काठमाडौँ । यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो तीव्र रूपमा भाइरल भइरहेको छ, जसमा प्रहरीले एक महिलाको घाँटी निमोठिरहेको दृश्य देखिन्छ। उक्त घटना सुनसरीको दुबही क्षेत्रको भएको बताइएको छ। घटनाको वास्तविक कारण अझै खुल्न नसके पनि प्रहरीको यस्तो व्यवहारप्रति सर्वसाधारणले तीव्र आलोचना गरिरहेका छन्।
यसैबीच, रुपन्देहीको बुटवलमा अवैध संरचना हटाउने अभियानका क्रममा डोजर प्रयोग गरी घर तथा पसलहरू भत्काइएपछि त्यहाँ पनि तनाव सिर्जना भएको छ। स्थानीय प्रशासन र नगरपालिकाको संयुक्त टोलीले सडक अतिक्रमण तथा मापदण्डविपरीत निर्माण भएका संरचना हटाउने नाममा कारबाही चलाएको जनाएको छ। तर, प्रभावित स्थानीयले यसलाई ‘डोजर आतङ्क’ भन्दै विरोध जनाएका छन्।
घटनाहरू सार्वजनिक भएपछि जेनजी अभियन्ता रक्षा बमले सामाजिक सञ्जालमार्फत सरकार र प्रमुख प्रतिपक्षी दलप्रति प्रश्न उठाएकी छन्। उनले प्रहरीद्वारा महिलामाथि गरिएको व्यवहार र बुटवलमा भएको बल प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै नेताहरू किन मौन छन् भन्ने प्रश्न गरेकी छन्।
उनले “जनताको घाँटी निमोठ्न कसैलाई पनि छुट छैन” भन्दै सरकार जनताको अपेक्षा अनुसार जिम्मेवार बन्नुपर्ने उल्लेख गरेकी छन्। साथै, बुटवलका विभिन्न व्यावसायिक संघ–संस्थाहरूले पनि फुटपाथ खाली गराउने अभियानका क्रममा अत्यधिक बल प्रयोग भएको भन्दै विरोध जनाएका छन्।
यस्ता घटनाले वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै नागरिक अधिकार र मानवीय संवेदनशीलताको विषयमा पुनः बहस सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ बैशाख २०८३, २२ : ५९
लेखकबाट थप