पहिरोमा पुरिएर मृत्यु भएका तिनैजनाको सनाखत

सफल खबर संवाददाता

मंगलबार, ०९ असार २०७७, १० : ०६
पहिरोमा पुरिएर मृत्यु भएका तिनैजनाको सनाखत

तानसेन । पाल्पामा पहिरोले पुरेर मृत्यु हुने तिनै जनाको सनाखत भएको छ । सोमबार  तानसेन नगरपालिका–११, बन्दीपोखराको सम्मोबारीमा  गएको पहिरोमा गाडी पुरिएर मृत्यु हुनेहरुको प्रहरिले सनाखत गरेको हो ।

पहिरोले बगाएर मृत्यु हुनेहरु पाल्पाको रिब्दीकोट गाउँपालिका–२, देउरालीका ३२ वर्षीय भुवन खाम्चा, चितवनको भरतपुर महानगरपालिका–२९, बाङ्गेसालका ३३ वर्षीय बीरबहादुर गुरुङ र काभ्रेको पाँचखाल नगरपालिका–८, हुस्केबजारका २८ वर्षीय निवेश श्रेष्ठ रहेको जिल्लाप्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिए ।

तानसेन–गुल्मी सडकखण्डको तानसेनदेखि ६ किलोमिटर पश्चिम सम्मोबारीमा खसेको पहिरोमा पुरिएर पानी बोक्ने ट्याङ्करमा रहेकाको मृत्यु भएको प्रहरीले जनाएको छ । सडक माथिबाट पहिरो खसेर सवारीसाधन बगाउँदा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मिसन अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ । 

पहिरो करिव दुई सय मिटर तल खसेको छ । झण्डै ७० मिटर लामो पहिरोमा रोकिराखेको ट्रक, ठूलो पानी ट्याङकर, एउटा जीप र एउटा कार पुरिएको छ । लु १ क १९२८ नम्बरको पानी बोक्ने ट्याङ्कर, लु २ ख १३७६ नम्वरको ट्रक, लु १ च ७०४३ नम्वरको बलेरो, लु १ च ७०११ नम्वरको निजी कार पुरिएको हो ।

सामानले भरिएको ट्रक भीरमै अड्किएको बताइन्छ  । एउटा  पानी ट्याङ्कर ५ सय मिटर तल पुगेको र जीप  सडक छेउमा रहेको छ । त्यस्तै सोमबार बिहानदेखि अवरुद्ध बनेको पाल्पा–गुल्मी सडकखण्ड एकतर्फि सुचारु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस