाहालले भरतपुर महानगर तीव्र विकासमा होमिएको बताउनुभयो । उहाँले गौरवको आयोजनाहरु ठूला बजेट लगाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुल्चोक गोन्द्राङ सडक छ लेन बन्ने, बाइपास सडक स्तरउन्नति गर्ने, भरतपुर विमानस्थल प्रादेशिक बनाइने काम छिटै हुनेछ ।’

शिक्षा, कृषि, पूर्वाधारमा ठूलो लगानी लगाइएको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७७-७८ को लागि कुल बजेट ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार ल्याएको छ । नीति तथा कार्यक्रम कार्यान्वयनको लागि भरतपुर महानगर उपप्रमुख पार्वती शाहले आज भरतपुर महानगरको छैटौँ नगर सभामा उक्त बजेट प्रस्तुत गर्नुभएको छ ।
उपप्रमुख शाहका अनुसार अन्तर सरकारी अख्तियारीबाट रु. ६० करोड प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी आन्तरिक आय रु. ९० करोड (घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिज जन्य पदार्थको वाँडफाँडबाट प्राप्त आय समेत), अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु. १ अर्व ६९ करोड २ लाख ३८ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त रु. ४६ करोड १२ लाख ५१ हजार, जनसहभागिताबाट रु. २५ करोड, बैंक मौज्दात रु. ८२ करोड, मर्मत सम्भार कोष बाट रु. २ करोड  र सडक बोर्ड नेपालबाट रु. १ करोड ५० लाख रहने प्रक्षेपण गरिएको छ ।

Yeti Diistillery

अन्तरसरकारी अख्तियारीबाट प्राप्त रु. ६० करोड मूल सञ्चितकोषमा प्राप्त नहुने भएकोले अन्तर सरकारी अख्तियारी शीर्षकबाट नै लेखांकनको व्यवस्था गरिने उपप्रमुख शाहले बताउनुभयो । चालु आर्थिक वर्ष २०७६ र ७७ को लागि कूल अनुमानित आय रु ४ अर्व ५१ करोड २८ लाख ८ हजार (जेष्ठ मसान्तसम्म पुरक बजेट तथा थप अख्तियारी समेत) र व्ययतर्फ रु. ४ अर्व ५१ करोड २८ लाख ८ हजार 
(पुरक बजेट तथा थप अख्तियारी समेत) अनुमान गरिएको उपप्रमुख शाहको भनाइ थियो ।

अनुमानित आयमा २०७७ आषाढ पहिलो हप्तासम्म महानगरले आन्तरिक आम्दानी करिब रू. ३१ करोड २८ लाख, घरजग्गा रजिष्ट्रेशन शुल्क वापत रु. २१ करोड २४ लाख ४८ हजार एवं जनसहभागिता रु. १९ करोड ६ लाख गरी जम्मा रु. ७१ करोड ५८ लाख ४८ हजार र संघीय सरकारको राजश्व बाँडफाँड बाट रु. १९ करोड ९८ लाख १३ हजार आम्दानी भएको, संघ तथा प्रदेश बाट वित्तिय हस्तान्तरण बापत क्रमशः १ अर्ब ५० करोड ६४ लाख ८० हजार तथा १० करोड ३७ लाख ७६ हजार प्राप्त भएको, ९७ करोड ३५ लाख ६७ हजार बैकबाट अ.ल्या गरिएको छ । साथै ढुङ्गा, गिट्टी, वालुवा तथा माटोजन्य वस्तुबाट हालसम्म रु. २ करोड २ लाख प्राप्त भएको छ 

महानगरको आर्थिक स्थितिको संक्षिप्त जानकारी गराउन उपप्रमुख शाहले भन्नुभयो, ‘व्ययतर्फ चालु शीर्षकमा रु. १ अर्व ८० करोड २३ लाख २२ हजार विनियोजन भएकोमा २०७६ आषाढ पहिलो हप्तासम्म रु. १ अर्ब ८ करोड ४० लाख अर्थात ६० दशमलव १ प्रतिशत र पुँजीगततर्फ २ अर्व ७१ करोड ४८ लाख ६ हजार विनियोजन भएकोमा ८२ करोड ८४ लाख ७६ हजार अर्थात ३० दशमलव ६ प्रतिशत गरी कुल खर्च जम्मा रु. १ अर्ब ९१ करोड २४ लाख ७६ हजार खर्च भएको छ ।’ 

उहाँका अनुसार २०७७ आषाढ मसान्तसम्म संशोधित अनुमान राजश्व आम्दानीतर्फ जनसहभागिता तथा घरजग्गा रजिष्ट्रेशन शुल्क समेत गरी करिब रू. ८० करोड आम्दानी हुने देखिन्छ । खर्चतर्फ चालु खर्च करिब रू. १ अर्ब ७९ करोड ५० लाख र पुँजीगत खर्चतर्फ रू. १ अर्ब २५ करोड ४५ लाख हुने संशोधित अनुमान गरिएको छ । 

बजेटका उद्देश्य तथा प्राथमिकता :
–    कोभिड–१९बाट प्रभावित व्यक्तिको उपचार र क्वारिन्टिन व्यवस्थापन तथा वैदेशिक रोजगारी बाट फिर्ता भएका व्यक्तिहरु रोजगार सिर्जना गर्ने ।
–    महानगरबासीहरुको मौलिक हकको रूपमा रहेका न्यूनतम आधारभूत आवश्यकताहरू परिपूर्ति गर्दै जाने ।
–    नीजि तथा सहकारी क्षेत्रसँग सहकार्य गर्दै रोजगारीका अवसहरु सिर्जना गर्ने ।
–    साधनस्रोत, अवसर र क्षमताको विकास तथा सोको उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउने ।
–    आर्थिक, भौतिक, सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाई राष्ट्रको विकासमा टेवा पु-याउने ।


 बजेटका प्रथामिकताका क्षेत्रहरू :
–    शहरी सौन्दर्य र भूउपयोग एवं बस्ती विकास 
–    स्वास्थ्य सेवामा सुधार एवं पहुँच
–    शैक्षिक उन्नयन एवं युवा तथा खेलकुद 
–    कृषि तथा पशुविकास
–    वातावरण संरक्षण एवं विपद् व्यवस्थापन
–    रोजगारी सिर्जना तथा सहकारी क्षेत्रको प्रवर्द्धन 
–    लक्षित वर्गको उत्थान एवं सशक्तीकरण र सामाजिक समावेशीकरण 
–    प्रविधि प्रयोग तथा डिजिटल प्रणाली
–    संस्कृति तथा पर्यटन प्रवर्द्धन
–    उद्योग वाणिज्य र नीजि क्षेत्रसँग सहकार्य 
–    राजश्व प्रशासन तथा वित्तीय सुशासन 

कुन क्षेत्रमा कति बजेट विनियोजन ?

पूर्वाधारतर्फ ४७ करोड
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण तथा अन्य रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्न साझेदारी तथा समपूरक कोष स्थापना, एकीकृत शहरी विकास योजना, नमुना सडक निर्माण, जिआईएस प्रविधि प्रयोग गरी वडागत सीमाना, सडक सन्जाल, सडक वर्गीकरण एवं सडक अधिकारक्षेत्र समेत प्रष्ट खुलेको महानगर यातायात गुरुयोजना तयार, विभिन्न वडामा निमार्ण हुने भवन, सिंचाई, ल्भर्टक, मर्मतसम्भार, ग्राभेल  व्यवस्थित वस्ति विकास लगायतका शहरी सौन्दर्य र भूउपयोग सम्बन्धि नीति कार्यान्वयन गर्नको लागि रु. ४७ करोड ३० लाख ९७ हजार विनियोजन गरिएको छ ।
अधुरा योजनाहरुलाई प्राथमिकतामा राखी कार्यान्वयमा ल्याउने र  यस आ. व. मा भुक्तानी हुन बाँकी तथा बहुवर्षीय ठेक्का प्रणालीबाट भएका योजनाको भुक्तानीको लागि एकमुष्ठ रु. ८२ करोड विनियोजन गरिएको छ ।

स्वास्थ्यमा ९ करोड
यस्तै, आधारभूत एवं गुणस्तरीय स्वास्थ्य सेवामा महानगरबासीको पहुँच सुनिश्चित गर्न स्वास्थ्यको सर्वव्यापी पहुँचको अवधारणा अनुसार वडामा स्वास्थ्य संस्था स्थापना, कोरोना संक्रमणको सम्भावना भएका व्यक्तिहरुको परीक्षणका लागि आवश्यक औषधी तथा उपकरण र परामर्शदाताहरु सहितको मोबाइल क्लिनिक सञ्चालन, स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई यातायात खर्च उपलब्ध गराउनुका साथै वडाहरुमा सञ्चालित होम क्वारेन्टाइनलाई व्यवस्थित गर्नेलगायतका कार्यक्रम कार्यान्वयन गर्न एकमुष्ठ रु. ९ करोड ५० लाख विनियोजन गरिएको छ ।

शिक्षामा ९ करोड
प्रारम्भिक बाल शिक्षा केन्द्रका बालबालिहरुको समतामूलक पहुँच सुनिश्चित गर्ने, भौतिक पूर्वाधार विकास कार्यक्रम, जस्तापाताको छानो भएका कक्षाकोठामा फल सिलिङ्ग तथा विद्यालय कलर कोट, विद्यालयको रङरोगन गर्ने, एक वडा एक नमुना विद्यालय सञ्चालनमा ल्याउने, अन्तराष्ट्रिय, राष्ट्रिय, प्रदेश स्तरीय खेलमा पदक जित्ने महानगरका खेलाडीहरुलाई पुरस्कृत तथा सम्मान गर्ने लगायतका शैक्षिक विकासको नीति कार्यान्वयन गर्नको लागि रु. ९ करोड बजेट विनियोजन गरिएको छ ।

कृषि पशुपालनमा ८ करोड बढी 
कृषि तथा पशुसेवाका कार्यक्रममा अनुदान प्रदान गर्ने, कृषि ऋणमा २ प्रतिशत व्याज अनुदानमा उपलब्ध गराउने, बीउबिजन र मल वितरणमा अनुदान दिने, विषादी परीक्षण प्रयोगशालालाई सशक्त एवं व्यवस्थित गर्ने, एक वडा एक पशु फर्म आधुनीकिकरण कार्यक्रम एवं दूधमा अनुदान कार्यक्रमलगायत कृषि तथा पशु विकास कार्यक्रम कार्यान्वयनमा ल्याउनको लागि क्रमशः कृषितर्फ रु. ८ करोड ५० लाख तथा पशु विकास कार्यक्रमतर्फ रु. ७ करोड गरी कुल जम्मा रु. १५ करोड ५० लाख विनियोजन गरिएको छ ।

वातावरण, फोहोर व्यवस्थापनमा आठ करोड
यस्तै, फोहोरको प्रभावकारी संकलन, ढुवानी तथा व्यवस्थापन एवं हरियाली प्रवर्द्धन गर्नुका साथै कोरोना महामारी नियन्त्रणका लागि महानगरका विभिन्न स्थानमा क्वारेन्टिन स्थलहरुको प्रभावकारी व्यवस्थापन, वडा कार्यालयहरुमा विपद् व्यवस्थापनका आधारभूत सामग्री भण्डारणको व्यवस्था, फोहोरलाई स्रोतमा वर्गीकरण गरी नकुहिने फोहोरमात्र संकलन गर्ने लगायतका कार्यक्रम कार्यान्वयन गर्न वातावरण तथा विपद व्यवस्थापनतर्फ एकमुष्ठ रु. ८ करोड विनियोजन गरिएको छ ।

रोजगारमा ४ करोड
विदेशबाट आर्जन गरेको सीप उपयोग गरी रोजगारी पैदा गर्ने खालका कृषि लगायतका साना उद्यम गर्न चाहने युवाहरुलाई शुन्य व्याज दरमा अनुदान उपलब्ध गराउने, युवा तथा उद्यमीहरुलाई नवीन व्यवसाय शुरु गर्न सुरुवाती पुँजी प्रदान लगायतका कार्यक्रम कार्यान्वयन गर्नको लागि रु. ४ करोड विनियोजन गरिएको छ ।
प्राचीन नाच, कला तथा संस्कृतिको संरक्षण, पर्यटकीय पदमार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन तथा बृहत पर्यटन गुरुयोजना तयार लयागतका कार्यक्रम कार्यान्वयन गर्नको लागि एकमुष्ठ रु. ३ करोड विनियोजन गरिएको छ ।    
यस्तै, विपन्न, महिल, दलित, आदिवासी, जनजाति तथा वञ्चितीमा परेका लक्षित वर्गको आर्थिक सशक्तीकरण, महिला तथा जोखिम समुदायसँग मेयर कार्यक्रम र समन्यायिक विकासमा उपमेयर कार्यक्रम, हिंसा अन्त्यका लागि वडाहरूमा अभियान सञ्चालन, बालगृहलाई व्यवस्थित गर्ने, एक वडा एक ज्येष्ठ नागरिक विश्रामस्थल, अपाङ्गता क्षेत्रमा क्रियाशील सामाजिक संघसंस्थाहरूको अगुवाईमा अपाङ्गता सम्बन्धी कार्यक्रम सञ्चालन लगायतका लक्षित वर्ग उत्थान, सशक्तिकरण एवं सामाजिक समावेशीकरणको नीतिलाई कार्यान्वयन गर्न एकमुष्ठ रु. २ करोड ५० लाख विनियोजन गरीएको छ ।

प्रविधिमा दुई करोड ५० लाख 
महानगरले प्रवाह गर्ने सेवाहरुलाई विद्युतीय प्लेटफर्म प्रदान गर्ने गरी एकीकृत तथा अन्तर आबद्ध प्रविधि तथा तथ्यांक भण्डार स्थापना, सर्भर खरिद गर्नुका साथै डाटा, एप्लिकेशन, सफ्टवेयर मर्मत तथा सम्भार लगायतको कार्यक्रम कार्यान्वयन गर्न रु. २ करोड ५० लाख विनियोजन गरिएको छ ।

युवा तथा खेलकुदमा दुई करोड
युवामा स्वयंसेवी भावना बढाउने कार्यक्रम, सामाजिक जिम्मेवारी बोध गराउन विपद् व्यवस्थापनमा योगदान गर्न तथा सामाजिक सुधारका कार्यमा परिचालन गर्न युवा स्वयं सेवा कार्यक्रम संचालन गर्ने, विद्यालय तहदेखि नै खेल प्रतिभा प्रस्फुटनको वातावरण निर्माण गर्न विद्यालयलाई खेल सामग्री उपलब्ध गराउने लगायतका कार्यक्रमको लागि एकमुष्ठ रु. २ करोड विनियोजन गरिएको छ ।

राजश्व प्रशासन तथा वित्तीय सुशासनमा दुई करोड
महानगरको कर प्रशासनलाई चुस्त, सरल, प्रविधिमैत्री एवं करदातामैत्री बनाई अधिकतम कर सहभागिता सुनिश्चित गर्न कर शिक्षा कार्यक्रम सञ्चालन गर्ने, डिजिटल प्रणालीमा आबद्ध गरी प्रत्येक करदातालाई एकीकृत कर पोर्टल अन्तर्गत व्यक्तिगत कर पहिचान नम्बर प्रदान लगायतका कार्यक्रम कार्यान्वयन गर्नको लागि रु. २ करोड बजेट विनियोजन गरिएको छ ।

उद्योग वाणिज्य तथा निजी क्षेत्रसँग सहकार्य
साना तथा मझौला उद्योगहरुको संरक्षण र विकास गर्दै स्थानीय क्षेत्रमा रोजगारी अभिवृद्धि गर्ने, सृजनात्मक तथा अनुसन्धानमा आधारित साना उद्योगहरुको स्थापनाका लागि प्रोत्साहनस्वरूप बीउ पुँजी तथा उत्पादन पश्चात बिक्री बिल बिजकका आधारमा अनुदानको व्यवस्था लगायतका कार्यक्रम कार्यान्वय गर्नको लागि रु. १ करोड ५० लाख विनियोजन गरिएको छ ।

सेवा प्रवाह र प्रशासनिक खर्चमा ४८ करोड
उत्प्रेरित एवं उच्च मनोबलयुक्त जनशक्तिबाट प्रभावकारी सेवा प्रवाह भई आम सेवाग्राहीले सुशासनको अनुभूति गर्ने हुँदा कर्मचारीको क्षमता अभिबृद्धि गर्न, महानगरको संगठन र संस्थागत विकास गरी सुदृढ प्रशासन कायम गर्न र कार्यालयको प्रशासनिक खर्चमा रु. ४८ करोड विनियोजन गरिएको छ ।
हरेक वडाको समानुपातिक विकासका निम्ति सम्बन्धित वडास्तरबाट नै  कार्यक्रम कार्यान्वयन हुने गरी प्रत्येक वडाका निम्ति रु. १ करोडका दरले जम्मा रु. २९ करोड विनियोजन गरिएको छ ।
संघीय सरकार तथा प्रदेश सरकाबाट प्राप्त सशर्त अनुदान, समपूरक अनुदान, विशेष अनुदान वापत प्राप्त बजेट तोकिएकै शिर्षकमा खर्च गरिने छ ।


 

प्रतिक्रिया दिनुहोस